स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो

  ०८१ मङ्सिर १७ गते

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ ।

मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान १ बजेदेखि  मत गणना रोकिएको छ । अत्यधिक मात्रामा वदर मत देखिएपछि दलहरूबिच मतभेद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले बताउनु भयो ।

निर्वाचन अधिकृत गुप्ताले ५ सय मत गणना सकिएपछि सदर र वदर मतको बिषयमा दलहरूले असन्तुष्टि पोखेपछि मतगणना रोकिएको हो । ५ सय मत गणना हुँदा २ सय २० मत वदर भएको छ ।

प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेको ८५, नेकपा माओवादी केन्द्रको ८० र नेपाली काँग्रेसको ६२ मत छ ।

सर्वदलीय बैठकमा चिन्ह भन्दा अन्य ठाउँमा मत सङ्केत देखिए वदर गर्ने सहमति भएको थियो । सोही मुताविक गणना प्रक्रिया अघि बढेको निर्वाचन अधिकृत गुप्ताले बताउनु भयो ।

नेकपा माओवादी केन्द्रले पुनः मतगणनाको माग रोखेको छ । बिबाद बढेपछि सहमतिको प्रयास भइरहेको निर्वाचन अधिकृत गुप्ताले बताउनु भयो । वदर मतको बिषयमा निर्वाचन अधिकृतको कार्यालय र सर्वदलीय बैठकसमेत नसक्दा मत मगणना अनिश्चित भएको छ ।

३ हजार १ सय ६७ जना मतदाता रहेको बेलकामा १ हजार ८ सय ८५ मत खसेको थियो ।

मत गणनाको इन्सेकले पर्यवेक्षण गरिरहेको छ ।


राकेश नेपाली