स्थानीय तहमा कर्मचारी अभावले सेवाप्रवाहमा समस्या

जिल्लाका एक नगरपालिकासहित नौ ओटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् ।

दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । मेरिङ्देन गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी हेल्थ असिस्टेन्टमा कार्यरत छन्, हेमन्त प्रधान ।

तर, चार महिनायता उनी पञ्जिकरणको काम पनि गरिरहेका छन् । बिरामीको उपचार गर्नेसहित जन्म, मृत्यु र बसाईंसराई दर्ता गर्ने र वडाको बैठक सञ्चालन गर्ने जिम्मेवारी छ उनलाई ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङवाङले केन्द्रले कर्मचारी सरूवा गर्ने तर नपठाउने समस्याले सेवाप्रदायक र सेवाग्राही मर्कामा परेको बताए ।

'सेवाप्रवाह कसरी प्रभावकारी हुन्छ?'-अध्यक्ष चोङबाङले भने-'३२ जना कर्मचारीको दरबन्दी छ । दरबन्दी अनुसार प्रशासकीय अधिकृत मात्र छन् ।' गाउँपालिकाका ६ ओटै वडामा स्वास्थ्य कर्मचारीहरू सचिवको समेत जिम्मेवारीमा छन् ।

सिरिजङ्घा गाउँपालिकाका वडा पनि स्वास्थ्यकै कर्मचारीको भरमा छन् । आठ ओटा वडामध्ये दुई ओटा वडामा मात्रै प्रशासनका सचिव रहेको प्रशासकीय अधिकृत प्रशन्नदीप राईले बताए ।

प्राविधिक धारका सचिवले वडा समितिको बैठक बोलाउने, माइन्युट उठाउने र निर्णय लेख्ने जस्ता प्रशासनिक कार्यमा व्यस्त हुँदा सेवाप्रवाहमा समस्या भएको छ ।

स्वीकृत दरबन्दी अनुसार मिक्वाखोला गाउँपालिकामा २४ जना स्थायी कर्मचारी हुनुपर्ने हो । तर, अहिले चार जना मात्रै छन् ।

विषयगत शाखाको काम करारका कर्मचारीको भरमा चलिरहेको छ । ५ नम्बर बाहेकका वडा कार्यालयमा स्वास्थ्य र प्राविधिक कर्मचारी सचिव छन् ।

एउटैलाई दोहोरोतेहेरो जिम्मेवारी दिएर गाउँपालिकाले सेवा प्रवाह गरिरहेको प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए ।

समायोजनपछि जिल्लाका नौ ओटै स्थानीय तहमा कर्मचारी रित्तिएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको जनप्रतिनिधिको गुनासो छ ।

एचए, अहेव र सव ओभरसियर, ओभरसियरलाई जिम्मेवारी दिएर भएपनि सेवा प्रवाह गरिरहेको सिदिङवा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताए ।

फुङलिङ नगरपालिकामा चालक, कार्यालय सहयोगी र माली बाहेक ५१ जनाको दरबन्दी छ । तर, २७ जना मात्रै कार्यरत रहेको प्रशासकीय अधिकृत महेशराज तिम्सिनाले बताए ।

६ ओटा वडा रहेको मैवाखोला गाउँपालिकामा २५ जनाभन्दा माथिको स्थायी दरबन्दी हो । हाल सात जना स्थायी र तीन जना करारका कर्मचारी छन् ।

अब उपभोक्ता समिति गठन, योजना छनौट लगायतका कार्य धमाधम गर्ने समय भएकाले समस्या रहेको गाउँपालिका अध्यक्ष राजन थत्लुङले बताए ।

कर्मचारी नै अपुग भएपछि सेवाप्रवाह प्रभावकारी नहुनु अनौठो नभएको जनप्रतिनिधिले बताउँदै आएका छन् ।


देवराज गुरुङ