सौता हत्या घटनाकी आरोपित गिरफ्तार

चक्रघट्टा गाउँपालिका–४ की २२ वर्षीया खुर्सिदा खातुनलाई कात्तिक २६ गते घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीया सौता कोरैसा खातुनलाई सोही दिन गिरफ्तार गरेको छ ।

शेख बलालकी जेठी पत्नी कोरैसा खातुनले पति विदेश गएको मौका छोपी सौता खुर्सिदा खातुनको हत्या गरेको आरोप छ ।

पराल काट्ने फलामको धारिलो हतियारले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदा खातुनको शव बरामद भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका असई सोनालाल साहले जानकारी दिए ।

हत्या गरी बाँधेर प्लाष्टिकको जेब्रा झोलामा हाली घरको आँगनमा शव रहेको भनी विशेष जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुन्दरपुरका असई साहको कमाण्डमा खटिएको चार जनाको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलमा पुगेपछि प्रहरीले मृतकको शव बरामद गरी आरोपित कोरैसा खातुन र हत्या गर्न प्रयोग गरेको हतियार नियन्त्रणमा लिएको जनाएको छ ।

कोरैसा र खुर्सिदा बिच पटकपटक घरायसी विवादका कारण झगडा हुने गरेको स्थानीयले जनाएका छन् ।

कोरैसा र खुर्सिदाका पति शेख बलाल ३–४ दिन अघि वैदेशिक रोजगारका लागि गएको छिमेकीहरूले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा कात्तिक २७ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठौरले बताए ।


बुधन साह