मैना सुनारको आफन्त र अधिकारकर्मीद्वारा न्याय माग

बलात्कारपछि हत्या गरिएकी काभ्रेकी १६ वर्षीया बालिका मैना सुनारको परिवार र अधिकारकर्मीहरुले न्यायको लागि अपिल गरेका छन् । न्यायो लडाईमा नेपाली सेनाले अवरोध गरिरहेको र त्यसलाई सरकारले साथ दिईरहेको गुनासो गर्दै न्याय माग गरिएकाे हाे ।
मैनालाई गिरफ्तारपछि हत्या गरिएको १६ वर्ष पुगेको दिन फागुन ५ गते सुनार परिवार र एड्भाेकेसी फोरमले सयुक्त रुपमा विज्ञप्ति प्रकाशत गर्दै न्यायकाे माग गरेकाे हाे ।  मैनाकी आमा देवी सुनारले आराेपित सैनिक अधिकारीहरूलाई कारबाही गर्न अदालतले दिएको आदेशको पालना नभएकोले आफुहरूले छोरीको अन्तिम संस्कार समेत गर्न नपाएको बताउनु भएको छ ।

देवीले पाँचखाल स्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा कार्यरत कर्णेल बबि खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी अमित पुनलाई काभ्रे जिल्ला अदालतले दोषि ठहर गर्दै कारबाही गर्न आदेश दिएपनि सेनाले अपराधीहरूलाई जोगाउने कार्य गरिरहेको बताउनु भयो । ‘कम्तीमा तीन अपराधीहरूलाई कारागारमा राखिएला र मैले छोरीको अन्तिम संस्कार गर्न पाउँला भन्ने आशा गरिरहेकी थिएँ, तर नेपाली सेनाले न्यायमा अवरोध गरिरहेको छ,सरकारले पनि यस्तो अवराेध साथ दिईरहेको छ’ मैनाकी आमा देवीले भन्नुभयो । ‘मेरी छोरीले भोगिरहेको भयाबह नियतिको पुनरावृत्ति संयुक्त राष्ट्र सङ्घको विभाग रहेका अन्य मुलुकमा हुदैन कुराको सुनिश्चितता विभागले कसरी गर्छ होला ?’ उहाँले भन्नुभयो ।
विज्ञप्ति मार्फत एड्भोकेसी फोरम नेपालका निर्देशक ओम प्रकाश सेन ठकुरीले सत्य निरुपण आयोगहरूको कार्यदेश अदालतको भन्दा भिन्न हुने र गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेकाहरू उपर अनुसन्धान, अभियोजन र कारबाही गर्ने दायित्व राज्यको भएको बताउनु भएको छ । उहाँले सेनाले रिट दायर गरेर न्यायमा अवरोध गरिरहेको र न्याय नै नदिने नियोजित प्रयास गरिरहेको दावि गर्नु भएको छ । ‘यस मुद्दाको सुनुवाई विगत दुई वर्षदेखि निरन्तर सारिदै आएको कारणले पीडितलाई थप पीडा दिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
पीडित परिवार तथा अधिकारवादीहरूले मैना सुनार हत्यामा संलग्न सैनिक अधिकारीलाई  तत्काल गिरफ्तार गरेर कारवाहि नभएसम्म शान्ति कार्य तालिम केन्द्रलाई कुनैपनि सहयोग नदिन राष्ट्र सङ्घलाई आग्रह गरेका छन् । काभ्रे जिल्ला खरेलथाेककी सुनारलाई ०६० फागुन ५ गते सेनाले घरबाटै गिरफ्तार गरी पाँचखाल व्यारेकमा चर्को यातना दिएर हत्या गरेका थिए ।


बिमला पौडेल