सुत्केरीले कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित

  ०७९ असार २८ गते

सिमकोट गाउँपालिकाको वडा नम्वर १ देखि ८ सम्मका करिब १ सय ५ जना सुत्केरीले कर्णाली प्रदेशले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बन्चित भएका छन् ।

स्वास्थ्य संस्थामा सुत्केरी भए बापत कर्णाली प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई २ हजार रुपियाँका दरले उक्त प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउँदै आएको छ ।

तर सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरी भएकाको सङ्ख्या बढी र प्रदेश सरकारले छुट्याएको रकम कम भएका कारण यहाँका करिब १ सय ५ जना सुत्केरी महिला सो भत्ता पाउनबाट बन्चित भएका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशबाट उपलव्ध गराउँदै आएको सो भत्ता आर्थिक वर्षको अन्तिमसम्म पनि नपाउँदा सिमकोट गाउँपालिकाका करिव १ सय ५ जना महिला सो भत्ता पाउनबाट बन्चित भएका छन् ।

सुत्केरी महिलाका लागि प्रदेशले पोषण प्याकेज भत्ता भन्दै प्रति व्यक्ति २ हजार रुपियाँ छुट्याउने गरेको भए पनि सिमकोटका सुत्केरी महिलाहरूले यस आर्थिक वर्षको अन्त्यसम्म नपाएको स्थानीय गीता परियारले गुनासो गर्नु भयो ।

उहाँका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी भए वापतको ३ हजार सङ्घीय सरकारको ससर्त अनुदानमार्फतको रकम उपलव्ध भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्याएको रकम नपाउनु दुखद रहेको गीताले बताउनु भएको छ ।

यस भन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने भएको र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेकाले स्वास्थ्यकर्मी आफै अन्यौलमा परेका छन् ।

उक्त भत्ताको विषयमा सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले असार २० गते ९२ हजार रुपियाँ निकासी भएको थियो तर त्यो प्रयाप्त नभएपछि आफुले पुनः बजेटको माग गर्दा प्रदेशबाट नै स्वीकृत नभएपछि उक्त समस्या आएको बताउनु भयो ।

त्यस्तै जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले प्रदेशबाट उपलब्ध हुने सुत्केरी प्रोत्साहन भत्ता गाउँपालिकामार्फत वितरण हुने विषयमा विभिन्न समयमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूलाई जानकारी गराइसकेको बताउनु भयो ।

अन्य गाउँपालिका भन्दा सिमकोट गाउँपालिकामै जिल्ला अस्पताल रहेको र स्वास्थ्य संस्थामा भन्दा जिल्ला अस्पतालमै सुत्केरी हुनेको सङ्ख्या बढि हुनसक्छ भनेर सिमकोट गाउँपालिकालाई कम बजेट पठाउन सक्ने आंकलन अनमी बोहराको छ ।

हुम्लाका सात वटा गाउँपालिका मध्ये चंखेली गाउँपालिकामा १ लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा ३ लाख रुपियाँ निकासी भई वितरणको प्रकृयामा रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।

तर, सिमकोट गाउँपालिकामा भने प्रदेशले पठाएको रकम भन्दा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएपछि यस्तो समस्या आएको हो ।


नन्द सिंह