स्तनपान गराउने आमाको सङ्ख्या १० प्रतिशतले घट्यो

  ०८० फागुन १६ गते

नेपालमा पछिल्लो पाँच वर्षमा स्तनपान गराउने आमाहरूको सङ्ख्या १० प्रतिशतले घटेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउनेको आमाको सङ्ख्या ६१ प्रतिशत रहेको एचएमआइएसको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी स्तनपान गराउनेकोमा अर्घाखाँची जिल्ला रहेको छ । जसमा ९९ प्रतिशत आमाले स्तनपान गराउने गरेको र सबैभन्दा कम पाल्पामा ४१ प्रतिशत आमाले जन्मेको ६ महिनासम्म पूर्णस्तनपान गराउने गरेको तथ्यांक छ ।

यसैगरी, गुल्मीमा ९३ प्रतिशत, प्यूठानमा ७७ प्रतिशत, नवलपरासी पश्चिममा ७४ प्रतिशत, रोल्पामा ७३ प्रतिशत, बर्दियामा ५९ प्रतिशत, रुपन्देहीमा ६३ प्रतिशत, बाँकमो ५७ प्रतिशत, कपिलवस्तुमा ५४ प्रतिशत, दाङमा ५२ प्रतिशत र रुकुम पूर्व ४८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

नेपाल जनसाङख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार हाल नेपालमा ५६ प्रतिशत आमाहरूले मात्र पूर्ण स्तनपान गराउने गरेको पाइएको छ ।  यसअघिको सर्वेक्षणको तथ्यांक अनुसार ६६ प्रतिशत आमाले पूर्ण स्तनपान गराउँदै आएका थिए । पूर्ण स्तनपान गराउने महिलाको संख्या वर्षेनि घट्दै गइरहेको एनडिएचएसको अध्ययनले देखाएको छ ।

बिगत पाँचपाँच वर्षको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने सन् १९९६ मा ७५ प्रतिशत, २००१ मा ६८ प्रतिशत  २००६ मा ५३ प्रतिशत, २०११ मा ७० प्रतिशत र २०१६ मा ६६ प्रतिशत रहेकोमा सन् २०२२ मा ५६ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ ।

आमाले शिशुको आवश्यकता अनुसार २४ घण्टामा १० देखि १२ पटक स्तनपान गराउनु पर्दछ । आमाको दुधमा सम्पूर्ण पौष्टिक तत्वहरू हुने हुँदा जन्मिएदेखि कम्तीमा ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्दछ ।

आमाको दुधमा नै शिशुलाई पुग्ने पानीको मात्रा हुने भएकाले पानी पनि खुवाउनु पर्दैन । ६ महिना पूरा भएपछि बालबालिकालाई पूरक वा थप खानाको साथै कम्तीमा दुई वर्षसम्म आमाको दुध खुवाउनुपर्ने हुन्छ । सुत्केरी आमाले साविकभन्दा थप दुईपटक पोषिलो खाना खाएमा आमाको दुध निरन्तर आउने र आफू पनि स्वस्थ रहन सहयोग गर्छ ।

नेपालको सन्दर्भमा, तीनदेखि चार वर्षका झन्डै ४० प्रतिशत बच्चाको वृद्धि–विकास जति मात्रामा हुनपर्ने हो, त्यति नभएको पाइएको छ । बच्चाको बौद्धिकता विकासका निम्ति आमाको साक्षरता र स्तनपानले ठूलो भूमिका खेल्ने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

सन् २०१६ मा गरिएको एक अध्ययनका अनुसार ५५ प्रतिशत बच्चाले जन्मेको एक घन्टाभित्रै आमाको दूध खान पाएका छन् । त्यस्तै ६६ प्रतिशत बच्चाले मात्र ६ महिना हुँदासम्म आमाको दुध खान पाएका छन् । जबकि, सन् २०११ मा ६ महिनासम्म आमाको दुध मात्रै खाने बच्चा ७० प्रतिशत थिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर शकुन्तला गुप्ताका अनुसार धेरै आमाहरू शरीर बिग्रिन्छ कि भनेर दुध कम खुवाउने पनि गर्छन् । यो गलत धारणा हो ।

सामान्यतया, गर्भवती भएपछि शरीरमा बोसो जम्न थाल्छ । सुत्केरी अवस्थासम्म त झनै बढिसकेको हुन्छ । यो बोसो कम गर्ने प्रभावकारी उपाय नै स्तनपान गराउनु हो । स्तनपान गराउँदा शरीरमा जम्मा भएको बोसो पगालेर दूधमा परिणत भएर जान्छ । त्यसैले स्तनपानले मोटोपन कम गर्न सघाउँछ । स्तनपान गराउने आमाभन्दा नगराउनेहरू आमाहरूमा मोटोपनको समस्या बढी देखिएको अनुसन्धानहरूले पनि प्रमाणित गरिसकेका छन् ।

डा. गुप्ताका अनुसार स्तनपानले आमाहरूमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट पनि बचाइरहेको हुन्छ । त्यस कारण स्तनपान गराउँदा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृ तथा नवजात शिशु कार्यक्रम फोकल पर्सन कौशल भण्डारीले लुम्बिनी प्रदेशमा जन्मेदेखि ६ महिनासम्म स्तनपान गराउने आमाहरूलाई विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो ।


रीमा बिसी