सुख्खा पहिरोको त्रास, बस्ती स्थानान्तरण नहुँदा समस्या

  ०८१ भदौ २१ गते

साँगुरीगढी गाँउपालिका-७ डढुवागाँउकी फूलमाया राई घर नजिकै झरिरहने सुख्खा पहिरोको त्रासले पिरोलिएको ६ वर्ष बितिसकेको छ ।

बस्ती स्थानान्तरण नहुँदा अझै कति वर्ष पहिरोको त्रासै त्रासमा बाँच्नु पर्ने हो, त्यसको कुनै अनुमान फूलमाया राईलाई छैन् ।

पहिरो घरभन्दा करिब ५० मिटर पर छ । पहिरोकै कारण घरसँगै जोडिएको घडेरी झरेर १० मिटर तल पुगि सकेको छ । घरसँगै निर्माण गरिएको शौचालय समेत घरभन्दा धेरै तल पुगिसकेको छ । घरबारीका सिधा रूख समेत बाङ्गीसकेका छन् । घरबारी कुन बेला पहिरोले लैजाने हो टुङ्गो छैन् ।

पहिरो कै कारण फूलमायालाई न रातमा निन्द्रा छ, न दिनमा भोक प्यास नै । पहिरोले धसिएकै बारीमा भएपनि परिवार पाल्न आम्दानीको लागि भएपनि अदुवा, बोडीलगायतको बाली लगाउनु भएको छ । अन्त कतै बस्ने बन्दोबस्ती नभएका कारण पहिरोको त्रासै त्रासको बिच बस्नु परेको फूलमाया राईको भनाइ छ । “पहिरोका कारण रातदिन त्रास हुन्छ राती समेत निन्द्रा लाग्दैन, अन्त कमाइ खाने बारी छैन यस्तैमा भएपनि बाली लगाउनु परेको छ, यो पनि कतिबेला तान्छ थाहा छैन” फूलमायाले भन्नु भयो ।

साँगुरीगढी गाँउपालिका ७ स्थित डढुवागाँउ पहिरोको उच्च जोखिममा छ । गाँउको दुबै तर्फको पहिरोको कारण सिङ्गो गाँउ नै जोखिममा परेको छ ।

२७ घरपरिवारको बसोबास रहेको डढुवाको दुबै तर्फ पहिरो छ । वि.स. ०५६ सालवाट सुरु भएको गाँउको पूर्वको तर्फको पुरानो पहिरोले यसअघि नै सात परिवार विस्थापित भइसकेको स्थानीय विष्णु राईले बताउनु भयो । अहिले भने पूर्वतर्फको पहिरो केही कम भएको छ, तर ०७५ सालदेखि गाँउको पश्चिम तर्फवाट अर्को सुख्खा पहिरो सुरु भएको छ ।

यो पहिरोका कारण गाँउका २७ परिवारमध्ये स्थानीय गर्भे राई, जिते राई, तीर्थ छारा, तीर्थ राई, वमबहादुर राईलगायत १० घरपरिवार पहिरोको अति जोखिममा रहेको स्थानीय जीते राईले बताउनु भयो । अन्त कतै जाने व्यवस्था नभएकाले आफुहरुलाई सुरक्षित स्थानमा सार्न उहाँहरुको माग छ । “जाने ठाउँ कतै छैन गाँउ नै कतिबेला बगाउँछ थाहा छैन, चाँडो भन्दा चाँडो हामीलाई यहाँबाट सार्न सरकारसँग माग गर्दछौ” जीते राईले भन्नु भयो ।

नेपालमा ०४८ सालमा वन तथा वातावरण मन्त्रालय र ०४९ सालमा वातावरण संरक्षण परिषद्को स्थापना भयो । नेपाल सरकारले राष्ट्रिय वातावरणीय प्रभाव मूल्याङ्कन निर्देशिका, ०५० मा जारी गर्यो ।

सरकारले ०५३ सालमा वातावरण संरक्षण ऐन र ०५४ सालमा वातावरण संरक्षण नियमावली लागू गर्यो । मौलिक हक अन्तर्गत नै धारा ३७ मा आवासको हकको व्यवस्था वर्तमान नेपालको संविधानले गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।

तर, वैकल्पिक व्यवस्था नहुँदा डढुवाका २७ परिवार जोखिमकै बीचमा बस्न बाध्य छन् । दुवैतर्फको पहिरोले गाँउको धेरै जग्गा जमिन बगाइ सकेको छ । त्यसो त साँगुरीगढी गाउँपालिकाले पनि सो स्थानलाई जोखिममा राखि भूअध्ययन गरिरहेको छ ।

जिल्लामै सबैभन्दा बढी पहिरोको जोखिम साँगुरीगढी गाँउपालिकामै रहेकोले पहिरोको कारण अति जोखिममा परेको परिवारलाई स्थानान्तरणको प्रक्रिया अगाडि बढाइएको गाँउपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो ।

जिल्लाका  सात ओटा स्थानीय तहमध्ये सबै भन्दा बढी बाढी पहिरोको जोखिम साँगुरीगढी गाउँपालिकामा रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईको भनाइ छ । गाउँपालिकाका विभिन्न स्थानमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरो गइरहेको छ ।

चाँडो भन्दा चाँडो पहिरो प्रभावित क्षेत्रका बासिन्दाले बस्ती स्थानान्तरणको माग गरेका छन् ।

photo 20240608 Dhankuta (1)

photo 20240608 Dhankuta (2)


ईश्वर थापा