सुरक्षा निकाय नै असुरक्षित भवनबाट सेवा दिन बाध्य

नागरिकलाई सुरक्षा दिनुपर्ने निकाय नै असुरक्षित भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको छ ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका– ५ धौवादीमा रहेको इलाका प्रहरी कार्यालय भवन २० वर्षदेखि भाडाको जीर्ण भवनमा सञ्चालन भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा झेल्दै आइरहेका छन् ।

मासिक ४ हजार २ सय ३५ रुपियाँ भाडा तिरिरहेको कार्यालयमा बिजुली, पानी, शौचालय जस्ता अत्यावश्यकीय सुविधा समेत नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नरहरी रेग्मीले बताउनुभयो । सामान्य घटनामा २४ घण्टा नियन्त्रणमा राख्नुपर्ने थुनुवालाई राख्ने ठाउँसमेत कार्यालयसँग छैन ।

१७ जनाको दरबन्दी रहेको प्रहरी कार्यालयमा थुनुवा कक्ष मात्रै होइन सामान्य आधारभूत सुविधा पनि छैन, प्रहरी कर्मचारी र थुनुवाले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो । सोलारले काम नगर्दा अन्धकार हुने खानेपानीको समस्या, कार्यालय, भान्छा कोठा, सुत्ने कोठा एकै ठाउँबाट चलाउनुपर्ने बाध्यता  रहेको उहाँले बताउनुभयो ।

प्रहरी कार्यालयको छानाबाट हिउँदमा शीतसमेत चुहिने भएपछि त्रिपाल हालेर छोपिएको छ । शान्तिसुरक्षा दिने प्रहरी नै भौतिक संरचनाका दृष्टिले असुरक्षित रहेको र प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा असर परेको प्रहरी उपरिक्षक रेग्मीको भनाई छ ।

२०५८ सालमा एक प्रहरी सहायक निरिक्षकको ज्यान जाने गरी तत्कालिन नेकपा माओवादीको आक्रमणको निसानामा परेको कार्यालय पाँच वर्ष बन्द भएर २०६३ पुष ३० गने पुनःस्थापना भएको थियो । त्यसयता कार्यालय भाडाको टिनको टहराबाट सञ्चालन भइरहेको हो । तत्कालिन प्रहरी महानिरिक्षक खड्गजित बरालले २०३२ सालमा कार्यालयको स्थापना गर्नुभएको थियो ।

photo 080-12-24 nawalpur


ज्ञानु पंगेनी