स्थानीय तह सदस्य निर्वाचन ०७९- प्रदेश १ मा सम्पूर्ण तयारी पुरा : आयोग

  ०७९ वैशाख २९ गते

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन– ०७९ को सम्पूर्ण तयारी पुरा भएको प्रदेश १ निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोग प्रदेश १ कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले वैशाख ३० गते हुने निर्वाचनका लागि सुरक्षाकर्मी मतपत्र निर्वाचन कर्मचारी मतदानस्थल र मतदान केन्द्र आदिको सम्पूर्ण तयारी पुरा भएको बताउनु भएको छ ।

निर्वाचन अधिकृत अधिकारीले सम्पूर्ण मतदातालाई भयरहित ढङ्गमा र स्वतन्त्र रूपले आफूले रोजेको प्रतिनिधिलाई भोट खसाल्न आग्रह गर्नु भएको छ ।

प्रदेश १ मा १७ हजार म्यादी प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

मतदाताले भयरहित वातावरणमा भोट हाल्न मिल्ने गरी सुरक्षाकर्मीको परिचालन गरिएको प्रदेश १ प्रहरी कार्यालयका एपसी नविनराज राईले बताउनु भएको छ ।

दुर्गम क्षेत्रमा हेलिकप्टरको प्रयोग गरी मतपत्र, ब्यालेट बक्स र कर्मचारीलाई पुर्‍याइको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश १ मा १६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता स्थानीय तह सदस्य निर्वाचनमा प्रदेश १ बाट सहभागी हुँदैछन् ।

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई विस ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

०७९ वैशाख २९ गते १८ वर्ष उमेर पुरा भएका र मतदाता नामावलीमा विवरण सङ्कलन गराएकाहरूलाई निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान प्रदान गर्न अनुमति दिएको छ ।

प्रदेश १ मा ६ हजार ५९ पदका लागि स्थानीय तह सदस्य निर्वाचनमा २२ हजार ४ सय ४२ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशको एक महानगरपालिका, दुई ओटा उपमहानगरपालिका र नगरपालिकाको मेयरमा ४ सय २५ र उपमेयरमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गाउँपालिका अध्यक्षमा ४ सय ९१ जना र उपाध्यक्षमा ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

वडाध्यक्ष पदमा ५ हजार १ सय ४० जना, ३ हजार ९ सय १५ जना महिला सदस्य, ३ हजार ५ सय १२ जना दलित महिला सदस्य र ८ हजार ४ सय ३८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी परेको छ ।

प्रदेश १ मा एक ओटा महानगरपालिका, दुई ओटा उपमहानगरपालिका, ४६ ओटा नगरपालिका र ८८ ओटा गाउँपालिका गरी १ सय ३७ स्थानीय तहका १ हजार १ सय ५७ ओटा वडा छन् ।

०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ का ३ सय ३१ ओटा मतदानस्थल अति सम्वेदनशील, ७ सय ४८ ओटा सम्वेदनशील र ७ सय ९ ओटा मतदान केन्द्रलाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ । सोही आधारमा तीन घेरामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेश १ मा स्थानीय तह निर्वाचन ०७९ का लागि १ हजार ८ सय ७७ ओटा मतदानस्थल र ४ हजार ५१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर