स्क्रव टाइफस् परीक्षण किटको अभाव

  ०८१ भदौ २९ गते

जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रव टाइफस् रोगको परीक्षण गर्ने किटको अभाव भएको छ ।  जिल्ला अस्पतालमा एक सातायता परीक्षण किटको अभाव भएपछि बिरामीले सास्ती पाएका छन् । जिल्ला अस्पतालमा सातायता स्क्रव टाइफस् परीक्षण गर्ने किटको अभाव भएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।

जिल्ला अस्पतालमा ०८१ वैशाखयता स्क्रव टाइफस्का ३ सय ३२ जना बिरामी भेटिएका छन् । अस्पतालको भएको मौज्दात किट सकिएर अभाव भएसँगै स्त्रव टाइफस् रोगको परीक्षणका लागि बिरामी महङ्गो शुल्क तिरेर निजी स्वास्थ्य संस्था र क्लिनिकमा जान बाध्य भएका छन् ।

जिल्ला अस्पतालमा निशुल्क परीक्षण हुन स्क्रव टाइफस् निजी अस्पताल र क्लिनिकमा १ हजार रुपियाँ देखि १ हजार २ सय रुपियाँसम्म तिनुपर्ने बाध्यता छ ।

स्क्रव टाइफस् परीक्षण गर्ने किट कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा माग गरिए पनि अस्पतालाई प्राप्त नभएको सूचना अधिकारी खत्रीले बताउनु भयो । स्क्रव टाइफस् परीक्षण गर्ने किट कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा समेत सकिएपछि जिल्ला अस्पतालमा किट अभाव भएको सूचना अधिकारी खत्रीको भनाइ छ ।

अस्पतालले पटकपटक आग्रह गर्दा समेत कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले किट पठाउने विषयमा चासो नदिएको सूचना अधिकारी खत्रीको भनाइ छ ।

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा स्क्रव टाइफस् हुने चिकित्सकको भनाइ छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने हुन्छ ।

जिल्ला अस्पतालमा दैनिक रूपमा स्क्रव टाइफस् र डेङ्गी सङ्क्रमितका बिरामी बढ्दै गएका कारण बेड समेत अभाव हुन थालेको छ ।

स्क्रव टाइफस् र डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा बेड अभाव भएको हो । बेड अपुग हुन थालेपछि प्यासेज र हलमा राखेर बिरामीको उपचार गर्नुपर्ने परेको छ ।

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शैया सञ्चालनमा रहेको छ । जिल्लाका  १० ओटा स्थानीय तह र छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।

पाँचथर प्रतिनिधि इवारा जबेगु लिम्बूका अनुसार पहाडी जिल्ला पाँचथरमा स्क्रब टाइफस र डेङ्गुका बिरामी बढेका छन् । मौसमी ज्वरो, टाइफाइड र घाँटीको संक्रमण बढेसँगै जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेको छ । जिल्लामा स्क्रव टाइफस् देखिएको यो पहिलो पटक हो । पाँचथर जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नवीन रेग्मीका अनुसार गत वर्षसम्म जिल्लामा स्क्रव टाइफस्का बिरामी भेटिएका थिएनन् । यो वर्ष ०८१ साउन १ देखि भदौ २५ गतेसम्म ४४ जनामा स्क्रव टाइफस्को सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये अधिकांश उपचारपछि घर फर्केपनि चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै यो अवधिमा ३८ जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको पनि रेग्मीले बताउनु भयो । गत वर्ष जिल्लामा ८ सय ४५ जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको थियो । जिल्ला अस्पतालमा दैनिक २ सय हाराहारीमा बिरामी आउने गरेकोमा ४० भन्दा धेरैमा ज्वरोसँग सम्बन्धित समस्या देखिने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा डेंगीको संक्रमण बढेको छ । ०८१ भदौ मसान्तसम्ममा ५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी विनोद पोखरेलले २६ जना पुरुष र २८ जना महिला गरी ५४ जनामा संक्रमण पुष्टि भएको बताउनु भयो । संक्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पोखरेलले बताउनु भयो । संक्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको विभिन्न क्षेत्रमा लार्भा नष्ट र बिषादी छिड्काउ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेंगी परिक्षण र उपचार भइरहेको छ । डेंगी संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट बच्ने बारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले नागरिकलाई आग्रह गरेको छ । लामखुट्टेको टोकाई बाट बच्न घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पुरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ । डेंगी लागेको शंका लागेमा वा अत्याधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने लगायतका स्वास्थ्य समस्या भएमा तत्काल परिक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यायले आग्रह गरेको छ ।

Photo 20240913 Sangkhuwasabha (1)

Photo 20240913 Sangkhuwasabha (2)


भविन कार्की