सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

  २५ जेठ २०८१

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभाबाट ०८१ जेठ २४ गते पारित गरिएको नीति तथा कार्यक्रममा मानव अधिकारका सवालहरु पनि  प्राथमिकतामा परेका छन् ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा मानव अधिकारको सम्मान, संरक्षण र प्रबर्धनका लागि मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्य योजना कार्यान्वयन तथा छुवाछुत तथा भेदभाव, सामाजिक कुरीति, यौन तथा घरेलु हिंसा, मानव बेचबिखन, मानव अधिकार हनन् र विद्युतिय अपराध विरुद्ध सचेतना कार्यक्रमहरु समावेश गरिएका छन् ।

नीति तथा कार्यक्रममा सिमान्तकृत तथा पछाडि पारिएका बर्गका बालबालिकालाई शिक्षाको पुहँचमा ल्याउनका लागि मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत बादी उत्थान छात्रवृति कार्यक्रम, गरिब, विपन्न, सहिद तथा बेपत्ता परिवार, अपाङ्गता, दलित, मुक्त मकैया तथा कम्लहरी, मुक्त हलिया र सिमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा तथा चिकित्सा शिक्षातर्फको एमबिबिएस र एमडी अध्ययन गर्न छात्रबृत्ति प्रदान गरिने उल्लेख गरिएको छ ।

यसैगरी मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पतालमा सेवा सुविधा विस्तार गरिने र सेती प्रादेशिक अस्पतालमा वर्न यूनिट सेवा विस्तार गरी आधुनिक निदान पद्धतीमार्फत सेवा प्रदान गरिने, गाउँपालिका तथा नगरपालिकास्तरीय अस्पताललाई प्रदेश अस्पतालमा स्तरोउन्नती गर्न स्थानीय तहसँग समन्वय गर्ने र महिलाहरुको प्रजनन् स्वास्थ्यलाई विशेष प्राथमिकतामाराखि मातृ तथा बाल स्वास्थ्य सेवालाई सुदृढ बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘स्वास्थ्य सुरक्षाका लागि बिमा’ तथा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारा सहितको स्वस्थ्य कार्यक्रम, कृषी आत्मनिर्भर सुदूरपश्चिमको अभियान भनने नारा सहित पाँच वर्ष भित्रमा पशुपालन र बजारीकरण अन्तर्गत खाद्यान्न, मासु, अण्डा लगायतमा आत्मनिर्भर बन्ने लक्ष्य लिएकोे नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


मैनामोती चौधरी