स्थानीय तह सदस्य निर्वाचन ०७९– प्रदेश १ मा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु, इन्सेकद्वारा निर्वाचन पर्यवेक्षण
उदयपुर प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक सुजाता ढुङ्गानाका अनुसार प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका–१० स्थित जनता कालिका मावि सोरुङ्ग मतदान स्थलमा मतदान समापन पश्चात मतपेटिका सिल बन्दी गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अन्दाजी ५०,६० जना कार्यक्रताहरूले मतपेटिका लुट्ने प्रयास गरे प्रहरीले साँझ ५ बजेर २० मिनेटमा चलाएको गोली प्रहारबाट कटारी नगरपालिका–१० का १९ वर्षीय नविन कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मतपेटिका लुट्ने प्रयास भएपछि मतदान केन्द्र तनावग्रस्त भएको थियो । स्थितिलाई नियन्त्रणमा लिनका लागि सो मतदान स्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको असइको कमाण्ड चार जना प्रहरी र आठ जना म्यादी प्रहरीको टोली गरी १२ जनाको टोलीले राईफलबाट चार राउण्ड र थ्रि नट थ्री राईफलबाट चार राउण्ड गरी आठ राउण्ड गोली फायर नविन कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा सोही ठाँउका शम्भु श्रेष्ठका १४ वर्षीय छोरा मन श्रेष्ठ घाइते भएका छन् । घरमा बसिरहेको अवस्थामा खुट्टामा गोली लागि बालक घाइते भएका छन् । माओवादी केन्द्रका कार्यकर्ताहरूले गरेको ढुङ्गामुडाबाट प्रहरी जवान विष्णु तामाङ्गको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । चार ओटा गाउँपालिका र चार ओटा नगरपालिका गरी आठ ओटा गाउँपालिकाका ७५ वटा वडामा निर्वाचन भएको छ । त्रियुगा नगरपालिका–१२ मा रहेको मतदान केन्द्रमा मतदानका क्रममा पानी परेपछि कर्मचारी ओत लागेको र मतदातालाई लाइनमा अलपत्र पारेको आरोपमा स्थानीयले नाराबाजी गर्दा मतदान रोकिएको छ ।
ताप्लेजुङ प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक देवराज गुरूङका अनुसार जिल्लामा शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको छ । आठ ओटा गाउँपालिका र एक ओटा नगरपालिका गरी नौ ओटा स्थानीय तहका ६४ ओटा वडामा मतदान विहान ७ बजेबाट सुरू भएर साँझ ५ बजे सम्पन्न भएको छ । फक्त्ताङलुङ गाउँपालिका–६ घुन्सामा मतदाता मलाली जानु परेका कारण ९ बजेबाट मतदान सुरू भएको थियो । १ सय ६६ जना मतदाता रहेका घुन्सामा समयमा नै मतदान सम्पन्न भएको मतदान अधिकृत गङ्गाबहादुर इङ्गनामले बताउनु भयो । सोही गाउँपालिका–७ मा अध्यक्ष र उपाध्यक्ष पदमा मात्र निर्वाचन भएको छ । अन्य पदमा यसअघि नै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । जिल्लामा ६४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकृत दिनेश खनालले बताउनु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा दिउँसो १ बजेदेखि २ बजेसम्म वर्षाका कारण मतदान रोकिए पनि साँझ ५ बजे मतदान सम्पन्न भएको छ । मतपेटिक दुर्गम क्षेत्रबाट हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा ६४ दशमलव ५३ प्रतिशत मत खसेको छ । नौ वटा स्थानीय तहअन्तर्गत रहेका मतदानस्थल र मतदान केन्द्रमा ६४ दशमलव ५३ प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार पूर्ण रुपमा रुजु गर्न बाँकी छ । जिल्लामा ८९ हजार ६ सय ८० जना मतदाता रहेको कार्यालयको तथ्याङ्क छ । ७३ ओटा मतदानस्थल र १ सय २२ ओटा मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको छ ।
फुङलिङ नगरपालिकामा १ हजार ३३ अर्थात ६४ दशमवल १४ प्रतिशत मत खसेको छ । नगरपालिकामा १७ हजार २ सय २ मतदाता थिए । आठराई त्रिवेणी गाउँपालिकामा ६ हजार ७० जना अर्थात ६२ दशमलव ३० प्रतिशतले मतदान गरेका छन् । आठराई त्रिवेणी गाउँपालिकामा मतदाता संख्या ९ हजार ७ सय ४३ थियो । फक्ताङलुङ गाउँपालिकामा ५ हजार ८ सय २६ जना अर्थात ६५ दशवमलव ५३ प्रतिशतले मतदान गरेका छन् । फक्ताङलुङ गाउँपालिकामा ८ हजार ८ सय ९० मतदाता थियो । मिक्वाखोला गाउँपालिकामा ४ हजार ५ सय ४८ जना अर्थात ६५ दशमलव २८ प्रतिशतले मतदान गरेका छन् । मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ६७ मतदाता थियो । मेरिङ्देन गाउँपालिकामा ६ हजार ८६ जना अर्थात ७० दशमलव ७४ प्रतिशतले मतदान गरेका छन् । मेरिङ्देन गाउँपालिकामा ८ हजार ६ सय ३ मतदाता थियो । मैवाखोला गाउँपालिकामा ५ हजार ७९ अर्थात ६५ दशमलव १४ प्रतिशतले मतदान गरेका छन् । मैवाखोला गाउँपालिकामा ७ हजार ७ सय ९७ मतदाता रहेको थियो । पाथीभरा याङ्वरक गाउँपालिकामा ६ हजार १ सय ६३ अर्थात ६२ प्रतिशतले मतदान गरेका छन् । पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ९ सय ४१ मतदाता थियो । सिदिङ्मा गाउँपालिकामा ५ हजार ८ सय ९ जना अर्थात ६५ दशमलव ४३ प्रतिशतले मतदान गरेका छन् । सिदिङ्मा गाउँपालिकामा ८ हजार ८ सय ७८ मतदाता थियो । सिरीजंङ्गा गाउँपालिकामा ७ हजार २ सय ५५ जना अर्थात ६२ दशमलव २३ प्रतिशतले मतदान गरेका छन् । सिरीजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ५९ जना मतदाता संख्या थियो । जिल्लास्थित मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सुरु भएको छ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा,घुन्सा,ग्याब्ला र ओलाङचुङगोलाको बाहेक बाँकी मतदान केन्द्रको मतपेटिका जेठ १ गते १० बजेभित्रमा संकलन गर्न सकिने अनुमान गरिएको छ । हेलिकप्टरबाट ल्याउने भनिएतापनि खराब मौसम र हेलिकप्टर व्यवस्थापनमा समस्या भएकाले फक्ताङलुङ गाउँपालिकाका चार ठाउँको मतपेटिका जेठ १ गते विहान मान्छेलाई बोकाएर ल्याउने तयारी गरिएको छ ।
सङ्खुवासभा प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक भविन कार्कीका अनुसार जिल्लामा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका आठ स्थानीय तहको मात्र विवरण प्राप्त भएको छ । भोटखोला गाउँपालिका र चैनपुर नगरपालिका बाहेक सबै स्थानीय तहको विवरण आइसकेको छ । आठ स्थानीय तहका ६१ हजार २ सय २७ जनाले मतदान गरेको जिल्ल्ला निर्वाचन कार्यालय संखुवासभाका सूचना अधिकारी लोकेन्द्र राईले बताउनु भयो । जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता छन् । जिल्ला १० वटै पालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । जिल्लामा १०३ मतदान स्थल र १६२ मतदान केन्द्र रहेका छन् । संखुवासभामा ४ सय पदका लागि १ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । १०३ स्थलका १६२ मतदान केन्द्र रहेको यस जिल्लामा निर्वाचन सम्पन्न गर्न सात सय ९९ कर्मचारी खटाइएको थियो । जिल्लाभर ४ सय ९७ नेपाल प्रहरी, ४ सय ९७ म्यादी ८ सय १३, सशस्त्र ३ सय ४४ र नेपाली सेना दुई सय परिचालन गरिएको छ । जिल्लाका ८ वटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएकोे छ । सुरक्षा सम्वेदनशिलताका आधारमा स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समिति संखुवासभाले ८ वटा मतदान स्थललाई अति सम्वेदनशिलको सूचीमा राखेको हो । जिल्लाको खाँदबारी नगरपालिका र भोटखोला सबैभन्दा कम मतदाता रहेको छन् । जसअनुसार खाँदबारीको टुँडिखेल मतदान केन्द्रमा सबैभन्दा धेरै मतदाता २२ सय ९२ र भोटखोला गाउँपालिका –२ दुधपोखरी आधारभूत विद्यालय थुदाम सबैभन्दा कम ६९ जना मतदाता रहेका छन् । चैनपुर नगरपालिका ४ मा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । चैनपुर नगरपालिका–४ को बालज्योति आधारभूत विद्यालयभन्दा ४० मिटर टाढा बम विस्फोट भएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर मिलन बस्नेतले बताउनु भयो । उक्त विद्यालयमा रहेको मतदान केन्द्रमा सामान्य विवाद समेत भएको थियो । बम कसले र किन विस्फोट गरायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खोटाङ प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक नारानाथ फुयलका अनुसार जिल्लाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिकामा शान्तिपूर्ण ढङ्गमा निर्वाचन सम्पन्न भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ मा मतदाता परिचयपत्रका विषयमा केही समय विवाद भएपनि विवाद समाधानपछि मतदान सम्पन्न भएको छ । विहान ७ बजेबाट सुरू भएको मतदान दिउँसो पौन तीनदेखि तीन बजेसम्म वर्षाका कारण स्थगित भएपनि साँझ ५ बजे मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका केही वडामा मतदान स्थगित भएको भनिए पनि आयोगले औपचारिक पुष्टि गरेको छैन ।
सोलुखुम्बु इन्सेक पर्यवेक्षक अञ्जु कार्कीका अनुसार एक ओटा नगरपालिका र आठ ओटा गाउँपालिका गरी नौ ओटा स्थानीय तह रहेको जिल्लाका ५२ ओटै वडामा शान्तिपूर्ण ढङ्गमा निर्वाचन सम्पन्न भएको छ । जिल्लाको दुई ओटा मतदान स्थलमा मतदान कार्य ढिला गरी सुरु भएको थियो । महाकुलुङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका–१ हेवा गरी दुई वटा मतदानस्थलमा मतदान कार्य ढिला गरी सुरु भएको हो । जिल्लाका मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीका अनुसार सोलुदुधकुण्ड नगरपालिका १ हेवा स्थित मा रहेको एक मतदान स्थलमा चर्किएका मतपेटिका भेटिएका कारण मतदान सुरु हुन ढिला भएको हो । जिल्लाभर रहेका कुल १ सय २२ मतदान स्थल र १ सय ३४ ओटै मतदान केन्द्र बाटै शान्ति पूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत सन्तोषप्रसाद पराजुलीले बताउनु भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक सरस्वती बानियाका अनुसार चम्पादेवी गाउँपालिका–९,मिश्र भञ्ज्याङ्गमा प्रहरीले नौ राउण्ड हवाइ फायर गरेपछि मतदान प्रभावित भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन नौ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुकदेव खनालले जानकारी दिनुभयो । जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । सामान्य विबादले उग्ररुप लिएपछि प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर मतदान सामग्री भएको ठाउँमा प्रवेश गरेपछि हवाई फायर गर्नु परेको डिएसपी सुकदेव खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । सर्वदलीय बैठक पश्चात मतदान पुनः सुचारु भएको छ । जिल्लाको अन्य स्थानीय तहमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा अरु मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको छ ।
मोरङ प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक विनोद सुवेदीका अनुसार जिल्लामा शान्तिपूर्ण ढङ्गमा मतदान भएको छ । जिल्लाका ३ सय ओटा मतदानस्थलको ८ सय ओटा मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गमा मतदान सकिएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक श्रेष्ठले जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताउनु भयो । ‘ मोरङमा कहिँकतै समस्या नदेखिएको प्रहरीले जनाएको छ । लेटाङ स्थित महेन्द्र मावि मतदान केन्द्रमा मतदाता नामावलीको विवादले साढे आठ बजेपछि मात्र मतदान सुरू भएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान जारी रहे पनि केही मतदान स्थलको व्यवस्थापन कमजोर देखिएको छ । विराटनगर शनिहाटस्थित विराट महेन्द्र रात्री मावि मतदान स्थल साँघुरो भएका कारण ज्यादा भीड देखिएको छ । उक्त मतदान स्थलमा ४ वटा केन्द्र रहेका छन् । विराटनगर–३ स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि क्याम्पस (पुसेट) मतदान केन्द्रमा पनि धेरै मतदाता भएका कारण ज्यादा भीड भाड देखिएको थियो । उक्त मतदान स्थलमा करिब ५ किलोमिटर टाढा देखि हिँडेर आउनु पर्ने भएकाले मतदाताहरूलाई समस्या भएको छ । विराटनगर वडा नम्बर ३ को एउटा मात्रै मतदान स्थल भएकाले पुसेट मतदान स्थलमा मतदान केन्द्र व्यवस्थापनमा समस्या देखिएको छ । पुसेट मतदान स्थालमा ११ वटा मतदान केन्द्रहरू रहेको र त्यहाँ ११ हजार ३२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिनुभयो । जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना मतदाता छन् । जसमा ३ लाख ५१ हजार ७ सय ६९ जना महिला, ३ लाख ६३ हजार ४ सय ४८ जना पुरूष र अन्य ६ जना मतदाता छन् । निर्वाचन आयोगका अनुसार जिल्लाका १७ ओटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी १ लाख ३३ हजार १ सय ४२ जना मतदाता छन् । रतुवामाई नगरपालिका शान्तिपूर्ण ढङ्गमा मतदान भइरहेको छ । रतुवामाई–८ सरस्वती मावि केन्द्र क मा सात बजेबाट मतदान सुरू भएको छ । पानी परेका कारण मतदानका लागि बनाइएका संरचना प्रयोगविहीन भएका छन् ।
इन्सेक सुनसरी प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक जयकृष्ण यादवका अनुसार जिल्लाका दुई ओटा उपमहानगरपालिका, चार ओटा नगरपालिका र ६ ओटा गाउँपालिकामा मतदान सम्पन्न भएको छ । जिल्लाका १ सय २४ ओटा वडामा छिटपुट रुपमा समस्या देखिएपनि शान्ति पूर्ण ढङ्गमा निर्वाचन सम्पन्न भएको छ । बराहक्षेत्र नगरपालिका– १० मा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार निलम खनालको गाडीमा ढुंगा प्रहार भएको छ । भगवती अधारभुत विद्यालय बकुलाचाप मतदान केन्द्रमा पुगेका बेला खनालको गाडीमा ढुंगा प्रहार भएको हो । बुथभित्र छिरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले खनालको गाडीमा ढुंगा प्रहार गरेका हुन् । कांग्रेस कार्यकर्ताले विरोध गरेपछि उहाँ बाहिरिनुभएको थियो । बराहक्षेत्र नगरपालिका– ६ मा मतदान केन्द्र अवलोक गर्न पुग्नुभएका नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की विरुद्ध नेकपा एमालेका कार्यकर्ताहरु र केही स्थानीयले नाराबाजी गरेका छन् । बराहक्षेत्र नगरपालिका–६ को चक्रघट्टीमा मतदान केन्द्रमा पुगेका बेला कार्की विरुद्ध एमसीसी चाहिदैन्, देश बेच्न पाईदैन, मन्त्रीको कार्यशैली मुर्दाबादको नारा लगाएका थिए । इनरुवा नगरपालिका–१० मा रहेको श्री आधारभुत विद्यालय मतदान केन्द्रको इन्सेकले विहान ६ देखि साझ ६ बजेसम्म पूर्ण अनुगमन तथा अवलोकन गरेको छ । मतदान सुरु हुनुभन्दा अगडि देखिको प्रकृया र मतदान सकेपछिको बाकस सिल र ढुवानीसम्मको अनुगमन तथा अवलोकन गरेको हो ।
धनकुटा प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक ईश्वर थापाका अनुसार जिल्लाका तीन ओटा नगरपालिका, चार ओटा गाउँपालिकाका ६० ओटा वडामा मतदान सम्पन्न भएको छ । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिविच विवाद हुँदा सहिदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केहि समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–क का मतदान अधिकृत गणेश एडीले बताउनु भयो । मतदान प्रक्रिया स्थगित हुनुभन्दा अघिसम्म तीन वटै केन्द्रमा २० प्रतिशत भोट खसेको छ । एमालेका वडाअध्यक्ष पदका उम्मेदवार हेमकुमार राईले हातपात गरेपछि गठबन्धनका रामप्रसाद राई र गणेश राईलाई हातपात गरेपछि विवाद भएको बताइएको छ । मतदानस्थलमा अशक्त मानिसको मत एक जनाले मात्र हाल्ने भनिएता पनि एक जनाले ४ जना अशक्तको मत लगाएपछि विवाद भएको हो । जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले पनि अशक्तको मत हाल्ने क्रममा विवाद भएको बताउनु भयो । धनकुटाका डिएसपी चिरञ्जीबी दाहालले केही विवाद आएर छलफलपछि निर्वाचन आयोगले अर्को निर्णय नगरेसम्म मतदान रोकिएको जानकारी दिनु भएको छ ।
झापा प्रतिनिधि तथा इन्सेक पर्यवेक्षक नरेश खातीका अनुसार कमल गाउँपालिका–६ मा पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ । कर्णले निर्वाचनका समयमा एक जना व्यक्तिलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए । सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले अरुलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले बताउनु भयो । झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतले मादकपदार्थ सेवन गरी मतदानस्थलमा गएको आरोपमा कारबाही गरेको छ । झापा गाउँपालिका– ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको छ । झापामा ६६ देखि ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । १५ ओटा स्थानीय तहका ७ सय ५५ ओटा मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको छ । कचनकवल गाउँपालिका–६ लक्ष्मी माविमा वर्षाको कारण मतदान स्थानमा पानी जमेपछि स्कुल भित्र मतपेटिका राखेर मतदान सम्पन्न गरिएको छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…