सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर

  ०७९ असार १७ गते

सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको तत्थ्याङ्क सार्वजनिक भएको छ । गाउँपालिकाको सहयोगमा गरिव तथा उपेक्षित कल्याण कार्यक्रमले तयार पारेको दलित प्रोफाइल २०७८ ले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सिमकोट गाउँपालिका भित्रका जम्मा ६ सय ९२ दलित समुदायका बालबालिका मध्ये १५ प्रतिशत अर्थात १ सय ६ जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको गरिव तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष पर्वत सुनारले बताउनु भयो ।

असार १६ गते आयोजना गरिएको दलित प्रोफाइल सार्वजनिक कार्यक्रममा अध्यक्ष सुनारले आठवटा वडा भएको सिमकोटमा सबै भन्दा बढी वडा नम्बर ६ मा २७ जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको बताउनु भयो ।

तत्थ्याङ्क अनुसार वडा नम्बर २ मा २६, वडा नम्बर ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८, ३ मा ६ जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको देखाएको छ । वडा नम्बर १ मा भने कुनैपनि दलित बालबालिका विद्यालयको पहुँच बाहिर नरहेको तथ्याङ्कले देखाएको छ ।

सिमकोट गाउँपालिकामा बालविकास केन्द्रमा १ सय ३६, प्राथमिक तहमा २ सय ४८, माध्यमिक तहमा १ सय ७२, प्राविधिक शिक्षामा ३० जना दलितको पहुँच छ । त्यस्तै सिमकोट गाउँपालिकाका ८ वटै वडामा स्नातक तह उत्तिर्ण गर्ने दलित विद्यार्थीको सङ्ख्या शुन्य रहेको छ ।

३ सय ५५ दलित घरधुरी रहेको गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने ३ जना मात्रै विद्यार्थी छन् । गाउँपालिकाका ८ वटै वडाबाट एसएलसी उत्तिर्ण गर्नेको सङ्ख्या भने ४९ र १२ कक्षा उत्तिर्ण गर्नेको सङ्ख्या १२ जना मात्रै छन् ।

शिक्षाको नियमनकारी निकाय जिल्ला शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले भने सार्वजनिक तत्थ्याङ्कका विषयमा कार्यालयलाई जानकारी नभएको उल्लेख गरेको छ । यस सम्बन्धमा सिमकोट गाउँपालिकाको शिक्षा शाखासँग बुभ्mने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक भट्टराईले जानकारी दिनु भएको छ ।

सार्वजनिक तत्थ्यांकका विषयमा थप छलफल भइरहेको उल्लेख सिमकोट गाउँपालिकाले जनाएको छ । यस विषयमा सबै वडासँग बुझेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजनामा छ । भर्खर तत्थ्यांक सार्वजनिक भएको उल्लेख गर्नुभएका पालिका अध्यक्ष बीजय भण्डारीले प्रोफाइलमा जस्तै ठूलो संख्यामा बालवालिका विद्यालय बाहिर रहेको भए विषेश कार्यक्रम सञ्चालन गरेर सबैलाई विद्यालयको पहुँचमा लैजाने प्रतिवद्वता जनाउनु भयो ।

 


नन्द सिंह