स्थानीय तह निर्वाचन–२०७९ः सुदूरपश्चिम प्रदेशका पाँच ओटा मतदानस्थलमा मतदान स्थगित, तीन जना ज्येष्ठ नागरिकको मृत्यु

  ०७९ वैशाख ३१ गते

स्थानीय तह निर्वाचन २०७९ का दिन वैशाख ३० गते सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दाचुृला र अछाम जिल्लामा मतदानका क्रममा झडप  भएको भएपनि अन्य जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–१० बिजयमाध्यमिक विद्यालय मतदान केन्द्र, बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७ सुवेडा सुनिपिपल चौर माविको मतदान केन्द्र, सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी मतदान केन्द्र, सोही गाउँपालिका वडानम्बर ३ मा रहेको कृष्ण प्रावि काटै मतदान केन्द्र, केदारस्युँ गाउँपालिका–४ जगनाथ मावि शैन्सुमा रहेको मतदान केन्द्र र  बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–८ स्थित मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको छ ।

यसगरी, स्थानीय तह निर्वाचनमा भोट हाल्न लगिएका तीन जना ज्येष्ठ नागरिकहरुको मृत्यु भयो छ । बैतडी र दार्चुला जिल्लामा मतदान गर्न गएका तीन जना ज्येष्ठ नगारिकहरुको मृत्यु भएको हो । स्टेचरमा बोकेर स्थानीय तह निर्वाचनमा मतदान गर्न लैजाने क्रममा पाटन नगरपालिका–६ का ६८ वर्षीय कमलसिंह विष्ट, मतदान गरेर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका–३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार–३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाट र महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा वैशाख ३० गते मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत सम्पन्न स्थानीय तहमा निर्वाचनको मतगणना कार्य पनि सुरु भइरहेको इन्सेकका प्रतिनिधिहरुले जानकारी गराउनु भएको छ ।

इन्सेक, दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार स्थानीय तह निर्वाचनमा प्रारम्भिक जानकारी अनुसार ६५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिका बाहेक सबै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनु भयो । दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीमा अशक्त व्यक्तिको मतदान कसले गर्ने भन्ने विषयमा र वडा नम्बर २ को हिकिलामा मतदान लाइनमा बढि भीड हुँदा सामान्य विवाद भएको थियो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक घण्टा ढिलो निर्वाचन सुरु भएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ६ को पशुपति भवन माविमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइफायर गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक विष्टले बताउनु भयो । बिहान ७ बजेदेखि नै निर्वाचन सुरु भएपनि जिल्लाको केही मतदान केन्द्रमा बेलुकी ६ बजेमात्रै निर्वाचन सकिएको थियो । दुहुँ गाउँपालिकाका वडा नम्बर १ र व्याँस गाउँपालिकाको वडा नम्बर ६ मा निर्वाचन ढिलागरि सकिएको हो ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको यस जिल्लामा ८८ हजार दुई सय ८५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मतगणना सुरक्षित र पारदर्शी बनाउनका लागि जिल्लाका सबै मतगणनास्थलमा सिसिटिभी क्यामरा  र तारजाली लगाएर मतगणना सुरु गरिएको समेत मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले बताउनु भयो ।

महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मतदान केन्द्रमा मतदान गरी फर्किने क्रममा वैशाख ३० गते मृत्यु भयो । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको नेकपा एमालेका नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार साँफेबगर नगरपालिका–११ बाब्लास्थित मतदानस्थलमा वैशाख ३० गते सत्तारुढ गठबन्धन (कांग्रेस र एकीकृत समाजवादी) र नेकपा (एमाले) पक्ष बीच झडप हुँदा तीन जना घाइते भए । घाइते हुनेमा शिक्षक तिलक कुँवरसहित तीन जना घाइते भएका स्थानीय मिनबहादुर कुँवरले बताउनु भयो । ढुङ्गा प्रहारबाट टाउँकोमा चोट लागेका तिलक सहित तीनै जनाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि चार जना घाइते भएपछि मतदान प्रक्रिया केही समय रोकिएको पञ्चदेवल विनायक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले जनायो ।

फर्जी मतको विषयमा झडप हुँदा ढकारी गाउँपालिका–२ को कालिकेश्वरी मावि हिच्मामा रहेको मतदानस्थलमा प्रहरीले हवाइ फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

फर्जी मतका विषयमा एजेन्टका बीचमा विवाद हुँदा झडप भएको हो । रोकिएको मतदान प्रक्रिया सञ्चालनका लागि सर्वदलिय बैठक आयोजना गरी पुनः सञ्चालन गरिएको ढकारी गाउँपालिका निर्वाचन अधिकृत गणेशबहादुर सिंहले जानकारी दिनुभयो ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार स्टेचरमा बोकेर स्थानीय तह निर्वाचनमा मतदान गर्न लैजाने क्रममा पाटन नगरपालिका–६ का ६८ वर्षीय कमलसिंह विष्टको मृत्यु भयो ।

कृष्ण मावि पाटन मतदान केन्द्रमा पुग्ने वित्तिकै एक्कासी बेहोस भएका विष्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा मृत घोेषित गरिएको थियो  ।

दम तथा अन्य रोगबाट पीडित विष्टलाई स्टेचरमा बोकेर मतदान केन्द्रमा लगिएको र मतदान गर्न नपाउँदै उहाँको मृत्यु भएको कमलसिंह विष्टका आफन्त बसन्त विष्टले बताउनु भयो ।

यसैगरी मतदान गरेर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका–३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार–३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भए छ ।

भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेर भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।

मतदान केन्द्रमै ढलेका भाटलाई तत्कालै श्रीकोट स्वास्थ्य चौकी पु¥याएको भएपनि उहाँको बाटो मै मृत्यु भएको जोशीले बताउनु भयो ।

यसैगरी सुर्नया गाउँपालिका–२ का ३० वर्षीय मोहनराम विकमलाई वासुदेव मावि लिस्किटामा रहेको मतदान केन्द्रमा भोट हाल्न जानु भएका समयमा  नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले वैशाख ३० गते कुटपिट गरेका छन् ।

एमाले र राप्रपाका कार्यकर्ताहरुको कुटपिटबाट विकको दाँया खुट्टाको हड्डी खुस्किएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताउनु भयो ।

मतदान केन्द्रमा गएका बेला स्थानीय एमाले र राप्रपाका कार्यकर्ता विक्रम बिष्ट, दिनेश विष्ट, हरजीत विष्ट, संग्राम विष्टलगायतले लखेटेर कुटपिट गरी भिरमा खसालेपछि खुट्टको हड्डी खुस्कीको घाइते बिकले बताउनु भयो ।

कुटपिटमा संलग्न व्यक्ति हुनु भएका विक्रम बिष्ट, दिनेश विष्ट, हरजीत विष्ट, संग्राम विष्टलाई गिरफ्तार गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।

कुटपिटबाट घाइते भएका विकको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार समान्य विवादका बावजुद पनि जिल्लाका सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा स्थानीय निर्वाचन सम्पन्न भयो ।

शिखर नगरपालिका–७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा केही समय मतदान प्रक्रिया रोकिएको भएपनि सर्वदलिय सहमतिपश्चात ती मतदान केन्द्रहरुमा पनि सौहार्दपूण वातावरणमा निर्वाचन सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत विधुर काफ्लेले बताउनु भयो ।

उहाँले जिल्लाका नौ ओटै स्थानीय तहका सबै मतदान केन्द्रमा निर्वाचन सम्पन्न भई मतपेटिका पनि सम्बन्धीत स्थानीय तहको मतगणनास्थलमा सुरक्षित राखिएको र सर्व दलिय सहमति अनुसार मतगणना कार्य सुरु हुने बताउनु भयो ।

इन्सेक, कन्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार पुर्नवास नगरपालिका–१० बिजयमाध्यमिक विद्यालय मतदानस्थल बाहेक जिल्लाका सबै स्थानीय तहमा रहेका मतदान केन्द्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मदनसिंह धामीले बताउनु भयो ।

उहाँले प्ररम्भिक सूचना अनुसार जिल्लाभरी ६१ प्रतिशत भन्दा बढी मत खसेको बताउँदै स्थिगित भएको मतदानस्थलमा निर्वाचन आयोगको निर्णय अनुसार पुनः मतदान कार्य सुरु हुने बताउनु भयो ।

जिल्लाका चार स्थानीय तह क्रमसः बेलौरी नगरपालिका, लालँझाडी गाँउपालिका, बेलडाँडी गाउँपालिका र दोधरा चाँदनी नगरपालिकामा जेठ १ गते राति १ बजेदेखि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मदन धामीले बताउनु भयो । अन्य पालिकाहरुमा पनि सर्वदलिय बैठक सकिएको  र केही समयपछि मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत धामीको भनाइ छ ।

इन्सेक, कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लाको १३ ओटै स्थानीय तहमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।

प्रारम्भिक सूचना अनुसार जिल्लाभरी ६१.१० प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले बताउनु भयो  ।

जिल्लाभरी अप्रीय घटना नभई शान्तिपुर्वक निर्वाचन सम्पन्न भएको र मतपेटीकाहरु सुरक्षित रुपमा सङ्कलन गरी सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयमा पठाइ मतगणनाको कार्य पनि सुरु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकश जोशीले बताउनु भयो ।

इन्सेक, डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार जिल्लाका दुई मतदान केन्द्रमा विवाद भएपनि अन्य मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको थियो । जिल्लाको अजयमेरु गाउँपालिकाको सहश्रलिग मावि चमडा र नवदुर्गा गाउँपालिकाको गौडेश्वर माध्यमिक विद्यालयमा फर्जि मतदाताले मतदान गरेको भन्दै केही समय मतदान स्थगीत भएको थियो । सर्वदलिय बैठक वसी मतदान सुचारु गरीएको थियो । अजयमेरु गाउँपालिकामा विवादले उग्र रुप लिएपछि प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको थियो ।

जिल्लामा लगभग ७० प्रतिशत मत खसेको र नजिकका मतदान केन्द्रका मत पेटिकाहरु मतगणनास्थलसम्म पुगी सकेको र टाँढाका केही मतदान स्थलका मत पेटिकाहरु मतगणनास्थलसम्म पुर्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताउनु भयो । सम्पूर्ण स्थानका मतपेटिकाहरु मतगणनास्थलमा पुगी सकेकोले मतगणना कार्य पनि सुरु गरिएको  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।

इन्सेक, बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार १ सय ७९ मतदान केन्द्रमा वैशाख ३० गते मतदान कार्य सम्पन्न भएको भएपनि चार ओटा मतदान केन्द्रमा मतदान स्थगीत भएको छ । जयपृथ्वी नगरपालिका–७ सुवेडाको सुनिपिपल चौर माविको मतदान केन्द्रमा गठबन्धनका उम्मेदवारको तर्फबाट एजेन्ट बसेकी रमादेवि जोशीले मतपेटिकामा लात हानेपछि विवाद हुँदा झडप भएको थियो । झडपका क्रममा ठबन्धनका माधव जोशीलाई कुटपिटबाट घाइते भएका थिए  ।

यसैगरी, सुर्मा गाउँपालिकाका दुई ओटा मतदान स्थलमा मतदान स्थगीत गरिएको छ । सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडानम्बर ३ मा रहेको कृष्ण प्रावि काटैमा अशक्तहरुको मत हाल्ने क्रममा गठबन्धन र एमालेका एजेन्टबीच विवाद हुँदा मतदान स्थगीत गरिएको थियो भने केदारस्युँ गाउँपालिका–४ जगनाथ मावि शैन्सुमा रहेको मतदान स्थलमा विवाद हुँदा मतदान कार्य स्थगीत गरिएको थियो ।

जिल्लाको बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा मतगणना सुरु भएको छ । केदारस्युँ गाउपालिका, सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा स्थगीत गरिएको मतदान सुचारु नभएसम्म मत गणना नहुने मुख्य निर्वाचन अधिकृत विष्नुप्रसाद अवस्थीले बताउनु भयो । पाँच ओटा पालिकामा भने अहिले सर्वदलिय बैठक बसिरहेको छ ।

इन्सेक बाजुर प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाको बुढीनन्दा नगरपालिका ८ को मतदान स्थगीत गरिएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्याकर्ताबीच झडप भएपछि मतदान स्थगीत गएिको बुढीनन्दा नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णप्रसाद उपाध्यायले बताउनु भयो ।

नेपाली कांग्रेश र नेकपा एमालेका कार्यकर्ताबीच झपडका कारण निर्वाचनमा खटिएका कर्मचारीहरु असुरक्षित भएका करण मतदान स्थगीत गरिएको पाध्यायले बताउनु भयो । पार्टीका कार्याकर्ता हातमा कुखुरी, तरवार, आसी, हतौडा लगायतका हातहतियार ल्याएर आउन थालेपछि सिमित सुरक्षाकाबीच असुरक्षा भएका कारण अतदान स्थगीत गरिएको पाध्यायले बताउनु भयो ।

जिल्लाका अन्य नौ स्थानीय तहमा भने शान्तिपूर्वक रुपमा मतदान भएको र मतपेटीका सबै निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेको निर्वाचन अधिकृत पाध्यायले बताए ।


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी