स्थानीय तहले खर्च विवरण नबुझाउँदा आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकियो

  ०७६ असोज ९ गते

ओखलढुङ्गाका स्थानीय तहले आर्थिक वर्ष ०७५/०७६ को खर्च विवरण असार मसान्तसम्ममा नबुझाएपछि चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्तालगायत अन्य विकास निर्माणका काममा खर्च भएको बजेट निकासा रोकिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)लाई असार मसान्तसम्म भएको खर्चको विवरण नबुझाएका कारण कोलेनिकाले रकम निकासा रोकी दिँदा लक्षित वर्गले पाउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

आर्थिक वर्ष ०७६/०७७ को सामाजिक सुरक्षा भत्ता चौमासिक रूपमा दसैँ अघि वितरण गर्ने गरी कोलेनिकाले रकम स्थानीय तहलाई निकासा दिनुपर्ने समय बित्न लाग्दा समेत अघिल्लो वर्षको सालवसाली खर्च, मासिक फाँटवारी खर्च, सामाजिक सुरक्षा बापतको लक्षित समुदाय खर्चको विवरण जिल्लाका आठ ओटा स्थानीय तहमध्ये ६ ओटा स्थानीय तहले कोलेनिकामा नबुझाउँदा ६ ओटा स्थानीय तहका सामाजिक सुरक्षा भत्ता पाउने समुदाय ८ महिनाको सामाजिक सुरक्षा भत्ता पाउने पर्खाइमा बस्नु परेको छ ।

आवश्यक प्रक्रियाको रित नपुगेकाले कोष तथा लेखा नियन्त्रण कार्यालयले रकम निकासा रोकी दिएपछि जिल्लाभर सञ्चालन हुने विकास निर्माणका योजना तथा अपाङ्गता भएका, एकल तथा ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको हो ।

दसैँअघि भत्ता पाउने आशमा रहेकाहरू यतिबेला आक्रोशित भएका छन् । खिजीदेम्वाका तेम्वा शेर्पाले भत्ता पाउने आशमा बसे पनि अहिलेसम्म नदिएको गुनासो गरे ।

सिद्धिचरण नगरपालिका, खिजीदेम्वा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका, सुनकोसी गाउँपालिका, लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकाले खर्च विवरण बुझाएका छैनन् ।

पहिलो चौमासिकको दुई महिना बितेपनि खर्च विवरण पेश नहुँदा निकासा रोकिएको हो । खर्च विवरण नआएपछि फुकुवा दिन नमिल्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजनकुमार फुयालले बताए ।

खर्च विवरण पेश नभएपछि निकासा रोकिँदा लक्षित वर्गले पाउने भत्ता समेत नपाएका हुन् । ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष जीवन शर्माले स्थानीय तह नागरिकप्रति जबाफदेही नभएको आरोप लगाए ।

उनले भने–‘विकासका काम त नहुने भए भत्ता लिएर दसैँ खर्च गर्ने आशमा रहेका ज्येष्ठ नागरिकमाथि अन्याय भएको छ ।’

समयमा खर्च विवरण बुझाउने, रकम निकासा लिएर विकास तथा अन्य सामाजिक क्षेत्रका काम गर्नुपर्ने जिम्मवारीप्रति जनप्रतिनिधि र कर्मचारी जिम्मेवार नबनेको उनको आरोप छ ।

अनलाइनमार्फत पेश गर्नु पर्ने विवरण आएका दुई स्थानीय तह चिसङ्खुगढी गाउँपालिका र मोलुङ गाउँपालिकाको रकम निकासा ०७६ असोज ६ गते नै भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख  फुयालको भनाई छ ।

उनले भने–‘दुई स्थानीय तहको निकासा भइसक्यो । केही पेश गर्दै छन् । केहीले गरेका छैनन् ।’ चिसङ्खुगढीले दसैँअघि नै रकम निकासा लिएर पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।

बजेट निकासा नहुँदा पहिलो चौमासिकमा वितरण हुने भत्ता समेत वितरण नहुने अवस्था आएको छ । स्थानीय तहका लेखा तथा प्रशासन शाखाका कर्मचारीको लापरवाहीले विवरण पेश नभएको जनप्रतिनिधिहरूको आरोप छ ।

सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले लेखा परीक्षणलगायतका काम भइरहेकाले विवरण पेश गर्न ढिलाइ भएको बताए । उनले चाँडै विवरण पेश गरेर निकासा लिने जानकारी दिए ।


शिवप्रसाद ढुङ्गाना