सृङ्खलावद्ध हत्या घटनाका आरोपित गिरफ्तार

 

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर गाविस-७ बस्दै आएका मो.मस्तकिम भन्ने मो. रइस मियाँलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ ।

लुकिछिपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका आरोपितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट ०७६५६६४३ नम्बरको राहदानीसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकालले राजविराजमा भदौ २० गते आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बलात्कारपछि हत्या गरी गाडिएको अवस्थामा सप्तरीको टिकुलिया गाविस-९ घर भई पटेर्वा-१ बस्ने सगिरा खातुनको कङ्काल प्रहरीले कल्याणपुर गाविस-३ भदैयाबाट ०७२ असार ४ गते फेला पारेको थियो ।

सोही स्थानको १५ मिटरको दुरीमा त्यसअघि ०७२ जेठ ६ गते सप्तरी प्रहरीले उनका ससुरा सबुद मियाँको कङ्काल उत्खनन् गरी निकालेको थियो । आरोपितहरूले सुरुमा सबुदको हत्या गरी गाडेपछि सगिराको केही दिन यौन शोषण गरेर हत्या गरी लाश गाडिएको प्रहरीले जनाएको छ ।

ससुरा-बुहारीको हत्यामा संलग्न रहेकी सप्तरीको जण्डौल गाविस-८ की गोरहनिया भनिने दुलारीदेवी मुखिया साहको कङ्कालसमेत प्रहरीले ०७२ वैशाख २७ गते जण्डौल गाविस-८ बाट फेला पारेको थियो । ससुरा-बुहारी ०६९ असोज १० गतेदेखि बेपत्ता थिए भने दुलारी ०७० मङ्सिरको अन्तिम सातादेखि हराएकी थिइन् ।

सोही समूहबाट हत्या गरिएका जण्डौल गाविसका ५० वर्षीय इद्रिस नट मियाँ, उनकी ४५ वर्षीया पत्नी जैतुन खातुन र १७ वर्षीया छोरी सेरुन खातुनको कङ्काल ०७१ फागुन २ गते सुनसरीको इनरुवा-७ स्थित सियाराम यादवको घरबाट फेला परेको थियो । उनीहरू २०७० सालको पुसदेखि हराएका थिए ।

यही समूहले सप्तरीको मल्हनियाँ गाविस-६ का आरुल मियाँ र पाण्डव पासवानको ०६४ वैशाख २६ गते, सप्तरीको जण्डौल गाविस-८ का डम्बरप्रसाद भट्टराई र उनकी पत्नी कौशिला भट्टराईको ०६९ पुस १६ गते राति र सप्तरीको त्रिकोल गाविस-५ की निर्मला साहको ०७० चैत १ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

एउटै उपाय अपनाई बलात्कार र हत्यापछि घटनास्थलमै गाडिएका कङ्कालहरू तत्कालीन एसपी शिशिर कर्माचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद मात्र गरेन, एउटै समूहबाट सृङ्खलावद्ध हत्याकाण्ड भएको पत्ता लगाउनुका साथै सो समूहका सात जनालाई गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दासमेत चलाएको थियो ।

सो समूहले पैसाका लागि एउटै उपाय अपनाई महिलाको बलात्कार र हत्या गरेपछि घटनास्थलमै गाडेको प्रहरी अनुसन्धानबाट खुलेको तत्कालीन इन्स्पेक्टर छेदीलाल कामतीले जानकारी दिए ।

'अपरेशन सेरा किलो' नाम दिएर गरिएको सो अनुसन्धानले एउटै समूहबाट सप्तरीमा भएका तीनजनाको हत्या गरी गाडिएको घटनाको खोजी र अनुसन्धान कार्य सफलतापूर्वक सम्पन्न गरेको तत्कालीन डिएसपी नारायण प्रसाद चिमरियाले स्मरण गरे ।

उक्त हत्याका मुख्य आरोपित मियाँ गिरफ्तार भएपनि मुख्य योजनाकार टिकुलिया गाविस-६ घर भई कुशहा गाविस-६ बस्ने सकिल हुसेन मियाँ र पटेर्वा गाविस-५ का गुलजार मियाँ हाल नेपाल बाहिर रहेकाले गिरफ्तार गर्न नसकिएको बताउँदै डिएसपी दानबहादुर कार्कीले उनीहरूलाई समेत गिरफ्तार गरी कारबाही गरिने बताए ।


मनोहरकुमार पोखरेल