सुशासन र मानव अधिकारका लागि स्वच्छ निर्वाचनः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासन र मानव अधिकारका लागि स्वच्छ निर्वाचनको आवश्यकतामा जोड दिएका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा घोराहीमा जेठ १६ गते आयोजित मानव अधिकार र निर्वाचन विषयक कार्यक्रममा बोल्दै प्याकुरेलले देशमा सुशासन र मानव अधिकारको प्रत्याभूतिका लागि नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने बताएका हुन् ।

Photo20170530Dang

लामो समयदेखि स्थानीय स्तरमा जनप्रतिनिधि नहुँदा नागरिकले भ्रष्टाचार, अनियमिततालगायतका थुप्रै समस्या झेल्नु परेको उल्लेख गर्दै २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनले सुशासन प्रदान गर्ने अध्यक्ष प्याकुरेलको भनाइ छ ।

Photo20170530Dang1

'यो निर्वाचन हिजोको स्थानीय निकायको निर्वाचन होइन ।'-अध्यक्ष प्याकुरेलले भने-'यो सही नेतृत्व स्थापित गर्ने निर्वाचन पनि हो । नागरिकका दैनिक आउने समस्या समाधान गर्ने निर्वाचन पनि हो ।' अध्यक्ष प्याकुरेलले स्थानीय सरकार र न्यायिक समितिसहितको स्थानीय तहले नागरिकका आधारभूत अधिकारको प्रत्याभूति गराउने बताए ।

सिंहदरवारको कारिन्दाका रूपमा स्थापित पुरानो संरचना हटाएर ल्याइएको स्थानीय तहले आवश्यक स्थानीय कानुनसमेत बनाउन सक्ने र त्यसले नागरिकका अधिकारलाई स्थापित गर्ने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलको भनाइ छ ।

Photo20170530Dang2

उनले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विकास निर्माणका काम स्थानीय तहबाटै हुने भएकाले त्यस्तो निकायमा जाने प्रतिनिधि छान्ने काम भयरहित वातावरणमा स्वच्छ रूपमा हुनुपर्ने बताए । स्वच्छ र निर्भयका साथ प्रतिनिधि चुन्ने हो भने त्यसले सही नेतृत्व स्थापित गर्ने भन्दै अध्यक्ष प्याकुरेलले योग्य, दक्ष र इमान्दार एवम् नैतिकवान नेतृत्वले मात्रै मानव अधिकारको प्रत्याभूति गराउन सक्नेमा जोड दिए ।

त्यसका लागि मतदाता सचेतनामा समेत उनले जोड दिए । प्राविधिक रूपमा मतदातालाई प्रशिक्षण नगर्दा बदर मतको सङ्ख्या बढ्ने भन्दै त्यसले नागरिक अधिकारमा आघात पुग्ने बताए । अध्यक्ष प्याकुरेलले स्थानीय निर्वाचन संविधान कार्यान्वयनको पनि आधार भन्दै स्थानीय तहमा ४२ प्रतिशत महिला नेतृत्व स्थापित हुन लागेको बताए ।

Photo20170530Dang3

सो अवसरमा बोल्दै स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सदस्य संस्था नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय अध्यक्ष इन्द्र अर्यालले स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निर्भयका साथ सम्पन्न गर्न दलीय सहयोग आवश्यक रहेको बताए ।

उनले लोकतन्त्रलाई संस्थागत गर्ने काम निर्वाचनले गर्ने भन्दै अर्यालले सामूहिक विधिमार्फत चल्ने वातावरण निर्माणमा राजनीतिक दल, आम नागरिक एक ठाउँमा आउनुपर्ने बताए ।

Photo20170530Dang4

कार्यक्रममा पूर्व सासंद नारायणप्रसाद शर्माले सुशासन र स्वाधिनताको रक्षा गर्न निर्वाचनलाई स्वच्छ बनाउनुपर्नेमा जोड दिए । स्वाधिनताको रक्षा आजको आवश्यकता भन्दै उनले त्यसका लागि जनताको चाहना अनुरूपको उम्मेदवार चुन्ने वातावरण निर्माणमा जोड दिए ।

निर्वाचनलाई स्वच्छ बनाउने प्रतिवद्धता

यसैबीच कार्यक्रममा बोल्दै दाङमा क्रियाशील दलहरूले स्थानीय तह निर्वाचनलाई स्वच्छ, शान्त र निष्पक्ष रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली काङ्ग्रेसका बमबहादुर डिसी, नेकपा माओवादी केन्द्रका पुनम शेर्पाली, राप्रपाका नरेशजङ्ग राणा, राजमोका रेशम विसी र फोरम लोकतान्त्रिकका कुलबहादुर घर्तीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन दलहरूले खेल्ने भूमिकामा कञ्जुस्याईँ नहुने प्रतिबद्धता जनाएका हुन ।

मुख्य निर्वाचन अधिकृतसँग छलफल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका अभियानकर्ता सुबोधराज प्याकुरेल, इन्द्र अर्याल, इन्सेकका क्षेत्रीय संयोजक भोला महतलगायतको टोलीले दाङमा निर्वाचनको पूर्व तयारीका विषयमा मुख्य निर्वाचन अधिकृत चुरामन खड्कासँग छलफल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा भएको भेटघाटका क्रममा जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत खड्काले दाङमा कुनै पनि समस्या नरहेको र जिल्लाका १० ओटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिसकेको जानकारी दिएका छन् ।

सो अवसरमा इन्सेकका अध्यक्ष प्याकुरेलले निर्वाचनलाई स्वच्छ बनाउन दक्ष कर्मचारी, प्राविधिक दुरूस्तता र एकद्वार प्रणालीका आधारमा सूचनाको आदानप्रदान गर्न सुझाव दिएका थिए ।


जेएन सागर