स्थगित भएका मतदान सम्पन्न, रोकिएका मतगणना सुचारु

  ०७९ जेठ १ गते

जुम्ला जिल्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटस्थित शंकर मावि मतदानस्थलमा जेठ १ गते शान्तिपूर्ण वातावरणमा पुनः मतदान सम्पन्न भएको इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले जनाउनु भएको छ ।

वैशाख ३० गते मतदान स्थलमा नेपाली काँग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान कार्य स्थगित भएको थियो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईका अनुसार १ हजार ७ मतमध्ये ८ सय ५९ मत खसेको छ । उहाँले भन्नुभयो शान्तिपूर्ण भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । यो मतदान स्थलमा ८५ प्रतिशत मत खसेको छ । गत वैशाख ३० गते सो मतदानस्थलमा झडप भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थगित गरी जेठ १ गते मतदान तोकेको थियो ।

बाक्लो सुरक्षाकर्मीसहित प्रमुख जिल्ला अधिकारी प्रसाईं, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टोलीका बीच मतदान भएको गुठीचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमले बताउनु भयो ।

उक्त मतदान स्थलमा राष्ट्रिय मानव अधिकार आयोग जुम्ला, इन्सेक, नेपाल पत्रकार महासंघ जुम्लालगायत पर्यवेक्षकहरूको उपस्थिति रहेको थियो ।

Jumla_Photo_2022-05-15Jumla_Photo_2022-05-15.

कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार कालिकोट जिल्लामा स्थगित भएका दुई मतदान केन्द्रमा जेठ १ गते पुन मतदान भएको छ । पुनः मतदान हुने मतदान केन्द्रमा रास्कोट नपा ४ स्यूनास्थित रमाल मस्टा आधारभूत विद्यालय र पचालझरना गाउँपालिका ३ को खार्दु जनता आधारभूत विद्यालय रहेका छन् ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा रोकिएको मतगणना जेठ १ गते सुचारु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडानं २ को मतपत्र गणना गर्ने क्रममा २ सय १३ मत गणना गरि २ सय १४ औ मत गणना गर्ने क्रममा निर्वाचन आयोगको मापदण्ड विपरितको पितलको स्वस्तिक छाप लगाइएको मतपत्र फेला परेपछि विवाद भई मतगणना कार्य वैशाख ३१ गते स्थगित भएको थियो । वडा नम्वर २ मा मतगणना भएका २ सय १४ मतपत्र नेकपा एमालेका उम्मेद्वारलाई एक छापे लगाइएको आशंकामा नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रका प्रतिनिधिहरुले विरोध गरेका थिए । वडा नं २ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुबहादुर केसीले निर्वाचन आयोगको रवरको छापले स्पष्ट रुपमा मसि नलागेपछि आफुले अलिकति ठूलो आकारको पितलको छाप मतपत्रमा लगाउन दिनु भएको निर्वाचन आयोगले जनाएको छ । नेपाली काँग्रेस नेकपा (माओवादी) केन्द्र र नेकपा एमालेका उम्मेद्वार र प्रतिनिधि राखेर छलफल गराउदा काँग्रेस र माओवादी केन्द्रको पुन मतदान गर्नु पर्ने अडान र नेकपा एमालेको मतगणना सुचारु गर्नुपर्ने अडानले सहमति जुट्न नसकेको अवस्थामा पाचौ पटक गरिएको छलफलबाट ठूलो आकारको पितलको छाप एउटा मात्र पार्टीको उम्मेद्वारमा लगाइएको र अन्यमा नलगाइएको पाइएमा ती मतपत्र बदर गरिने र सबै दलको चिन्ह्रमा प्रयोग गरिएको पाइएमा सदर गरिने सहमतिमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिनु भयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत