सीमा विवादका कारण ४५ वर्षदेखि स्थानीयले जग्गा धनी पुर्जा पाएनन्

  ०७६ फागुन ८ गते

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् ।
जग्गाको पुर्जा नपाउँदा आर्थिक अधिकार खोसिएको स्थानीय दावा नुरी शेपाले बताउनु भयो । उनीहरूले ०३१ सालमा नापी भएको जग्गाको अझैसम्म पनि जग्गाधनि पुर्जा पाएका छैनन् । यसक्षेत्रमा ०३१ सालमा जग्गा नापी गरि ०३४ फागुन ९ गते राजपत्रको सूचनामा रामेछापका ६४ जना जग्गा धनीको नाम जग्गा धनीपुर्जा वितरणको लागि प्रकाशित गरिएको थियो । रामेछापको नक्सामा रहेको सो जग्गा सोलु जिल्लाले आफ्नो क्षेत्रमा पर्ने भन्दै त्यसबेला उजुरी परेपछि पुर्जा वितरणको काम रोकिएको थियो । त्यसरी रोकिएको पुर्जा वितरणको काम अझै अघि नबढेको स्थानीय जग्गा धनि शेपाको भनाई छ ।
रामेछापको सीमाना भकान्जे खोला, उत्तिसेघारी, दुधुले, पाडाफर्के हुँदै नुम्बुर रहेको नक्सामा छ । आफ्नो दावि नै नलाग्ने क्षेत्रमा सोलु क्षेत्रकाले विवाद गरेर आफूहरूको जग्गामाथिको स्वमित्व अन्यौलमा पारेको गुम्देलका शेर्पाले बताउनु भयो । ‘सोलुले लिखु खोला पारीको जग्गा आफ्नो भएको दावि गर्दै आएको छ,तर ऊसँग यसको कुनै प्रमाण छैन’ शेर्पाले भन्नुभयो ।
स्थानीयले ०३३ सालमा रामेछाप जिल्लाबाट नै सो जग्गाको तिरो तिरेका छन् । सोही आधारमा पनि आपूmहरूको पुर्जा रामेछाप जिल्लाबाटै पाउनु पर्ने उनीहरूको भनाई छ । विवाद टुङ्गोमा नपुग्दा पुस्तौंदेखि भोगचलन गरेको जग्गाको धनी पुर्जाबाट स्थानीय वञ्चित छन् ।
पाडाफर्केभन्दा उत्तरी भागमा नुम्बुर हिमाल पर्दछ । सो हिमाल रामेछापको एक मात्र हिमाल हो । सोही हिमालकै कारण रामेछापलाई हिमाली जिल्ला घोषणा गरिएको छ । तर सोलु पक्षले प्रमाणको आधारमा हकदावि नलाग्ने जग्गामा विवाद उठाएर रामेछापबासीलाई समस्यामा पारेको उमाकुण्ड गाउँपालिका–१ का वडाअध्यक्ष नुर्वु शेर्पाले बताउनु भयो ।
पुस्तौदेखि उपयोग गर्दै आएको र प्रमाण समेत भएको जग्गाको पुर्जा नदिँदा स्थानीयले आफ्नो जग्गा किनबेच गर्न समेत नपाएको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला बस्नेत बताउनु हुन्छ ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार भने सीमाको विषयमा सोलु र रामेछापको खासै विवाद नभएको बताउनु हुन्छ । राष्ट्रिय नक्सा र जग्गाधनिहरूसँग भएको प्रमाणको आधारमा पनि सो जग्गा रामेछापको भएकोले प्रक्रिया पुरा गरेर उनीहरूलाई पुर्जा दिनु पर्ने उहाँको भनाई छ । ‘हिजो के के भयो थाहा छैन, तर अब विवाद गर्नु आवश्यक छैन, उहाँले भन्नु भयो । ’
जिल्ला नापी कार्यालय रामेछापका प्रमुख सुमन पन्त पनि नक्सा र प्रमाणले सो जग्गा रामेछापकै भएकोले आवश्यक प्रक्रिया पुरा गरि यस अघि नापी भएका कृषकहरूलाई पुर्जा दिने र छुटेको सन्दर्भमा थप नापी गरेर अघि बढ्ने गरि काम सुरु गर्नु पर्ने बताउनु हुन्छ । यसको लागि नापी कार्यालय रामेछापले प्रक्रिया अघि बढाएको उहाँको भनाई छ ।


नवराज पथिक