सुत्केरी पत्नी कुटपिट गर्ने पति गिरफ्तार

  ०७५ चैत २५ गते

फलेवास नपाकी ३३ वर्षीय मुना नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले पीडितका पति ३० वर्षीय मदन नेपालीलाई चैत २५ गते गिरफ्तार गरेको छ । चैत २४ गते बिहान सुत्केरी भएकी पीडितलाई आरोपितले राति ९ बजे चिर्पट प्रहार गरेका थिए । पीडितको टाउकोमा चोट लागेको छ । छिमेकीको सहयोगमा जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचार गरी थप उपचारका लागि चैत २५ गते दिउँसो पोखरा पठाइएको छ ।

Photo20190408Parbat

पीडितको टाउकोमा गहिरो चोट रहेको र ३१ ओटा टाँका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन् । मादक पदार्थ सेवन गरेर घर आएका पतिले आफूमाथि हातपात गरेको पीडितले बताइन् । उनले भनिन् 'कुटपिट त अरू बेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइनँ' । छिमेकीहरूको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए । मजदुरी गरेर खाने परिवारका भएका कारण आफुहरूसँग उपचारका लागि आवश्यक रकम समेत नभएको बताउँदै पीडितले उपचारका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गरिन् ।


सन्तोष थापा