स्थानीय निर्वाचनको मिति सारेपछि स्थानीय लेकतिर जाने तयारीमा

  ०७३ वैशाख १४ गते

सरकारले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति सारेपछि दार्चुलाका हिमाली क्षेत्रका मतदाता लेकतिर जाने तयारीमा छन् । तोकिएको मितिमा निर्वाचन नहुने भएपछि स्थानीय लेकतिर जाने तयारीमा जुटेका हुन् ।

दार्चुलाका एक दर्जन भन्दा बढी गाउँ स्थानीयहरूका लागि यो समय यार्सागुम्बा सङ्कलनको समय हो । उनीहरू यार्सागुम्बा सङ्कलनको लागि लेकतिर जाने तयारी गरेपछि राजनीतिक दलहरू पनि प्रचारप्रसार बन्द गरी सदरमुकाम फर्किन थालेका छन् ।

अपिहिमाल गाउँपालिकाको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर र व्याँस गाउँपालिकाको राप्ला, व्याँसलगायतका क्षेत्रमा यार्सागुम्बा पाइने गर्छ । यस क्षेत्रमा अपिहिमाल गाँउपालिका लगायत नौगाड, मार्मा र दुहु गाउँपालिकाका स्थानीयहरू समेत यार्सागुम्बा खोज्न लेकतिर जाने गर्छन् । विद्यार्थीहरूसमेत यार्सागुम्बाका लागि लेकतिर जाने भएकोले यस क्षेत्रका विद्यालयहरूसमेत बन्द गर्ने गरेकाले पढाइसमेत प्रभावित हुन्छ ।

लेकम, मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नपाका किसानहरूको जेठ महिनामा खेतीपाती लगाउने, रोपाइँ गर्ने समय भएको कारण निर्वाचनमा मतदाता सहभागी कम हुने अवस्था देखापरेको जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका सूचना अधिकारी आनसिंह डागाले बताए । जिल्लाको अवस्थाबारे निर्वाचन आयोग र सरकारलाई जानकारी गराइएको भएपनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएकोसमेत डागाले बताए ।

अपिहिमाल गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार धर्मानन्द मन्यालका अनुसार जिल्लाको अवस्था नहेरी निर्वाचन सारिँदा मतदाता निराश मात्र हैन अन्यौलमा परेका छन् ।  जसले गर्दा सबै मतदाता निर्वाचनमा भाग लिने सम्भावना छैन ।

वर्षभरीको आर्थिक उपार्जन गर्ने समय जेठ महिना भएकोले यार्सागुम्बा सङ्कलन हुने समयमा भोट हाल्नकै लागि भनेर फर्किँदैनन् । 'लेकतिर नजाने हो भने खान लगाउन पुग्दैन । पेट पाल्न र केटाकेटी पढाउन यार्सागुम्बाका लागि लेकमा जानु पर्ने बाध्यता रहेको छ ।'-लक्ष्मणसिंह बोहराले भने ।

नयाँ वर्षमा भारतका विभिन्न क्षेत्रबाट घर आएका मतदाताहरू चुनावको लागि घरमै बसेका थिए । निर्वाचनको मिति एक महिना पछि सारेपछि उनीहरू कामका लागि पुनः भारततिर फर्किन थालेको भारतको बेङ्लोरमा काम गर्दै आएका पूर्णसिंह ठगुन्नाले बताए । 'झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भोट हाल्न भनी काम छोडेर आएका थियौ ।'-उनले भने-'एक महिना त्यतिकै घरमा बित्यो । निर्वाचन मिति पनि सरेको कारण फेरि फर्किन लागेका हौँ ।'

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको लागि २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकोमा १८ हजार ९ सय ८६ मेट्रिक टन खाद्यान्न मात्र उत्पादन हुने गरेको छ । यस जिल्लामा वर्षेनी ७ हजार ८ सय २ मेट्रिक टन खाद्यान्न अपुग हुने गर्छ । १२ प्रतिशत मात्रै कृषि योग्य जमीन रहेको कारण पनि यहाँका नागरिक जडिबुटीमा बढी आश्रति हुँदै आएका छन्  ।

यस क्षेत्रका स्थानीयले एक महिनाको अवधिमा १ लाखदेखि १० लाख रुपियाँसम्म वार्षिक आम्दानी गर्ने गर्छन् । एक वर्षको कमाइ एक महिनामा हुने भएकोले घरका नालाबाला सहित लेकतिर जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा ७२ हजार ९ सय ६ जना मतदाता रहेका छन् । ०७० सालको संविधान सभा निर्वाचनमा झण्डै ८० प्रतिशत मत खसेकोमा अहिलेको स्थानीय तहको निर्वाचनमा यो मत सङख्या घटने जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।


नरेन्द्रसिह कार्की