स्थानीय तह उपनिर्वाचन ०८१-पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि आयोगको निर्देशन

  ०८१ मङ्सिर १३ गते

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत आगामी मङ्सिर १६ गते हुने निर्वाचनमा मतदातालाई मत प्रदानका लागि पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, किरियापुत्री, सुत्केरी र अपाङ्गता भएका मतदातालाई सहजतापूर्वक मतदान केन्द्रमा पुगी मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले स्थानीय तहलाई निर्देशन दिएको हो ।

photo202401127 Morang

कोशी प्रदेशको मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा अपाङ्गता, अशक्त, विरामी, ज्येष्ठ नागरिकका लागि हरेक मतदान केन्द्रमा छुट्टै लाइनको व्यवस्था गरिने भएको छ ।महिला, पुरूषको लाइन मात्रै नभई लक्षित मतदाताहरूका लागि छुट्टै अर्को लाइनको पनि व्यवस्था गरिने ग्रामथान गाउँपालिका उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामराज पौडेलले  बताउनु भयो । लक्षित मतदाताहरूले लाइनमा उभिनु नपर्ने बसेर आफ्नो पालो पखर्ने व्यवस्था मिलाइने सूचना अधिकारी पौडेलले बताउनु भयो । यस्तै किरिया पुत्रिहरूलाई भने पालो नपर्खी सोझै मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।

भड्किला प्रचार सामग्री हटाउन आग्रह

ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १२ गते ग्रामथानमा आचारसंहिताबारे आयोजना गरिएको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नु भएको हो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि आचारसंहिता पालना गरिदिन मुख्य निर्वाचन अधिकृतले उम्मेदवारसँग आग्रह गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृत भट्टराईले भन्नुभयो‘ निर्वाचन कार्यालयमा अहिले सम्म कसैको पनि उजुरी परेको छैन । अबका बाँकी दिनहरुमा पनि उजुरी नपर्ने गरिका काम गर्न आग्रह गर्दछु ।’ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने निर्वाचनमा राजनीतिक दलका १५ र एक स्वतन्त्र गरि १६ जना उम्मेदवार छन् ।

ग्रामथानका चार ओटा मतदानस्थल सम्वेदनशील

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत ग्रामथान गाउँपालिकामा तोकिएकामध्ये चार ओटा मतदानस्थललाई सम्वेदनशील भनेर वर्गिकरण गरिएको छ । ग्रामथान  गाउँपालिकामा १२ ओटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकामा चार ओटा मतदानस्थलाई जिल्ला सुरक्षा समितिले सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको हो । अन्य आठ ओटा मतदानस्थलाई सामान्यको सूचीमा वर्गीकरण गरिएको छ ।

सुरक्षाका दृष्टिकोणले सम्वेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।

विगतका निर्वाचनमा भएका झगडा, विवाद, मतदाता र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । ग्रामथान गाउँपालिकामा मङ्सिर १६ गते गाउँपालिका अध्यक्ष पदका लागि हुने निर्वाचनमा एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

तीन ओटा वा सो भन्दा मतदान केन्द्र र धेरै मतदाता रहेका मतदानस्थललाई सम्वेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले ग्रामथान गाउँपालिका-१ लखन्तरीस्थित वीरेन्द्र मावि, ग्रामथान गाउँपालिका-५ तेतरियास्थित देवी मावि, ग्रामथान गाउँपालिका-६ रविहाटस्थित पब्लिक मावि र ग्रामथान गाउँपालिका-७ धोवियारेस्थित गणेश मावि मतदानस्थललाई सम्वेदनशील सूचीमा राखिएको छ ।

वीरेन्द्र माविमा तीन ओटा मतदान केन्द्र र २ हजार ५ सय १३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । देवी माविमा ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ३८ मतदाता, पब्लिक माविमा ४ वटा केन्द्र र ३ हजार ७ सय ५५ मतदाता तथा गणेश माविमा तीन ओटा केन्द्र र २ हजार २ सय ५६ जना मतदाता छन् ।

मतदानस्थलमध्ये ग्रामथान-१ खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा एक ओटा केन्द्र र ७ सय ७७ मतदाता, ग्रामथान गाउँपालिका-२ वडा कार्यालयमा २ केन्द्र र २ हजार ७२ मतदाता, ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित सरस्वती माविमा एक केन्द्र र २ हजार ६२ मतदाता, ग्रामथान गाउँपालिका-३ भौसाबारीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा दुई केन्द्र र १ हजार ४ सय ६ मतदाता तथा ग्रामथान गाउँपालिका-३ सिद्राहास्थित वाणी माविमा दुई ओटा केन्द्र र १ हजार ५ सय ४७ मतदाता छन् ।

ग्रामथान गाउँपालिका-४ को लोहासुरस्थित महेन्द्र माविमा २ केन्द्र र २ हजार ८१ मतदाता, ग्रामथान गाउँपालिका-४ मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ८ सय ९२ मतदाता तथा ग्रामथान गाउँपालिका-७ को बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ केन्द्र र ८ सय ४५ जना मतदाता रहेका छन् । ग्रामथान गाउँपालिकामा २६ हजार ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार आगामी मङ्सिर १६ गते लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा प्राथमिकताका आधारमा मतदान प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । गर्भवती, बिरामी, किरियापुत्री, सुत्केरीलगायत मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्न र गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पुर्‍याउन र फर्किने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएसँगै लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि सोही अनुसारको तयारी थालिएको छ ।

राजनीतिक दल र उम्मेदवारहरुलाई दिएको निर्वाचन प्रचारप्रसार र मत माग्ने कार्य मङ्सिर १३ गते मध्यरातदेखि अन्त्य हुने र निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका मौन अवधि जारी रहने निर्वाचन आयोगले जनाएको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर