स्थानीय तह निर्वाचन, २०७४ (प्रदेश नम्बर ६ अपडेट दिउँसो २:००)

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो चरणमा निर्वाचन भएका प्रदेश नम्बर ६ का केही मतदान केन्द्र बाहेकका अधिकांश मतदान केन्द्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

डोल्पा जिल्लाको काइके गाउँपालिकास्थित अन्नपूर्ण निमाविको मतदान केन्द्रमा एमालेले एक लौटी छाप लगाउन खोजेको भन्दै काङ्ग्रेसका अंगद बुढाले विरोध गरेपछि करिब ३० मिनेट मतदान प्रकृया अवरोध भएको छ । उक्त मतदान केन्द्रमा ३० मिनेटपछि पुन मतदान सुरु भएको मतदान अधिकृतले जनाए । माथिल्लो डोल्पामा रहेका डोल्पुबुद्ध र छार्का ताङसोङ गाउँपालिकाका मतदान केन्द्र सम्पर्कविहीन रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्लाका स्थिति सामान्य रहेको छ । कूल मतदाता ५४ हजार ६ सय ७७ मध्ये दिउँसो १२ः४५ बजेसम्म १४ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुर्खेत जिल्ला दुर्गा थापाका अनुसार शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गर्भाकोट नपास्थित सरस्वती मावि अम्मापुरको क र ख मतदान केन्द्रमा दउसो १.०० बजेसम्म करिब ८० प्रतिशत मत खसेको मतदान अधिकृतले बताए ।

यसैगरी लेकवेसी नपाको सरस्वती मावि कल्याण 'क' मतदान केन्द्रमा १ हजार ६४ मतदाता रहेकोमा महिला ३ सय ३७ र पुरुष २ सय ४८ जनाको मत खसेको मतदान अधिकृतले बताए । यसैगरी सरस्वती मावि कल्याण 'ख' मतदान केन्दमा १ हजार २५ मतदाता रहेकोमा महिला ३ सय २६ र पुरुष २ सय ४४ जनाले मतदान गरिसकेका छन् ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार ४७.४२ प्रतिशत मत दिउँसो १ बजेसम्म खसेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जनकप्रसाद शर्माले जनाए ।

दैलेखमा दिउँसो २.०० बजेसम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुकुममा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार शारदा नपा-१४ स्थित साविक गाविसको कार्यालय डाडागाँउ मतदान केन्दमा दिउँसो २ बजेसम्म ८० प्रतिशत मत खसेको छ । उक्त मतदान केन्द्रमा ६ सय ७५ मतदाता रहेकोमा ४ सय ५२ जनाले मतदान गरेका छन भन् २ सय २४ जना मतदाताले परिचय पत्र लिन नआएको मतदान अधिकृतले बताए ।

मुगु, हुम्ला र कालिकोट जिल्लामा उत्साहजनक रुपमा मतदान भइरहेको सम्बन्धीत जिल्लाका इन्सेक प्रतिनिधिले जनाएका छन् ।


इन्सेक कार्यालय, नेपालगञ्ज