‘सुरक्षित सुत्केरी गराउन घण्टौं हिड्नुपर्छ’

  ०७८ कात्तिक ३० गते

बारेकोट गाउँपालिका–३ मुल्सामका महिला अहिले पनि सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर छन् । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका महिलाहरू सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर रहँदै आएका हुन् ।

सम्पन्न परिवारले सुत्केरी गराउन एक महिना पहिले खलङ्गा, सुर्खेत र नेपालगञ्ज लिने गरेका छन् । विपन्न परिवारहरू भने गाउँमै सुत्केरी गराउन बाध्य छन् । यद्यपी गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकी तीन, आधारभुत स्वास्थ्य केन्द्र पाँच र सामुदायिक स्वास्थ्य इकाई दुईओटा गरेर ११ वटा स्वास्थ्य संस्था रहेका छन् ।

गत पुस ५ गते धनविर नेपालीको श्रीमती सुनीता विकलाई सुत्केरी वेथा लागेपछि चार घण्टा हिडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा लिने क्रममा बाटोमै छोरीको जन्म भयो । श्रीमती र बच्चा सम्हाल्न निकै समस्या भएको भन्दै धनबिरले भन्नुभयो, ‘श्रीमती बाटोमा सुत्केरी भइन्, यदि समस्या भएको भए आमा बच्चाको ज्यान जान सक्थ्यो ।’ उहाँका अनुसार अहिले आमा र बच्चाको अवस्था ठिक छ । ‘गाउँमा अस्पताल छैन, भएको स्वास्थ्य चौकीमा पनि सुरक्षित उपचार हुँदैन्, यहाँका धेरै महिलाहरू मृत्युको मुखमा छन्’ धनबिरले थप्नुभयो ।

घरदेखी स्वास्थ्य चौकी टाढा भएकाले नियमित रूपमा स्वास्थ्य चौकीमा गएर जाँच गराउन समस्या रहेको बारेकोट छुतिपाल्तीकी गर्भवती सुशिला मल्लले बताउनुभयो । ‘स्वास्थ्य चौकीमा गएर जाँच गर्न पाए त राम्रो हुन्थ्यो तर, टाढा भएकोले आफै जान सकिदैन । अरूलाई सँधै भन्न पनि गाह्रो हुँदो रहेछ’ उहाँले दुःखेसो पोख्नुभयो । कात्तिक २७ गते सकि नसकि स्वास्थ्य चौकी सेपु खोला गएकोमा स्वास्थ्य चौकीले सुरक्षित सुत्केरी बनाउन नसकिने भन्दै प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा रिफर गरेको र अहिले आफू दल्लीमा रहेको मल्लले सुनाउनुभयो ।

सोही गाउँकी २० वर्षीया कविता नेपालीलाई पनि गाउँका युवाले गत असोज ५ गते स्टेचरमा तीन घण्टा हिडेर स्वास्थ्य चौकी पुर्‍याए । एक रातपछि छोराको जन्म दिइन भोलीपल्ट पुनः स्टेचरमै गाउँमा ल्याए । सुनीता, सुशीला र कविता उदाहरण मात्र हुन् ।

गाउँका एक सय १९ घरधुरीका नागरिकहरू वर्षौंदेखि स्वास्थ्यको समस्या झेल्दै आएका छन् । सुरक्षित सुत्केरी गराउनेदेखि समान्य सिटामोल किन्न पनि घण्टौँ हिड्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश पहाडीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘गाउँमा अस्पताल छैनन्, एउटा किल्निक मात्रै छ, उपचार पाउन गाह्रो हुन्छ ।’

गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाबाट सकेसम्मको सेवा दिने प्रयास भैरहेको र सुरक्षित सुत्केरी गराउका लागि गाउँपालिकामा ४ वटा बर्थिङ सेन्टर रहेको बारेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भिमराज सिंहले बताउनुभयो । सबै गर्भवती महिलाको लागि दुरीको हिसाबले सहज पहुँच नभएको कुरा यथार्त भएको भन्दै हाल भएकै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भैरहेको उहाँको भनाइ छ ।

बारेकोट गाउँपालिका–३ भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षा, यातायात लगायतका क्षेत्रमा पछि नै रहेको वडाध्यक्ष मनबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा अस्पताल निर्माणका लागि पहल भइरहेको र महिलाहरूमा अहिले पनि घरमै सुत्केरी हुने परम्पराको अन्त्य नभएको बताउनुभयो ।

आर्थिक वर्ष ०७७/०७८ मा २७ भन्दा बढी महिला घरमै असुरक्षित रूपमा सुत्केरी भएको बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै सुत्केरी हुने क्रममा एकजना महिलाको घरमै र एकजनाको स्वास्थ्य संस्थामा मृत्यु भएको छ । महिलामा सुरक्षित रूपमा सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा जानु पर्छ भन्ने चेतनाको कमि भएको कारण र स्वास्थ्य संस्था टाढा भएकोले यस्तो समस्या भइरहेको स्वास्थ्य शाखा प्रमुख सिंहको भनाइ छ ।

सिंहका अनुसार गाउँमा ३६ जना महिला स्वास्थ्य स्वयम् सेविका रहेका छन् । तैपनि गर्भवती हुँदा नियमित जाँच र सुत्केरी हुन स्वास्थ्य संस्थामा जानु पर्छ भन्ने सचेतना अभिबृद्घी गराउन नसकिएको सिँहले बताउनुभयो । भौगोलिक विकटता, अशिक्षा, गरीवि र पछौटेपनका कारण यहाँका महिलाहरूको अवस्था निकै नाजुक बनिरहेको पनि उहाँले बताउनुभयो ।

मुल्साम, पछेउरी, रूमसिल, धुमा, ताँसी लगायतका महिलाहरू भौगोलिक विकटताका कारण अस्पतालसम्म नपुगेर अकालमा ज्यान गुमाउन बाध्य भएको स्थानीय धनजित नेपालीले बताउनु भयो । स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी हुँदा सरसफाईका सामग्री, नुन तेल तथा नगद ६ हजार र सुत्केरी मात्र भएकालाई नगद ६ हजार दिने गरेको गाउँपालिकाले जनाएको छ ।


दिनेशकुमार श्रेष्ठ