सेफ हाउस नहुँदा हिंसा पीडितलाई सुरक्षा दिन समस्या

जिल्लामा हिंसा पीडितहरूलाई राख्ने सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) नहुँदा पीडितहरूलाई समस्या भएको छ । सेफ हाउसको अभावमा बलात्कार घटनाबाट पीडित एक बालिकालाई भदौ ७ गते ओरेक नेपालको संरक्षणमा विराटनगर पठाउनुपरेको छ ।

सेफ हाउसको अभावमा एक महिनायता आफन्तको घरमा बसेकी पीडित बालिकालाई महिला अधिकार मञ्च आठराईको अगुवाईमा आवश्यक संरक्षणका लागि विराटनगरमा पठाइएको पीडित पक्षले जनाएको छ ।

बलात्कार घटनाबाट पीडित बालिका तर्सिने, डराउने गरेकाले गाउँमा राख्न उपयुक्त नदेखिएकाले तीन महिनाका लागि ओरेक नेपाल विराटनगरको संरक्षणमा पठाइएको स्थानीय महिला नेतृ सृजना लामा फोम्बोले बताइन् ।

सेफ हाउसकै अभावमा यसअघि बलात्कार घटनाबाट पीडित सुस्तमनस्थितीकी बालिकालाई महिला अधिकारकर्मीहरूको अगुवाईमा धनकुटास्थित महिला पुनःस्थापना केन्द्रमा पठाइएको राष्ट्रिय जेण्डर मास्टर प्रशिक्षक सञ्जाल नेपालका सदस्य टङ्कमाया तिगेलाले बताइन् ।

जिल्लामा सेफ हाउस नहुँदा पीडित महिला तथा बालबालिकाहरूलाई अनुनय –विनय गरेर जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको महिला अधिकारकर्मीहरूको भनाई छ । सेफ हाउस निर्माण गर्न इन्सेकसहित १५ बढी अधिकारवादी संघसस्थाहरूले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएपनि ठोस सफलता हात पार्न नसकिएको अधिकारकर्मीहरूको भनाई छ ।

अधिकारवादी सङ्घसंस्थाहरूले जिल्ला समन्वय समितिमार्फत ६ वटै स्थानीय तहहरू, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई माग पत्र पेश गरेको भएपनि उपलब्धि हासिल हुन सकेको छैन ।

सङ्घीय संरचना अनुसार जिल्लास्तरमा रहेको महिला तथा बालबालिका कार्यालयको अस्तित्व नरहेपछि पीडित महिला तथा बालबालिकाहरूको न्याय माग्ने ठाउँसमेत खोसिएको अधिकारकर्मीहरूको आरोप छ ।

सङ्घीय संरचना अनुसार असार मसान्तसँगै जिल्लास्थित महिला तथा बालबालिका कार्यालय बन्द भएपछि अलपत्र अवस्थामा परेका, हिंसामा परेका महिलाहरूको सुरक्षा र आश्रयका लागि सेफ हाउसको आवश्यकता औल्याउँदै माग पत्र पेश गरेको महिला मानव अधिकार रक्षक सञ्जाल तेहृथुमकी गङ्गा चोङबाङले बताइन् ।

माग पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुङ्गनाले सबै स्थानीय तहसँग समन्वय गरेर सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) को स्थापना गर्नका लागि पहल पर्ने प्रतिबद्धता जनाएका छन् ।


भगिश्वर लिम्बू