स्थानीय तह निर्वाचन २०७९ः सुदूरपश्चिमका अधिकांश उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

  ०७९ भदौ २४ गते

स्थानीय तह निर्वाच २०७९ मा सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ । निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको मितिले ३० दिन भित्र उम्मेदवारहरुले खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था भएको भएपनि त्यसको वेवास्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका अधिकांश उम्मेदवारहरुले अहिलेसम्म पनि खर्च विवरण नबुझाएको इन्सेक जिल्ला प्रतिनिधिहरुले गरेको अनुगमनबाट जानकारी प्राप्त भएको छ ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उम्मेदवारले खर्चको विवरण बुझाउनु पर्ने व्यवस्था भएपनि स्थानीय तह निर्वाचनमा उम्मेद्वार भएका जिल्लाका ९ सय ९७ जनाले चुनावी खर्च विवरण बुझाएका छैनन् । नगरपालिकाकाको प्रमुखमा १७ र उपप्रमुखमा १८ जनाले उम्मेदवारी दिएकोमा प्रमुख पदमा उम्मेदवरी दिएका नौ र उपप्रमुख पदमा उम्मेदवारी दिएका १३ जनाले अहिलेसम्म पनि निर्वाचन खर्च  विवरण निर्वाचन कार्यालयमा बुझाएका छैनन् । यस्तै गाउँपालिकाको अध्यक्षमा २३ र उपाध्यक्षमा १८ जना उम्मेदवार रहेकोमा अध्यक्ष पदका १८ र उपाध्यक्ष पदका १५ जनाले खर्च विवरण पेश नगरेको निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्रप्रकाश थारुले बताउनु भयो । जिल्लामा रहेका ९१ वडामा २ सय ६६ जनाको उम्मेदवार रहेकोमा १ सय ९३ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको पाइएको छ । २ सय ४१ जना महिला वडा सदस्यमा उम्मेदवार रहेकोमा १ सय ८५ जनाले अहिलेसम्म निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन् । गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ४० जना मध्ये २७ जनाले र उपाध्यक्षका ३६ जना उम्मेदवार मध्ये २८ जनाले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्रप्रकाश थारुले जानकारी दिनु भयो । जिल्लाका ९१ वडाका १ सय ९३ वडा अध्यक्ष पदका उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाउनेमा १ सय ८५ महिला सदस्य, १ सय ७२ दलित महिला सदस्य र ३ सय ९२ खुला महिला सदस्य रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी थारुको भनाइ छ ।  स्थानीय तहको निर्वाचनमा १ हजार ३ सय १६ जना उम्मेदवार रहेकोमा हालसम्म २ सय ६५ जनाले मात्रै तोकिएको समय मै निर्वाचन खर्च विवरण बुझाएका छन् भने  ५४ जनाले बिलम्ब गरेर निर्वाचन खर्च विवरण बुझाएको सूचना अधिकारी थारुले बताउनु भयो ।  खर्च विवरण नबुझाउनेलाई सफाईसहितको सात दिनको स्पस्टीकरण सोधिएकोमा आधा जतिले मात्रै स्पस्टीकरण बुझाएको निर्वाचन कार्यालय, अछामले जनाएको छ ।

इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार स्थानीय तह सदस्य निर्वाचन ०७९ मा जिल्लामा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले अहिले सम्म निर्वाचन खर्च बिवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय, डोटीले जनाएको छ । जिल्लाका ९ ओटा स्थानीय तहका १ हजार ५० जना उम्मेदवार मध्ये भदौ १५ गते सम्मको अबधिमा ३ सय ७८ जना मात्र उम्मेदवारले निर्वाचन खर्च बिवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन । पटक पटक गरी स्थानीय तह निर्वाचनका उम्मेदवारलाई निर्वाचन खर्च बिवरण पेश गर्न आग्रह गरिएको भएपनि हालसम्म अधिकांश उम्मेदवारहरुले खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय, डोटीका सूचना अधिकारी दलबहादुर मलासीले बताउनु भयो । खर्च विवरण नबुझाउने ७ सय ३२ जना उम्मेदवारलाई स्पस्टीकरण माग गर्दै कारवाहीका लागि निर्वाचन आयोगमा समेत सिफारिस गरिएको सूचना अधिकारी मलासीले बताउनु भयो । चुनावमा भएको खर्चको बिवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र बुभाउन ुपर्ने कानुनी प्रावधान छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा जिल्लामा उम्मेदवारी दिएका ३ हजार ७६ जना उम्मेदवार मध्ये भदौ २४ गतेसम्म ५ सय ६४ जना उम्मेदवारले मात्रै निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् भने २ हजार ७ सय १२  जनाले खर्च विवरण बुझाउन बाँकी रहेको छ । निर्वाचन आयोगले भदौ १  गतेदेखि  भदौ ७  गतेसम्म निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गरेको भएपनि ४ सय ५५ जनाले स्पस्टीकरण मात्र दिएका छन् भने २ हजार २ सय ५७ जनाले स्पस्टीकरण समेत नदिएको निर्वाचन कार्यालय, कैलालकिा सूचना अधिकारी राजेश चौधरीले बताउनु भयो । खर्च विवरण बुझाउन पटकपटक ताकेता गर्दा पनि उम्मेदवारहरूले बेवास्ता गरी स्पष्टीकरण समेत  नबुझाउने २ हजार २ सय ५७ जनालाई कारवाहीको माग गर्दे निर्वाचन आयोगमा समेत सिफारिस गरिएको सूचना अधिकारी चौधरीले बताउनु भयो । उम्मेदवारले खर्चको विवरण बुझाएर सम्वधित वडा कार्यलयमा सार्वजनिक गर्नु पर्ने कानुनी प्रावधान छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ९ को दफा ६४ को उपदफा ५ मा निर्वाचन प्रचार प्रसारको खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेदवारलाई निर्वाचन आयोगको प्रचलित संघीय कानुन बमोजिम जरिवाना गर्न सक्ने उल्लेख गरिएको छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार स्थानीय तह निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्ने काननुी व्यवस्था भएपनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जिल्लाका अधिकांश उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । नौ ओटा स्थानीय तहको ६१ ओटा वडा रहेको यस जिल्लामा कुल ७ सय ४१ जनाले उम्मेदवारी दिएकोमा २ सय ३७ जनाले मात्रै समय मै निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले बताउनु भयो । निर्वाचन आयोगले दिएको सीमा भन्दा ढिलो गरी ५९ जनाले खर्च विवरण आयोगमा बुझाएका छन् भने ४ सय ४५ जना उम्मेदवारले अझै आयोगमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगले भदौ १ गतेदेखि ७ गतेसम्म सूचना प्रकाशन गरेर खर्च विवरण बुझाउने सुविधा दिएको थियो । त्यो अवधिमा खर्च विवरण बुझाउन नसकेपछि खर्च विवरण बुझाउन नसकेका उम्मेदवारहरुलाई स्पस्टीकरण सोधिएको  थियो । निर्वाचन कार्यालयमा ४५ जनाले आयोगले सोधेको स्पस्टीकरणको जवाफ पेश गर्दै खर्च विवरण बुझाउनु पर्ने जानकारी नभएको, व्यक्तिगत कारणले बाहिर जानुपरेको लगायतका कारण देखाएको निर्वाचन अधिकारी धामीले बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसारर  वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहनु भएका अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु भएको छैन् । निर्वाचन कार्यालय, बझाङले सार्वजनिक गरेको सूचनाको आधारमा जिल्लमा हालसम्म स्थानीय तहमा उम्मेदवार रहनु भएका मध्ये ५४.७१ प्रतिशतले मात्रै आफूले गरेको खर्चको विवरण बुझाउनु भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका र पराजित भएका मध्ये ४५.२९ प्रतिशत उम्मेदवारले अझै चुनावको समयमा गरेको खर्चको विवरण नबुझाएको निर्वाचन कार्यालय, बझाङले जनाएको छ । निर्वाचनको परिणाम घोषणा भएको एक महिना भित्र आफ्नो खर्चको विवरण सार्वजनिक गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि अझैसम्म पनि अधिकांशले विवरण नबुझाएको पाइएको हो । जिल्लाका १२ ओटा स्थानीय तहमध्ये साइपाल गाउँपालिकामा निर्वाचनमा ५८ जना सहभागी भएको भएपनि हालसम्म १६ जना निर्वाचित र सात जना पराजित उम्मेदवार गरी २३ जनाले मात्रै खर्चको विवरण बुझाउनु भएको छ भने ३५ जना उम्मेदवारले खर्चको विवरण बुझाउनु भएको छैन् । त्यसैगरी १ सय १८ जना उम्मेदवार रहेको केदारस्यूँ गाउँपालिकामा हालसम्म ४८ जना निर्वाचित र ३० जना पराजित उम्मेदवार गरी ७८ जनाले मात्रै विवरण बुझाउनु भएको छ भने ४० जनाले अझै विवरण बुझाउनु भएको छैन् । ९७ जना उम्मेदवार रहेको खप्तडछान्ना गाउँपालिकामा हालसम्म ३७ जना निर्वाचित र ३२ जना पराजित उम्मेदवार गरी ६९ जनाले विवरण बुझाउनु भएको छ भने २८ जनाले विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ । जयपृथ्वी नगरपालिकामा १ सय ५१ जना उम्मेदवार रहेकोमा हालसम्म निर्वाचित ६० र पराजित ४१ ज्ना उम्मेदवार गरी १ सय १ जनाले विवरण बुझाएको भएपनि ५० जनाले चुनावको बेला गरेको खर्चको विवरण बुझाएका छैनन् । ८६ जना उम्मेदवार रहेको तल्कोट गाउँपालिकामा २९ जना निर्वाचित र ११ जना पराजित उम्मेदवार गरी ४० जनाले विवरण बुझाएका छन् भने ४६ जनाले विवरण बुझाएका छैनन् । यसैगरी थलारा गाउँपालिकामा १ सय १४ जना उम्मेदवार रहेकोमा २३ जना विजयी र २४ जना पराजित उम्मेदवरा गरी ४७ जनाले विवरण बुझाउनु भएको छ भने ६७ जनाले विवरण बुझाउनु भएको छैन् । दुर्गाथली गाउँपालिकामा १ सय १३ जना उम्मेदवार मध्ये ३१ निर्वाचित, २६ पराजित उम्मेदवार गरी ५७ जनाले खर्च विवरण बुझाएकोे भएपनि ५६ जनाले अहिलेसम्म पनि खर्च विवरण बुझाउन बाँकी रहेको छ । बुंगल नगरपालिकामा १ सय ७७ उम्मेदवारमध्ये २० जना विजयी उम्मेदवार र ५६ जना पराजित उम्मेदवार गरी ७६ जनाले विवरण बुझाएका छन् भने १ सय १ जनाले विवरण बुझाएका छैनन् । मष्टा गाउँपालिकाका ८५ जना उम्मेदवारमध्ये २७ जना निर्वाचित, ३१ जना पराजित उम्मेदवारले खर्चको विवरण बुझाउनु भएको छ भने बाँकीले बुझाउनु भएको छैन् ।  सुर्मा गाउँपालिकामा ५६ जना उम्मेदवार मध्ये विजयी २७ र पराजित १८ जना उम्मेदवारले खर्च विवरण बुझाउँदा ११ जनाले विवरण बुझाउन बाँकी रहेको छ । वित्थडचिर गाउँपालिकामा १ सय ४३ जना उम्मेदवार रहेकोमा  हालसम्म २४ जना निर्वाचित र ३१ जना पराजित उम्मेदवारले विवरण बुझाएका छन् भने ८८ जनाले विवरण बुझाएका छैनन् । जिल्लाका दुई नगरपालिका, १० गाउँपालिका र जिल्ला समन्वय समिति गरी ५ सय ७९ जनाको सिटमा १ हजार ३ सय ५ जना उम्मेदवार बनेकोमा हालसम्म पनि ५ सय १८ जनाले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन कार्यालयमा पेस गरेका छैनन् । निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई स्पस्टीकरण मागेकोमा अधिकांश उम्मेदवारहरुले विरामी भएर धनगढी गएको, विकट ठाउँ भएर खबर नपाएको, भौगोलिक विकटताले बुझाउन आउन नपाएको लगायतका बनावटी समस्याहरु बनाएर स्पस्टीकरण दिएको जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले बताउनु भयो ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भएका करिब ७० प्रतिशत उम्मेदवारले अझै आफ्नो खर्च विवरण निर्वाचन आयोगमा नबुझाएको निर्वाचन कार्यालय, कञ्चनपुरले जनाएको छ । निर्वाचन सम्पन्न भएको मितिले ३० दिन भित्र निर्वाचन कार्यालयमा खर्च विवरण वा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक गर्नु पर्ने कानुनी प्रावधान रहेको र त्यो समयमा धेरै उम्मेदवारले खर्चको विवरण सार्वजनिक नगरेप िआयोगको निर्देशन अनुसार भदौ ७ गतेसम्म खर्च विवरण पेश गर्न पत्राचार गरिएको भनिपनि करिब आधा भन्दा बढी उम्मेदवारले खर्चको विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका सूचना अधिकृत भानबहादुर महराले बताउनु भयो । जिल्लामा उम्मेदवारी दिएका २ हजार १ सय ४१ जना उम्मेदवारहरु मध्ये तोकिएको समयमा खर्च विवरण बुझाउने उम्मेदवारहरु ६ सय ८८ जना रहेका र तोकिएको समय भित्र खर्च विवरण नबुझाउने उम्मेदवारहरु १ हजार ४ सय ५३ जना उम्मेदवार रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताउनु भयो । ४० जना उम्मेदवारहरुले भने आयोगले तोकेको समय मै निर्वाचन कार्यालय पुगेर खर्च विवरण बुझाउन नसक्नुको स्पष्टीकरण दिएको कार्यालयका सूचना अधिकृत महराले बताउनु भयो । समयमा जानकारी नपाएको , स्वास्थ्य समस्या लगायत घरायसी कामकाज जस्ता विविध कारणहरुले गर्दा समयमा खर्च विवरण बुझाउन नसकेको उम्मेदवारहरुको भनाइ स्पष्टीकरणमा रहेको सूचना अधिकृत महराले बताउनु भयो । तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आयोगले गर्ने निर्णय अनुसार कारवाहीको प्रक्रिया स्वरुप थप स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको सूचना अधिकृत महराले बताउनुभयो । स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ९ को दफा ६४ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचन आयोगमा पठाउनु पर्ने उल्लेख गरिएका छ ।

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार स्थानीय तह निर्वाचन भएको तीन महिना वितिसक्दासम्म पनि जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिन भित्र उम्मेदवारले खर्चको बिल भर्पाइ पेस गर्नु पर्ने कानुनी व्यवस्था रहेकोमा जिल्लाका अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराका कम्प्युटर अपरेटर भवानीदत्त भट्टका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लामा १ हजार ३५ जनाले उम्मेदवारी दिएका थिए । ‘अहिलेसम्म २ सय १९ जनाले मात्रै चुनावी खर्च बुझाएका छन्,’ भट्टले भने, ‘बाँकी ८ सय १६ जनाले खर्च विवरण बुझाउन बाँकी छ ।’ निर्वाचन आयोग ऐनमा उम्मेदवारले खर्च विवरण नबुझाएमा ५ लाख रुपियाँ जरिवाना हुने व्यवस्था छ । ‘निर्वाचन खर्चको विवरण पेस नगरेमा वा पेस भएको विवरणमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा ५ लाख रुपियाँ मध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्नेछ,’ ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ । कानुनमा तोकिएको ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्था समेत रहेको छ । ‘जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागु हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ,’ ऐनको दफा २६ को उपदफा ३ मा उल्लेख छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार निर्वाचन प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको कम्प्युटर अपरेटर भट्टले बताउनु भयो ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार स्थानीय तह निर्वाचनमा  ९ सय १४ जना उम्मेदवारहरु मध्ये ९६ जनाले मात्रै तोकिएको समयमै निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थिले बताउनु भयो । जिल्ला समन्वय समितिमा आठ जना, गाउँ नगर कार्यपालिकामा ६१ जना र स्थानीय तहमा ८ सय ४४ जना गरी ९ सय १४ जना उम्मेदवार रहेका थिए । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र निर्वाचन खर्च बुझाई सक्नु पर्ने कानूनी प्रावधान छ । कानुन अनुसार ९६ जनाले मात्र निर्वाचन खार्च विवरण बुझाएको र केही ढिलो गरी १ सय २३ जनाले निर्वाचन खर्च विवरण बुझाएको  भएपनि ६ सय ९५ जनाले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन अधिकारी अवस्थिले बताउनु भयो । निर्वाचन खर्च बुझाएका उम्मेदारले सम्बन्धित स्थानीय तहमा खर्च विवरण सार्वजनिक गर्ने र विवरण नबुझाएका सबै उम्मेदारले ०७९ भदौ २३ गतेबाट सात दिन भित्र स्पस्टीकरण बुझाउन सूचना प्रकाशित गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिशाल पुडासैनीले बताउनु भयो ।


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी