स्थानीयद्वारा रेडियो श्रीनगरमा तोडफोड गरेको व्यवस्थापनको आरोप

  ०७७ वैशाख ६ गते

अदानचुली गाउँपालिका–२ मा रहेको रेडिया श्रीनगरमा अदानचुली गाउँपालिकाका केही स्थानीयले वैशाख ३ गते तोडफोड गरेको रेडियो व्यवस्थापनले आरोप लगाएको छ ।

रेडियोमा कोही नभएको मौका पारी अदानचुली गाउँपालिका–२ श्रीनगरका २१ वर्षीय महेश महतारा, २५ वर्षीय सुवास भण्डारी, २३ वर्षीय जय महतारा र २८ वर्षीय देवीलाल महताराले तोडफोड गरेर क्षति पुर्‍याएको रेडीयो श्रीनगरका स्टेशन म्यानेजर कालिबहादुर थापाले आरोप लगाउनु भयो ।

उनीहरूले रेडियोमा राखिएका ब्याट्री फुटाएको, भर्‍याङ भाँचेको, तारहरू चुडालेको, छतका दाँतिहरू फालेर त्यहाँ राखिएका अन्य सामग्रीहरू समेत तोडफोड गरेको म्यानेजर थापाको आरोप छ ।

उहाँका अनुसार रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै कर्मचारी बाहिर रहेको अवस्थामा उनीहरूले इन्टरनेट नखोलेको भन्दै तोफोड गरेका हुन् ।

घटनाको थप छानविनका लागि रेडियो श्रीनगरले वैशाख ३ गते नै श्रीनगर प्रहरी चौकीमा उजुरी गरे लगत्तै आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान गरिरहेको सो प्रहरी चौकीका असई कृष्णबहादुर बुढाले बताउनु भएको छ ।


नन्द सिंह