सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले यसअघि पनि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्ने स्वीकृति दिएकी थिइन् । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै सेनासमेत परिचालन गरेर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्धेश्य रहेको सरकारले जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरूलाई एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधानमन्त्रीले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष भदौ ५ गते स्वीकृतिका लागि सिफारिस गरेका थिए ।


सुभाष साह