सिरिजङ्घा गाउँपालिका–३ मा महिला मतदाता कम

  ०८१ कात्तिक २८ गते

जिल्लामा रिक्त रहेको एक मात्र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनमा कुल मतदाता एक हजार ५ सय २८ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये पुरुष मतदाताको सङ्ख्या आठ सय ४४ र महिला मतदाताको सङ्ख्या ६ सय ८४ रहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार सिरिजङ्घा गाउँपालिका–३ मा पुरुषको जनसङ्ख्या ९ सय २५ र महिलाको जनसङ्ख्या ८ सय ९१ रहेको छ । जनसङ्ख्यामा ३४ मात्र कम रहेको महिला मतदाता भने पुरुषभन्दा १ सय ६० कम रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार उक्त वडामा पुरुष साक्षरता दर ९०.१ प्रतिशत र महिला साक्षरता दर ७६.७ प्रतिशत रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा ५ सय ५७ पुरुष र ४ सय ६९ महिला गरी १ हजार २६ मतदाता छन् । यस्तै ओसे मतदानस्थलमा २ सय ८७ पुरुष र २ सय १५ महिला गरी ५ सय २ मतदाता रहेका छन् ।

१ हजारभन्दा बढी मतदाता भएका ठाउँमा थप मतदान केन्द्र राख्न सकिने प्रावधान भए पनि कुञ्जारीमा २६ मतदाता मात्र बढी रहेका कारण दोस्रो केन्द्र थप गरिएको छैन । थोरै मतदाता सङ्ख्या मात्र बढी हुँदा जनशक्ति थप्नुपर्ने आवश्यक्ता नरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

वि.सं २०७९ को स्थानीय तह निर्वाचनमा पनि अहिलेजस्तै दुईवटा मतदानस्थल थिए । यसअघि कुञ्जारीमा ९ सय ९४ र ओसेमा ५ सय २९ मतदाता थिए । अब हुने उपनिर्वाचनमा पाँच मतदाता मात्र थपिएका छन् । कुञ्जारीमा ३२ मतदाता बढ्दा ओसेमा २७ मतदाता घटेका छन् ।
वि.सं २०७९ को निर्वाचनमा ताप्लेजुङमा ८९ हजार ६ सय ८० मतदाता थिए । अद्यावधिक तथ्याङ्कअनुसार २०८१ मङ्सिर १५ गतेसम्म

ताप्लेजुङमा ८९ हजार एक सय ८९ मतदाता रहेका छन्, जसमा ४७ हजार ६ सय २७ पुरुष र ४१ हजार ५ सय ६२ महिला छन् । मृत्यु, नाम सार्ने र दोहोरो नाम हटाएपछि अद्यावधिक गरी निर्वाचन कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो ।

निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सरस्वती माध्यमिक विद्यालय कुञ्जारी र दुर्गा माध्यमिक विद्यालय ओसे गरी दुई स्थानलाई मतदान स्थल तोकेको छ । त्यस्तै निर्वाचन आयोगले जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश विकास श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

वैदेशिक रोजगारीमा गएका वडा अध्यक्ष दिलप्रसाद बोखिम २०८० कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहेपछि स्थानीयको दबाबमा हङकङबाटै २०८१ साल असोज १८ गते राजीनामा पत्र पठाएकाले सिरिजङ्घा गाउँपालिका–३ मा उपनिर्वाचन हुन लागेको हो । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट बोखिम निर्वाचित हुनुभएको थियो ।

मतदान मङ्सिर १६ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।

वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने निश्चित भएसँगै अहिले राजनीतिक दलहरू आफ्नो पक्षमा माहौल बनाउने र उम्मेदवारको टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले वडामा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाट, परामर्श गर्नेजस्ता गतिविधि सुरु गरेका छन् ।


एलिना दियाली