स्थानीय निर्वाचनलाई प्रभावित पार्न बाहिरी जिल्लाबाट आएका १० जना गिरफ्तार

  ०७९ वैशाख २६ गते

स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचनलाई प्रभावित पार्न तामाकोसी गाउँपालिका वडा नं. २ झुले प्रवेश गरेका बाहिरी जिल्लाका गैरमतदाता रहेका १० जना व्यक्तिलाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ ।

स्थनीय तहको निर्वाचन प्रभावित बनाउन गैरमतदाता गाउँमा प्रवेश गरेको पाइएपछि स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

अपरिचित व्यक्तिहरू गाउँ प्रवेश गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले १० जनालाई गिरफ्तार गरेको र दुईजना भने मोटरसाईकलमा फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाप्रसाद पौडेलले बताउनु भयो ।

गैरमतदाता एवम् शंकास्पद व्यक्तिहरू ६ ओटा मोटसाइकलमा निर्वाचन बिथोल्ने उद्देश्यले गाउँ प्रवेश गरेको जानकारीपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन् ।

उनीहरूले प्रयोग गरेको ६ ‌ओटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्ने उद्देश्यले उनीहरू झुले प्रवेश गरेका हुन् ।

निर्वाचन बिथोल्न र उम्मेदवारलाई धम्की दिनका लागि बाहिरबाट गैरमतादाता व्यक्ति प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरूमा थप कडाइ गरेर जाँच र खानतलासी तीव्र बनाइएको डिएसपी पौडेलले बताउनु भयो ।

तामाकोसी गाउँपालिकास्थित विभिन्न मतदान केन्द्रहरूमा यस अघिका निर्वाचनमा पनि गैरमतदाता प्रवेश गरी निर्वाचन प्रभावित पार्ने गरेको र झुले र जफेमा प्रायः हरेक चुनावमा बुथ कब्जा हुने गरेको स्थानीय पुण्य थामीले बताउनु भयो ।


उद्धव पोखरेल