सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

  ०७८ भदौ २८ गते

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा–११ खार्मीमा लक्षित वर्गलाई छोडेर मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राईले बताउनु भएको छ ।

वडाध्यक्ष राईले दिएको जानकारी अनुसार लगतमा हुँदै नभएका व्यक्ति, टिनको छाना भएका घरधनी र बसाइँ सरी गएकाहरूलाई लाभग्राहीको रूपमा छनौट गरिएको पाइएको छ । वडाले २६ जना लाभग्राहीको मात्र नाम सिफारिस गरेको तर सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिले ३५ जनाको नाम छनोट गरेको वडाध्यक्ष मुगाधन राईको भनाइ छ ।

वडाध्यक्ष राईका अनुसार हुदै नभएका खइबहादुर राई, बसाइँ सरेका तुलसी गिरीलगायतका नाम समावेश गरेर लाभग्राहीको सूची पठाइएको छ । वडाले सिफारिस गरेको लाभग्राहीको नाम सूचीमै नभएको व्यक्तिको नाम उल्लेख भएकाले आफू दोधारमा परेको वडाध्यक्ष राईले बताउनु भएको छ । ‘हाम्रो वडामा हुदै नभएको व्यक्ति, बसाइ सरी गएका, टिनका छाना भएका घरधनीहरूलाई लाभग्राही बनाइएको छ’ वडाध्यक्ष राईले भन्नुभयो, ‘ यो मापदण्ड विपरीत छ ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा पनि मापदण्ड विपरित लाभग्राहीको सूची तयार गरि सिफारिस गरिएको छ ।

काल्पनिक व्यक्तिलाई लाभग्राही बनाइएको वडाध्यक्ष रामचन्द्र राईले बताउनु भयो। वडाध्यक्ष राईले भन्नुभयो–लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठलाई लाभग्राही बनाइएको भएपनि उहाँको नाम, थर र वतन कहीँकतै खुल्दैन, उहाँ हुँदै हुनुहुन्न । ललितबहादुर श्रेष्ठ भन्ने व्यक्ति खार्मीमा नभएको र उनको नाम वडाले सिफारिस गरेको सूचनामा समेत नभएको वडाध्यक्ष राईको भनाइ छ ।

खार्मीमा १ सय ९६ ओटा फुसको छाना भएका घरधनीको नाम पठाएकोमा जिल्ला समन्वय समितिले २९ जनाको मात्र छनोट गरेर पठाएको वडाध्यक्ष राईले बताउनु भयो  ।

सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समिति संयोजक विशाल भट्टराईले सो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनु भयो ।

सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समिति सदस्य तथा नगरपालिकाका प्रमुख दीपनारायण रिजालले प्राविधिकले घरधुरी सर्वेक्षण गरेर ल्याएको आधारमा निर्णय गरि सिफारिस गरिएको बताउनु भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम जिल्ला समन्वय समितिमा प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख सदस्य, सहरी विकास डिभिजन प्रमुख सदस्य र सम्बन्धित स्थानीय तहका प्रमुख सदस्य सदस्य रहने प्रावधान छ ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि,२०७५ ले लाभग्राही बस्दै आएको घरको छाना पराल, खर, स्याउला, आसवसेटस, विटुमिन ड्रम वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुन सक्ने अन्य सामग्रीबाट छाएको, गरिबीको रेखामुनी रहेका, आँफैले आवास निर्माण गर्न चाहेको तथा निर्माण गरिरहेको घरपरिवार, जग्गाधनी प्रमाण पूर्जा वा घर जग्गाको तिरो वा शुल्क बुझाएको प्रमाण वा बिजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको प्रमाण, विगतदेखि सो स्थानमा स्थायी बसोवास गर्दै आएको प्रमाण, प्रकोपका कारण घरबारविहीन भएको हकमा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस, गरीबीको रेखामुनि रहेका लाभग्राहीको सम्बन्धमा सम्बन्धित स्थानीय तहको सिफारिसलाई मात्र लाभग्राहीको रूपमा छनौट गर्न सकिने व्यवस्था गरेको छ ।

नेपालको संविधानले धारा ३७ मा आवासको हकलाई मौलिक हकका रूपमा समेत व्यवस्था गरेको छ ।

Photo 20211309 Khotang


तारानाथ फुयल