स्थगित मतदान सम्पन्न, महिला सहभागिता बढी

  ०७९ जेठ १ गते

कुटपिट र विवादपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको २ ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ ।

मतदानस्थल क्षेत्रको सुरक्षामा ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरियो । नेपाली सेनाको गाडीले समेत टाढाबाट गस्ती गरिरहेको छ । राजविराजबाट २० किलोमिटर दक्षिण–पश्चिम रहेको उक्त केन्द्रको पर्यवेक्षणका लागि इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान र इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेल निर्वाचन सम्पन्न भएसम्म अनुगमन गर्नुभयो । दलहरूबीचको सहमति पश्चात जेठ १ गते राति ९ बजेबाट मतगणना सुरु हुने निर्वाचन अधिकृत शम्भुनाथ मगरले बताउनु भयो ।

मतदान कार्यमा पुरुषको तुलनामा महिलाहरूको सहभागिता उल्लेख्य रहेको थियो । कुल ७५४ मतदाता रहेको मतदान केन्द्र ‘क’ मा ३३४ महिला र २५० पुरुष गरी ५८४ जनाले मतदान गरे । यस्तै कुल ८०३ मतदाता रहेको मतदान केन्द्र ‘ख’ मा ३१२ महिला र २६३ पुरुष गरी ५५४ जनाले मतदान गरेको निर्वाचन अधिकृत मगरले जानकारी दिनुभयो ।

दुबै मतदान केन्द्र गरी कुल ७८९ पुरुष र ७७० महिला गरी १ हजार ५५९ जना मतदाता रहेको उक्त मतदानस्थलमा ५१३ पुरुष र ६४६ महिला गरी जम्मा १ हजार १५९ जनाले मतदान गरेका छन् । मतदानका क्रममा इन्ताज अलीको परिचय पत्र लिएर मतदान गर्न आउने मुख्तार राइनलाई प्रहरीले नियन्त्रणमा लिई दलका प्रतिनिधीहरूको सहमतिमा निर्वाचन कार्य सकिएपछि रिहा गरिएको छ ।

डाक्नेश्वरी नगरपालिकामा २१ मतदानस्थलको ३७ मतदान केन्द्रमध्ये वैशाख ३० गते विवाद हुँदा वडा नम्बर–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । मतदान केन्द्र ‘क’ का अधिकृत विपिन यादवलाई वैशाख ३० गते स्थानीयवासीले कुटपिट गरी मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेपछि स्थगित भएको निर्वाचन सम्पन्न गर्न राजु शर्मालाई मतदान अधिकृत बनाइएको थियो ।

जम्मा १० वटा वडा रहेको नगरपालिकाको प्रमुखमा आठ जना र उपप्रमुखमा सात जना प्रतिस्पर्धामा उत्रिएका छन् ।


मनोहरकुमार पोखरेल