स्थानीयद्वारा नगर प्रमुखमाथि आक्रमण, नगरपालिकाका कागजात नष्ट

  ०७५ साउन १ गते

बुङ्गल नगरपालिकाका नगर प्रमुख धनबहादुर विष्टमाथि स्थानीयले असार ३२ गते ढुङ्गामुढा गर्नुको साथै नगरपालिकामा रहेका महत्वपुर्ण कागजात नष्ट गरेका छन् । आक्रोशित स्थानीयले नगर प्रमुख बिष्टको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।

नगरपालिकाको कार्यालय वडा नम्बर–४ बाट वडा नम्बर–५ मा सार्ने नगर परिषदको निर्णयपछि वडा नम्बर–३ र ४ का स्थानीयहरू आक्रोशित भइ नगर प्रमुख र नगरपालिकाका कागजात नष्ट गरेको बुङ्गल नगरपालिकाका लेखा अधिकृत पूर्णबहादुर खड्काले बताए ।

स्थानीय बासिन्दाहरूले परिषदले गरेको निर्णय स्वीकार नभएको भन्दै कार्यालयमा रहेको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, कार्यपालिकाको निर्णय पुस्तिकालगायतका कागजात र कार्यालयमा भएका टेबल, कुर्सीसमेत तोडफोड गरेको प्रहरीले जनायो ।

नगर प्रमुख विष्टलाई बचाउने प्रयास गर्दा स्थानीयले प्रहार गरेको ढुङ्गाले बुङगल नगरपालिका–४ का सुरेश भण्डारीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते भण्डारीको बुङ्गल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दाको भनाइ छ ।


रमेश केसी