स्थानीय तह उपनिर्वाचन ०८१- दल र उम्मेदवारबाट आचार संहिता उल्लङ्घन

  ०८१ मङ्सिर १५ गते

निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । निर्वाचन प्रचारप्रसारको निषेध अवधि सुरु हुन लागेपछि मङ्सिर १३ गते दलहरूले मोटरसाइकल र्‍‍याली गर्दै घरदैलो अभियान र सडक अवरुद्ध हुने गरी कोणसभालगायतका निर्वाचन आचार संहिता विपरित कार्यक्रमहरू गरेको इन्सेकले अनुगमनका क्रममा पाइएको छ ।

दल र उम्मेदवारहरूले जुलुस र सभामा तोकिए भन्दा बढी चुनाव चिन्ह अङ्कित झण्डाहरू, फ्लेक्स प्रयोग गरेको तथा श्रव्य सामग्री बजाएको पाइएको छ । निर्वाचन आचार संहिता २०७९ को दफा १३ (ढ) मा उम्मेदवार वा दलले कार्यालय बाहेकका स्थानमा दलको झण्डा, उम्मेदवारको चुनाव चिन्ह, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन वा श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्न नहुने उल्लेख छ । जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रममा ३ गुणा ४ फिटको दश-दश ओटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न र एउटासम्म तुल वा फ्लेक्स मात्र राख्न पाइने व्यवस्था छ । दल र उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोगका साथै निर्वाचन चिन्ह अङ्कित पहिरन लगाएर तथा सडकका पोल वा सार्वजनिक स्थानमा निर्वाचन चिन्ह अङ्कित झण्डाहरू राखेर निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् ।

Photo Udaypur 20241129 (3)
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसका उम्मेदवार संजिव काफ्ले, नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीनारायण चौधरी, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नविन राई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ध्रुव पोखरेलले निर्वाचन चिन्ह अङ्कि ज्याकेट, कमिज, भेष्ट, टि-सर्ट, टोपी, फेटा प्रयोग गरी प्रदर्शन गरेका छन् । निर्वाचन आचार संहिता २०७९ को दफा ४ को (घ) र १३ (घ) मा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि-सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ ।

निर्वाचन आचार संहिताको दफा १३ (ण) मा दलहरूले निर्वाचन प्रचार प्रसारका क्रममा २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख भए पनि उम्मेदवारहरू चौधरी, काफ्ले र राईले निर्वाचन आचार संहिता विपरित ठूलो सङ्ख्यामा भेला र दफा १३ (द) विपरित मोटरसाईकल र्‍‍याली गरेको पाइएको छ ।

यस्तै बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसका उम्मेदवार नबिन बस्नेत, नेकपा (एमाले)का उम्मेदवार मोहन खड्का, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भरत घिमिरेले निर्वाचन आचार संहिता विपरित सवारी साधनको प्रयोग र मोटरसाइकल र्‍‍याली गरेको पाइएको हो । निर्वाचन आचार संहिता विपरित बहालवाला स्थानीय जनप्रतिनिधिहरूसहित प्रतिनिधि सभा सदस्यहरू विश्वप्रकाश शर्मा, अम्बरबहादुर रायमाझी र सुदन किराँती समेत क्रमशः नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनाव प्रचार प्रसारमा सहभागी भएका छन् ।

निर्वाचन आचार संहिताको दफा १३ (ट) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भनिए पनि दलहरूले आफ्नो आमसभा, र्‍‍याली र घरदैलो अभियानमा बालबालिकाको प्रयोग गरेको पाइएको छ । निर्वाचन आचार संहिता विपरित दलहरूले त्रियुगा नगरपालिका-१२ का बिभिन्न पोल, सार्वजनिक स्थल, विद्यालय, मन्दिर लगायतका स्थानमा व्यानर, पोस्टर तथा निर्वाचन प्रचारका सामग्री टाँसेका छन् । दफा १३ (ज) मा कसैको निजी घरजग्गा र सार्वजनिक भवन, उद्यान, सडकका पोल वा सार्वजनिक स्थानमा निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।

यस्तै आचार सहिंताको दफा ४ (झ) मा सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने भनिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले त्रियुगा नगरपालिका-१२ शनि मन्दिरमा मङ्सिर १२ गते प्रतिनिधि सभा सदस्य निशा डाँगीको उपस्थितीमा सडक अवरुद्ध गरेर आमसभा गरेको छ ।

Photo Udaypur 20241129 (4) Photo Udaypur 20241129 (2)

 

Photo Udaypur 20241129 (2)

Photo Udaypur 20241129 (2) Photo Udaypur 20241129 (1)

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लालीगुराँस नगरपालिका ८ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य सिता गुरुङसहित जिल्ला समन्वय समिति प्रमुख गुमान सिंह इस्बो, लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङ, उपप्रमुख जमुना मगर कार्की मङ्सिर १३ गते मत मागेर हिंडनु भएको छ ।

र्वाचन आचार संहिता २०७९ को दफा ५ (क) अनुसार राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा संलग्न भएर प्रचारप्रसार गर्न रोकेको छ । उहाँहरु चुनाव प्रचार कमिटिमा रहेर उम्मेदवारको पक्षमा मत माग्दै घरदैलोका साथै चुनावी आमसभा, कोणसभाहरुमा सम्बोधन गर्दै हिंड्नु भएको अनुगमनमा देखिएको हो ।

घरदैलोका क्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दल र उम्मेदवारले २५ जना भन्दा बढीको जुलुस, माइक्रोफोन, ठूलो व्यानर र धेरै झण्डा प्रयोग गरिएको पाइएको छ । दफा १३ (ण) मा घरदैलो कार्यक्रम गर्दा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृत भिमबहादुर निरौलाले आचार संहितामा व्यवस्था भए अनुरुप बहालबाला जनप्रतिनिधिहरुले चुनावी प्रचारप्रसारमा सामेल हुन नमिल्ने बताउनु भयो । जनप्रतिनिधि वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु निर्वाचन प्रचारप्रसारमा सहभागी भएको उजुर नआएकोले केही नगरिएको निर्वाचन अधिकृत निरौलाले बताउनु भयो ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर