स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता, आचारसंहिता उल्लङ्घन

  ०७९ वैशाख १२ गते

निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ उल्लङ्घन गर्दै वैशाख १२ गते विभिन्न राजनीतिक दलहरुले सप्तरीमा मनोनयन दर्ता गरेका छन् ।

राजविराज नगरपालिकासहित विभिन्न पालिकामा उम्मेदवारी दिन गएको जुलुसमा चुनाव चिन्ह अंकित टिसर्ट, बालबालिकाको व्यापक प्रयोग र मोटरसाइकल र्‍याली गरिएको छ । जुलसमा प्रयोग भएका  व्यानर र झण्डाहरु पनि तोकिएका भन्दा ठूलो आकारका थिए ।

निर्वाचन आचार संहिता, २०७२ को ४ को (ड) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । यस्तै ४ को ज (१) मा उम्मेदवार वा राजनीतिक दलको नाम वा निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था छ ।

निर्वाचन आचार संहिता, २०७२ को ५ (क) को ४ मा उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिट × ३ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।

यस्तै ५ (क) को ६ मा जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च × १८ इन्च भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ ।

स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ को ४ (ख) मा उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुई ओटा मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था छ ।

वैशाख १२ गते सप्तरीका नौ नगरपालिकामा ४० जनाले मेयरमा र २८ जनाले उपमेयरमा मनोनयन दिएका थिए । यस्तै ९ गाउँपालिकामा ४७ जनाले अध्यक्षमा २३ जनाले उपाध्यक्षमा मनोनयन दिएका छन् । वडा अध्यक्षमा ३ सय ६७ जना, खुला वडा सदस्यमा ५ सय ८० जना, महिला सदस्यमा २ सय ९८ र दलित महिला सदस्यमा २ सय ८० जना गरी १ हजार ६ सय ६३ जनाले मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको विभिन्न निर्वाचन कार्यालयबाट मनोनयन अपडेटको क्रम आइरहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो ।

वैशाख ११ गते सप्तरीको ९ नगरपालिकामा १९ जनाले मेयरमा र १४ जनाले उपमेयरमा मनोनयन दिएका थिए । यस्तै ९ गाउँपालिकामा २१ जनाले अध्यक्षमा १८ जनाले उपाध्यक्षमा मनोनयन दिएका छन् । वडा अध्यक्षमा १ सय ८५ जना, खुला वडा सदस्यमा ३ सय १ जना, महिला सदस्यमा १ सय ४३ र दलित महिला सदस्यमा १ सय ३४ जना गरी ८ सय ३५ जनाले मनोनयन दर्ता गरेका थिए ।


मनोहरकुमार पोखरेल