स्थानीय तह उपनिर्वाचन ०८१- मुख्य निर्वाचन अधिकृत सिफारिस

  ०८१ कात्तिक १२ गते

स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरू सिफारिस भएका छन् ।

न्याय परिषद्ले ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा निर्वाचन आयोगले जिम्मेवारी तोक्नेछ ।

निर्वाचनका लागि सम्बन्धित जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत सिफारिस भएका छन् ।

photo 20241028 Morang

कोशी प्रदेशका झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुने निर्वाचनका मुख्य निर्वाचन अधिकृत सिफारिस भएका छन् ।

झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइटेल, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत तेर्हथुमका न्यायाधीश भीमबहादुर निरौला, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत सुनसरीका न्यायाधीश मुकेश उपाध्याय, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत ओखलढुङ्गाका न्यायाधीश गिरिराज गौतम र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत उदयपुर जिल्ला अदालतका मुख्य न्यायाधीश दीपककुमार खरेललाई सिफारिस गरिएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि यसअघि ०८१ असोज १० गते निर्वाचन कार्य तालिका सार्वजनिक गरि सकेको छ । आयोगले दल दर्तादेखि निर्वाचन सम्पन्नसम्मका कार्यक्रम तय गरी असोज १० गते सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले आगामी ०८१ मङ्सिर १६ गतेका लागि तोकिएको स्थानीय तहको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ताको प्रक्रिया सुरुआत गरेको थियो ।

दर्ता कायम रहेका दललाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गते कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

दल दर्तादेखि अन्य निर्वाचनसम्बन्धी तालिका असोज १० गते सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताउनु भयो ।

निर्वाचन कार्यतालिका अनसार आगामी ०८१ मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । सोही दिनको दिउँसो ३ बजेदेखि मङ्सिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको नाम मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्वाचन कार्य तालिका छ ।

तालिकाअनुसार ०८१ मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।

मन्त्रीपरिषद्को ०८१ भदौ ३० गतेको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निणर्य बमोजिम कोशी प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा निर्वाचन हुनेछ । देशभर ३४ ओटा पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ ।

देशभरबाट ०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेकोमा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न ०८१ साउन २९ गते आह्वान गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ ।

कोशी प्रदेशका ६ ओटा जिल्लाका स्थानीय तहमा रिक्त रहेका ठाउँमा आगामी ०८१ मङ्सिर १६ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत पदपूर्तिका लागि आयोगले तयारी गरेको हो ।

‘निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन २०७३ को दफा ४ ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकोमा विश्वस्त हुँदै आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिएको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर