स्थगित निर्वाचन जेठ १ गते हुने

  ०७९ वैशाख ३१ गते

मतदान अधिकृतमाथि कुटपिट र मतपेटिका तोडफोडपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई ओटा मतदान केन्द्रको निर्वाचन जेठ १ गते हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितीमा मतदानस्थलमै वैशख ३० गते बसेको वैठकले स्थगित जनता मावि हरिराहाको दुई वटा मतदान केन्द्रमा जेठ १ गते विहान ७ बजेदेखि पुनः मतदान गर्ने निर्णय भएको हो ।

अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिन्हमा छाप लगाउनु पर्नेमा मतदान अधिकृत विपिन यादवले काँग्रेसको चुनाव चिन्हमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित भएको हो ।

मतदान केन्द्र ‘क’ का मतदान अधिकृत छिन्नमस्ता गाउँपालिका–७ हाटी घर भई हाल राजविराज नगरपालिका–५ बसोबास गर्दै आउनु भएका राजविराज नगरपालिका स्वास्थ्य शाखामा कार्यरत ३३ वर्षीय विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेर मतपत्र च्यातेका थिए ।

कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत शम्भुनाथ मगर, सप्तरीका डिएसपी माधवप्रसाद काफ्ले, सशस्त्र डिएसपी श्याम शर्मा पौडेल घटनास्थल पुगेर असहज परिस्थिती साम्य पारेका थिए ।

उनीहरुको उपस्थितीमा मतदानस्थलमै बसेको सर्वदलिय वैठकले कुटपिट र तोडफोड पछि स्थगित भएको मतदान कार्य जेठ १ गते गर्ने निर्णय गरेको हो । वैठकमा जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’ का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवको उपस्थिती रहेको थियो । यस्तै उक्त निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दलहरु नेकपा एमाले, काँग्रेस, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्रका उम्मेदवार सहभागी भएका थिए ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले उम्मेदवारका प्रतिनिधीहरुको निर्णयअनुसार नै आफूले अशक्त महिलाको मतदान गरेको र उहाँले औलाले देखाएकै रुख चिन्हमा छाप लगाएको जानकारी दिनु भयो । जम्मा १० वडा रहेको डाक्नेश्वरी नगरपालिकामा २१ मतदानस्थल र ३७ मतदान केन्द्र छन् ।


मनोहरकुमार पोखरेल