सुबिधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुबिधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्देश्यले सर्केगाडमा स्थापना गरिएको इलाका स्तरीय खाद्य संस्थानबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

लोसार (भुवा) पर्वलाई मध्यनजर गरी पुस ९ गते सर्केगाड इलाका खाद्य कार्यालयमा वितरण गरेको ३० किलो चामलको संस्थानले १ हजार ५० रुपियाँ लिनुपर्नेमा १ हजार ७० रुपियाँ तिर्नु परेको सर्कीदेउ गाविस-४ का स्थानीयबासी टुक कार्कीले गुनासो गरे ।

सडक र सवारी साधन नपुगेको विकट जिल्लामा जहाजले तोकिएको कोटाको चामल उपलव्ध गराउन सकेको छैन । आर्थिक अवस्था कमजोर रहेका हुम्लाका जनतासँग प्रति बोरा २० रुपियाँ बढी लिने गरेको रोडीकोट गाविस-२ का स्थानीयबासी चक्रबहादुर शाहीले गुनासो गरे ।

खाद्य संस्थान सर्केगाडका प्रमुख प्रकाश हमालले बोराको २० रुपियाँ बढी लिएको स्वीकार गरे । सदरमुकाम सिमकोटका खाद्य संस्थान शाखा कार्यालयका प्रमुख नारायण सिंह केसीले आफूले ३० किलो चामलको १ हजार ५० रुपियाँ लिएको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेका अनुसार सर्केगाडमा पनि ३० किलो चामलको १ हजार ५० रुपियाँ लिनु पर्ने हो के भएको रहेछ छानबिन गरी अनियमितता भएको भए आवश्यक कारबाही गर्ने आश्वासन दिए ।


नन्द सिंह