स्थानीय तह निर्वाचनः कर्णाली प्रदेशमा उम्मेदवारीको पहिलो दिन मनोनयन दर्ता

  ०७९ वैशाख १२ गते

स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते कर्णाली प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारी दर्ता भएका समाचार इन्सेकका जिल्ला प्रतिनिधिबाट प्राप्त भएका छन् । कर्णाली प्रदेशमा ५ लाख ६ हजार १ सय ८० पुरुष, ४ लाख ९५ हजार ९९ सय महिला र तीन जना अन्य गरी जम्मा मतदाता १० लाख १ हजार २ सय ८२ जना रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कर्णाली प्रदेशमा ९ सय ७ मतदान स्थल रहेको छ भने १ हजार ३ सय ८५ मतदान केन्द्र रहेका छन् । स्थानीय तहको मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते इन्सेकका प्रतिनिधिहरूले अनुगमन समेत गरेका छन् ।
जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगको कार्य तालिमका अनुसार वैशाख ११ गते मनोनयन दर्ताको पहिलो दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । चन्दननाथ नगरपालिकाको मेयर पदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट जयकृष्ण धरलाको मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो उपमेयरको पदका लागि हस्तना न्यौपानेको मनोनयन पत्र दर्ता भएको छ ।
यस्तै नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा यज्ञबहादुर बुढ्थापा, वडा नम्बर ३ को वडाध्यक्षमा विर्खबहादुर सार्की, ८ नम्बर वडाध्यक्षमा अनुमति रावल, ९ नम्बर वडाध्यक्षमा भक्तबहादुर रावल र १० नम्बर वडाध्यक्षमा राज्यलक्ष्मी न्यौपानेको मनोनयन पत्र दर्ता भएको छ । मेयर उपमेयर दुई जना, वडाध्यक्ष पाँच जना, दलित महिला सदस्य दुई जना, महिला सदस्य पाँच जना र खुल्ला सदस्य नौ जना गरी २३ मनोनयन पत्र दर्ता गरेका हुन् ।
जुम्लामा एमाले पार्टीले टुङ्ग्यायो पालिका प्रमुख/उपप्रमुख उम्मेदवार
नेकपा एमाले पार्टी जुम्लाले यहाँका एक नगरपालिका र सात गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुङ्गो लगाएको छ । चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताउनु भयो ।
बैशाख ११ गतेसम्म सवै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुङ्गो लागेको छ । केन्द्रीय सदस्य योगीले भन्नुभयो निर्वाचन आयोगको कार्य तालिका अनुसार वैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो ।
यस्तै पातारासी गाउँपालिका अध्यक्ष सुकराम रावत र उपाध्यक्ष खम्मेनी महतारा उम्मेदवार हुन् । गुठीचौर गाउँपालिका अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढा, तातोपानी गाउँपालिकामा अध्यक्ष सुरत बहादुर शाही र उपाध्यक्ष ज्वाला चौलागाई, तिला गाउँपालिकामा अध्यक्ष रेशम बहादुर शाही र उपाध्यक्षमा जुनमाया बोहरा उम्मेदवार रहेका छन् ।
हिमा गाउँपालिकामा अध्यक्ष जयबहादुर खत्री र उपाध्यक्ष भागिरती शाही, सिंजा गाउँपालिकामा अध्यक्ष सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बुढा (रावत) उम्मेदवार हुन् ।
गठवन्धनको टुङ्गो नलागेपछि मनोनयन दर्ता भएन
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टी बीच गठवन्धन नहुने भएको छ । तीन पार्टी बीच भागवन्डा नमिलेपछि जुम्लामा गठवन्धन नहुने भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरका अनुसार प्रदेश गठवन्धनले पाएको निर्णय अनुसार हामीले स्वागत गरेका हौँ । उहाँले भन्नुभयो प्रदेशको निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठवन्धन टुटेको हो । काँग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भने पछि गठवन्धन नहुने देखिएको उहाँले बताउनु भयो । मननोयन दर्ता गर्ने समय भईसक्यो । पार्टीहरु बीच एक आपसमा नमिल्ने कुरा आएपनि अव तीन पार्टी एक्ला एक्लै चुनाव लड्ने भएका हुन ।
नेकपा समाजवादी पार्टी अध्यक्ष तिर्थ बुढाका अनुसार गठवन्धनमा हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेशको निर्णय अस्वीकार गरेका हौँ । हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ तर उनीहरुले दिन नमानेपछि गठवन्धन नहुने भएको हो ।
नेपाली काँग्रेस पार्टीका पूर्वी जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागवन्डा नमिल्दा आजदेखि गठवन्धन टुटेको बताउनु भयो । उहाँले भन्नुभयो मनोनयन दर्ता गर्ने बेला भईसक्यो । समय पनि छोटो छ । अव गठवन्धन हुदैन ।
जुम्लाका जिल्ला निर्वाचन कार्यालयमा १४ वटा राजनीतिक दल छन् । मनोनयन दर्ताको पहिलो दिन नेपाल मजदुर किसान पार्टी बाहेक अरु कुनै पनि दलले मनोनयन पत्र दर्ता नगरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । भोलि वैशाख १२ गते पनि मनोनयन दर्ता गर्न पाउने निर्वाचन आयोगको कार्य तालिका भएकाले धेरै जसो राजनीतिक दल भोलि मनोनयन दर्ता गर्ने देखिएको छ ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख ११ गते पहिलो दिन उम्मेदवारी दर्ता गराउन दैलेखका ११ स्थानीय तहमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
११ स्थानीय तह रहेको दैलेखका तीन वटामा एउटै पनि उम्मेदवार नपरेको त्यहाँका निर्वाचन अधिकृतहरूले जानकारी दिनुभएको छ । कुनै पदमा उम्मेदवार नपर्नेमा ठाँटीकाँध, डुंगेश्वर गाउँपालिका र आठबीस नगरपालिका रहेका छन् ।
प्राप्त विवरण अनुसार ६ वटा पालिकामा सात जना प्रमुख र दुई पालिकामा एकएक जना उपप्रमुखले उम्मेदवारी दर्ता गराएका छन् । दुल्लू नगरपालिकामा राप्रपाकी नन्दकला योगी र गुराँस गाउँपालिकामा नेमकिपाकी पार्वती ओलीको उपाध्यक्ष पदमा उम्मेदवारी परेको छ ।
पालिका प्रमुखमा उम्मेदवारी दिनेहरूमा दुल्लू नगरपालिकामा राप्रपाका गणेश रेग्मी र स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्की हुनुहुन्छ ।
पालिका प्रमुखमा उम्मेदवारी परेका पाँच पालिकामा गुराँस गाउँपालिकामा नेमकिपाका उदयजंग शाही, महाबु गाउँपालिकामा स्वतन्त्र चेतप्रसाद जैसी, भगवतीमाई गाउँपालिकामा राजमोका नरबहादुर सिंहले दलीय प्रतिनिधित्व गर्दै उम्मेवारी दिनुभएको छ ।
त्यसै गरी नौमूले गाउँपालिकामा विद्याप्रसाद शर्मा र भैरबी गाउँपालिकामा चेतप्रसाद जैसीले स्वतन्त्र उम्मेवारी दिनुभएको छ । त्यसैगरी जिल्लाभर २२ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा ६ जनाको स्वतन्त्र उम्मेवारी परेको छ ।

सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा पालिका प्रमुख सहित ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । सल्यानका ६ जनाले पालिका प्रमुखमा उम्मेदवारी दिएका छन् । जिल्लाका १० स्थानीय तह मध्ये वैशाख ११ गते चार स्थानीय तहमा ६ जनाले पालिका प्रमुखमा उम्मेदवारी दिएका हुन् । जसमा बागचौर नगरपालिकाको नगर प्रमुखमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट चित्र बहादुर डाँगीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै सोही नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अम्बर बहादुर गिरीले नगर प्रमुख र निर्मला योगीले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । यस्तै यहाँका ६ वटा वडाहरुको वडाअध्यक्षका लागि पनि राप्रपाबाट उम्मेदवारी परेको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा स्वतन्त्रबाट एक जनासहित दुई जनाको पालिका प्रमुखमा उम्मेदवारी परेको छ । जसमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विशेष जिल्ला सदस्य रहनुभएका लोकमान खत्रीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै सोही पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मोतिलाल वलीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यस्तै उपाध्यक्ष पदमा स्वतन्त्रबाट हिरादेवी बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट शिला बुढाथोकीले उम्मेदवारी दिनुभएको छ । यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी २५ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै दार्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ३२ जनाले उम्मेदवारी दिनुभएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निम बहादुर केसी र उपाध्यक्षमा जुना मल्ल चन्दले उम्मेदवारी दर्ता गर्नुभएको छ । अध्यक्ष पदका उम्मेदवार केसी निवर्तमान गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।
यस्तै सोही पार्टीबाट वडा नम्बर १ को अध्यक्षमा टङ्क ओली, वडा नम्बर २ को अध्यक्षमा सार्की खत्री, वडा नम्बर ३ को अध्यक्षमा पोखर बहादुर खत्री, वडा नम्बरं ४ को अध्यक्षमा चन्द्र बहादुर रावत, वडा नम्बरं ५ को अध्यक्षमा सुदिप केसी र वडा नम्बर ६ को अध्यक्षमा देवी केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । वडा सदस्यमा २४ जनाले उम्मेदवारी दिनुभएको छ ।
यस्तै कुमाख गाउँपालिकामा लालचन्द्र रावतले गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । यस्तै शारदा नगरपालिकामा तीन जना वडाअध्यक्ष सहित १० जनाले उम्मेदवारी दिएका छन् । जसमा राप्रपाबाट शारदा नगरपालिका वडा नम्बर २ को वडाअध्यक्षमा सञ्जय कुमार सिंह, वडा नम्बर ३ को वडाअध्यक्षमा इन्द्रा भण्डारी श्रेष्ठ र वडा नम्बर ११ बाट झुमलाल बुढाथोकीले वडाअध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यस्तै कालिमाटी गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा स्वतन्त्रबाट कृष्ण बहादुर खत्रीले उम्मेदवारी दिनुभएको छ ।
जिल्लाका चार स्थानीय तहमा भने कसैले पनि उम्मेदवारी दिएका छैनन् । बन्गाड कुपिण्डे नगरपालिका, सिद्ध कुमाख गाउँपालिका, त्रिबेणी गाउँपालिका र कपुरकोट गाउँपालिकामा कसैको पनि उम्मेदवारी नपरेको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
पहिलो दिन जिल्लाका प्रमुख राजनीतिक दल मनोनयन दर्ता गर्न गएनन् । सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा भागबण्डा मिल्न नसक्दा उम्मेदवारी दर्ता गरेका छैनन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवारी दर्ता गराएको छैन ।

सुर्खेत जिल्ला प्रतिनिधि पूर्णबहादुर खडकाका अनुसार स्थानीय तह निर्वाचनको लागि पहिलो दिन वीरेन्द्रनगर नपामा २९ जनाले वैशाख ११ गते मनोनयन दर्ता गराउनु भएको छ । मेयरदेखि वडा सदस्यसम्म उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यले जानकारी दिनुभयो ।
मेयरमा नेपाल दलित पार्टीका निलकण्ठ भुषालले उम्मेदवारी दर्ता गराउनु भएको छ भने स्वतन्त्रबाट उमानन्द पंगालीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै, उपमेयरमा नेपाल दलित पार्टीबाट भूमिसरा बिक, नेकपा माओवादी (समाजवादी) बाट बिमला पुन मगर, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला राना र स्वतन्त्रबाट भोजप्रसाद प्रसाईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
वडाअध्यक्षमा स्वतन्त्रबाट वीरेन्द्रनगर नपा १२ को अध्यक्षमा नारायण कार्की र वीरेन्द्रनगर नपा ९ को अध्यक्षमा चेतनसिंह ठकुरीले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी वीरेन्द्रनगर नपा १२ को वडाअध्यक्षका लागि नेकपा माओवादी (समाजवादी) बाट नरेश कामीले उम्मेदवारी दिनु भएको छ भने, नेपाल मजदुर किसान पार्टीबाट वीरेन्द्रनगर नपा ८ को अध्यक्षमा रमाकुमारी गुरुङ्ग, वडा नम्बर २ को अध्यक्षमा पन्नालाल बुढा, वीरेन्द्रनगर नपा १० को अध्यक्षमा निरक शाही, वीरेन्द्रनगर नपा २ को अध्यक्षमा गगन कामी, वीरेन्द्रनगर नपा ३ को अध्यक्षमा सुरेशबहादुर अधिकारी र वीरेन्द्रनगर नपा ९ को अध्यक्षमा रुपसिंह रोकायाले उम्मेदवारी दिनु भएको छ ।
सदस्यहरूमा वीरेन्द्रनगर १ को सदस्यमा हिमबहादुर शाही, दलित महिला सदस्यमा दुर्गाकुमारी विक, महिला सदस्यमा रेखा शाही, वडा नम्बर ९ को सदस्यमा समीक्षा आचार्य, देविराम सिजापति, माल्के बोहोरा, लक्षु शाही, वडा नम्बर २ को सदस्यमा नरबहादुर बुढा, वडा नम्बर १२ को सदस्यमा खम्मरसिंह कामी, कालुसिंह दमाई, वडा नम्बर ३ को सदस्यमा कृष्णप्रसाद जैसी, दलित महिला सदस्यमा रामसरी सार्की, वडा नम्बर ४ को सदस्यमा गोविन्द नाथ योगी र महिला सदस्यमा शान्तिदेवी गिरीले मनोनयन दर्ता गराउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वैशाख १२ गते मुख्य राजनीतिक दलहरूले मनोनयन दर्ता गराउने र अन्तिम नामावली १३ गते मात्रै सार्वजनिक हुने जनाएको छ ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठका अनुसार सात स्थानीय तह मध्ये नलगाड नगरपालिकामा मात्र एक जनाको उम्मेदवारी दर्ता भएको छ । जनता समाजवादी पार्टीबाट नलगाड नगरपालिकाको प्रमुख पदका लागि सत्यलाल गौतमले उम्मेदवारी दर्ता गराउनु भएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । गठबन्धन भित्र वडा तहसम्म सहमति नभएको र नेकपा एमाले भित्र पालिका प्रमुख, उपप्रमुख पदको मात्र उम्मेदवारी टुङ्गो लागेकाले आज मनोनयन दर्ता नगरेको पाइएको छ । गठबन्धन भित्र वैशाख ११ गते दिउँसो मात्र पालिका प्रमुख र उपप्रमुख पदकोे भागबन्डा मिलेको भएपनि वडा तह सम्मको भागबन्डा मिलाउनु पर्ने भएकाले वैशाख १२ गते मात्रै उम्मेदवारी दर्ता हुने जनाइएको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिकामा उपाध्यक्ष पदमा एक जनाले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी सिमकोट गाउँपालिकाको ७ नम्बरमा वडा अध्यक्ष पदका लागि एक जनाले मनोनयन दर्ता गराउनु भएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय,सुर्खेत