स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा खसेको मतमा ३ सय ७० र अन्य ७ ओटा वडाध्यक्षका लागि भएको निर्वाचनमा खसेको मतमा १ सय ७८ गरी ५ सय ४८ मत बदर भएको हो ।
उदयपुरको बेलका नगपालिका-९ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा बदर भएका २ सय २० मतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलको सहमतिमा सदर मानेर पुन:गणना गरेपछि ३५ मत मात्र बदर भएको छ । गणना भएका ५ सय मतमध्ये २ सय २० मत बदर भएपछि बेलका नगरपालिका-९ को मतगणना १६ घण्टा रोकिएको थियो ।
कोशी प्रदेशको ग्रामथान गाउँपालिकाको अध्यक्ष र अन्य ६ जिल्लाका ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल मतदाता ४२ हजार ८ सय ३८ मध्ये २९ हजार ६ सय ३० अर्थात ६९.१६ प्रतिशत मत खसेको थियो । खसेको मतमा ५ सय ४८ मत अर्थात १.८४ प्रतिशत बदर भएको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । बदर हुने मतमा उम्मेदवारको निर्धारित चिन्ह भन्दा बाहिर मतचिन्ह लागेको, उम्मेदवारको चिन्ह नभएको खाली ठाँउमा मतचिन्ह भएको र एकभन्दा बढी उम्मेदवारको चिन्हमा मत चिन्ह लागेको पाइएको छ ।
मोरङ प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक विनोद सुवेदीका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ३ सय ७० मत बदर भएको छ । कुल २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा १८ हजार ५ सय ७७ मत खसेकोमा २ प्रतिशत बदर भएको हो ।
सुनसरी प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक जयकृष्ण यादवका अनुसार सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्षका लागि भएको निर्वाचनमा १७ मत बदर भएको छ । कुल ३ हजार ६ सय २२ मतदाता रहेको गढी गाउँपालिका-६ मा भएको उपनिर्वाचनमा २ हजार ५ सय ४५ जनाले मतदान गरेकोमा ०.६६ प्रतिशत मत बदर भएको छ ।
ओखलढुङ्गा प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक सरस्वती बानियाका अनुसार मोलुङ गाउँपालिका–५ को वडाध्यक्षका लागि भएको निर्वाचनमा १२ मत बदर भएको छ । कुल १ हजार ३ सय २५ जना मतदातामध्ये ७ सय ६८ जनाले मतदान गरेकोमा १.५६ प्रतिशत मत बदर भएको छ ।
ताप्लेजुङ प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक एलिना दियालीका अनुसार ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ सिकैँचाको उपनिर्वाचनमा ९ मत बदर भएको छ । कुल मतदाता १ हजार ३ सय २५ रहेकोमा ८ सय ९२ मतदाताले मतदान गरेकोमा १ प्रतिशत मत बदर भएको छ ।
तेहृथुम प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक सुरेश खत्रीका अनुसार तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा भएको निर्वाचनमा ४९ मत बदर भएको छ । कुल १ हजार ४ सय ८१ जना मतदाता रहेकोमा ९ सय २३ मत खसेकोमा ५.३० प्रतिशत मत बदर भएको छ ।
झापा प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक नरेश खातीका अनुसार झापाको कन्काई नगरपालिका-६ मा खसेको मतमा ७ मत बदर भएको छ । कुल २ हजार ५८ मतदातामध्ये १ हजार ५ सय १३ मत खसेकोमा ०.४६ प्रतिशत मत बदर भएको छ ।
उदयपुर प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक राकेश नेपालीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष पदमा ४९ मत बदर भएको छ । कुल ३ हजार ८ सय ४७ जना मतदाता रहेकोमा २ हजार ५ सय २७ जनाले मतदान गरेकोमा १.९३ प्रतिशत मत बदर भएको छ ।
यसैगरी बेलका नगरपालिका-९ मा रिक्त वडाध्यक्ष पदका लागि गरिएको उपनिर्वाचनमा खसेको मतमा ३५ मत बदर भएको छ । कुल ३ हजार १ सय ३६ मतदाता रहेको बेलका-९ मा १ हजार ८ सय ८५ मत खसेकोमा १.८५ प्रतिशत मत बदर भएको छ ।
निर्वाचन आयोगका अनुसार, स्थानीय तह निर्वाचन २०७९ मा समेत कुल खसेको १ करोड २५ लाख ८४ हजार मतमध्ये २ दशमलब ४ प्रतिशत अर्थात ३ लाख २ हजार मत पूर्ण रुपमा बदर भएको थियो ।
मत बदर न्यून गर्न निर्वाचन प्रणालीमा सुधारका साथै मतदाता शिक्षा प्रभावकारी बनाउनु पर्ने कुरालाई आयोगका पूर्व पदाधिकारीहरूले नै स्वीकार गरे पनि मतदाता शिक्षामा सुधार गर्नुपर्ने विषयमा आयोगले धेरै ध्यान दिएको अवस्था छैन् । "मतदाताहरुको अज्ञानता, भौगोलिक कारण, उम्मेदवार छनौटको निर्णयमा समस्या, मनोवैज्ञानिक कारणदेखि मतदान गर्ने कोठा, मसी जस्ता प्राविधिक कारणले पनि मत बदर हुन्छ ।" पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भन्नुभयो-"निर्वाचन प्रणालीमा सुधार, विद्युतिय मतदान मेशिनको प्रयोग र मतदाता शिक्षा प्रभावकारी बनाएर बदर मतलाई न्यून गर्न सकिन्छ ।"
राजनीतिक दलका नेताहरूले तीब्र रूपमा चुनावी प्रचारप्रसार गरे पनि मतदाता शिक्षामा आवश्यक ध्यान दिइरहेका छैनन् । आफूले मत माग्दा आ-आफ्नो चुनाव चिन्हमा मतदान गर्न सिकाए पनि सदर र बदर मतबारे नसिकाउने गरेको मतदाताहरु बताउँछन् । फरक दलका फरक-फरक चुनाव चिन्ह भएकाले सर्वसाधारण जनता दोधारमा पर्ने गरेको मोरङको ग्रामथान गाउँपालिका-५ की फुलेश्वरी चौधरीले बताउनु भयो । अन्य ठाउँमा मत जाने वा मत बदर हुने अवस्था अन्त गर्न मतदाता शिक्षा प्रभावकारी बनाउनु पर्ने चौधरीले बताउनु भयो ।
मतदातालाई मतदानमा सहभागी गराउने र मतदान गर्न सक्षम बनाउने दुबै कार्य बराबर रूपमा भएमा मात्र वास्तविक रूपमा लोकतन्त्र बलियो बन्ने विश्वास गरिन्छ । एक मतले जितहार हुने निर्वाचनमा मत बदर हुँदा परिणाम उल्टो पनि आउने सम्भावना रहन्छ । तसर्थ यसबारे सम्बन्धित दलहरू र निर्वाचन आयोगले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने राजनैतिक विश्लेषकहरु बताउँछन् । "मतदान गर्ने विषयमा शिक्षा नपाएसम्म मत बदर हुने क्रम न्यूनिकरण हुँदैन ।" विश्लेषक दिनेश श्रेष्ठले भन्नुभयो -"मतपत्र सरल बनाउनुका साथै मतदाता शिक्षा नपाएका जनतालाई निर्वाचन आयोग र पार्टीहरूबाट मतदान गर्न सिकाउनु पर्छ ।"
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…