स्थानीय तहका जनप्रतिनिधिलाई राजिनामा दिन धम्की

स्थानीय तहका जनप्रतिनिधिलाई तत्काल राजिनामा दिन नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले फागुन ३ गते धम्की दिएको पीडित पक्षले जनायो ।

नेपाल कम्युनिष्ट पार्टीद्वारा घोषित जनसरकार प्रमुख विशाखर जैसीद्वारा फागुन २ गते हस्ताक्षर गरिएको पत्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख वडा अध्यक्षलाई राजिनामा दिन धम्की दिइएको छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई जिल्ला जनपरिषद् कालिकोटका नाममा पत्र आएको पचाल झरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए ।

photo20160216kalikot

'जिल्ला जनपरिषदका नाममा राजिनामा दिन भन्दै पत्र आएको छ ।'-उनले भने-'पत्रमा जनप्रतिनिधिहरूलाई धम्कीपूर्ण भाषा बोलिएको छ ।' जिल्ला जनपरिषद् हाम्रो सत्ता भएकाले पुरानो सत्ता टिकाउने जनप्रतिनिधिलाई पत्र काटेर राजिनामा दिन आहृवान गरिएको नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला सेक्रेटरी रणदीप ऐडीले बताए ।

'पुरानो सत्तालाई टिकाउन जनप्रतिनिधि भएका छन् ।'-उनले भने-'हामीले खारेजीको माग लिएका कारणले उहाँहरूलाई राजिनामा दिन पहिलो चरणको पत्र काटेका हौँ ।' जनप्रतिनिधिलाई नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएपछि जनप्रतिनिधिहरू त्रसित बनेका छन् ।


कालीबहादुर मल्ल