स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य

जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् ।

पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो समयदेखि स्थानीय उपभोक्ताहरु सोही कोलिफम रहेको पानी पिउदै आएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, डोटीले नमूना संकलन गरी पानी परीक्षण गर्दा सबैमा दिशाको टीकाणु भेटिएको र उपभोक्ताहरुले प्रयोग गर्ने पानी अत्याधिक धमिलो समेत रहेको स्वास्थ्य कार्यालय, डोटीले जनाएको छ  ।

मछेन्तोलास्थित पानीको मुहान, सिलगढीमा राखिएको खानेपानी ट्याङ्की, धारामा आउने पानी र उपभोक्ताहरुले प्रयोग गर्न राखिएको पानीको परीक्षण गर्दा सबैमा कोलिफम (दिशाको कीटाणु) पाइएको ल्याब असिस्टेन्ट निर्मल ओझाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पानीमा देखिएको दिशा के को हो ? हामी छुट्टाउन सक्दैनौँ । तर, स्थानीय उपभोक्ताहरुले पिउने पानीमा कोलिफम (दिशाका कीटाणुण) देखिएका छन् । यो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।’

जिल्ला सदरमुकाम सिलगढीमा आउने पानीमा कोलिफम देखिएको भए पनि कोलिफमको मात्रामा बृद्धि नहोस् भनेर क्लोरिन औषधिको प्रयोग भइरहेको खानेपानी तथा सरसफाइ समिति, डोटीका प्रमुख रामचन्द्र धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘उपभोक्ताले प्रयोग गर्ने पानीमा कोलिफमको मात्र रहेको परीक्षणबाट देखिएको छ । कोलिफम (कीटाणु) मार्नका लागि औषधिहरुको प्रयोग गरिरहेका छौँ । पानीका देखिएको कोलिफम मान्छेको नभई बस्तुभाउ वा जङ्गली जनावारको हुन सक्छ ।’

स्थानीय उपभोक्ताहरुले कोलिफम (कीटाणु) भएको पानी पिउदै आउनु भएकोले झाँडापखाला, हैजा तथा बिभिन्न प्रकारको रोगहरूको सङ्क्रमणको खतरा बढेको छ ।


प्रेमबहादुर भण्डारी