सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राही मर्कामा

  ०७९ मङ्सिर ३ गते

सदरमुका समेत रहेको सिमकोट गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाहरू बन्द भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै स्वास्थ्यकर्मीहरू निर्वाचन गराउन खटाएपछि स्वास्थ्य संस्थाहरू बन्द भएका हुन् ।

गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा कर्मचारी खटाउने विषयमा स्वास्थ्यकर्मीहरूले नै एक आपसमा विवाद गरेपछि यो वेलाको निर्वाचनमा सबै स्वास्थ्यकर्मीलाई खटाउँदा स्वास्थ्य संस्थाहरू स्वाथ्यकर्मी बेखवर बनेका छन् ।

निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारीको विवरण मागे संगै सिमकोट गाउँपालिकाका १२ वटा स्वास्थ्य संस्थाका सबै स्वास्थ्य इन्चार्जले गाउँपालिकालाई नामवली विवरण पठाएको बुझिन आएको छ ।

उक्त नामवली विवरण अनसार गाउँपालिकाले पनि गाउँमा रहेका स्वास्थ्य संस्थाको व्यवास्ता गर्दै सबैको नाम जिल्ला निर्वाचन कार्यालय, जिलला प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएपछि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी विहिन बनेको स्थानीय नैनबहादुर सिंहले गुनासो गर्नु भएको हो ।

गत कात्तिक २६ गतेदेखि मंसिर १ गते सम्म हुम्लाका ५९ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी मध्ये अधिकांस स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्य क्षेत्रको मतलवी नगरि स्वास्थ्यकर्मी र गाउँपालिका कर्मचारी तथा जनप्रतिनिधिको लापरवाहीका कारण यो वेला स्वास्थ्य संस्थाहरूमा कर्मचारी नभेटिने गरेको स्थानीय सिंहले बताउनु भएको छ ।

उहाँले चोट लागेर घाउ भएको मलम (डिएफ ओ) लिन जाँदा डाँडाफया स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि रित्तो हातमा घर फर्केको गुनासो गर्नु भएको छ । त्यस्तै अन्य स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी नहुँदा यतिखेर सिमकोट गाउँपालिकाका अधिकांस नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको स्थानीय सर्मिला शाहीले गुनासो गर्नु भएको छ । गाउँका स्वास्थ्य संस्थामा सामान्य रुपमा दैनिक दिन उपचारका लागि कम्तीमा १० देखि १५ जना स्थानीय सेवाग्राही धाउने गरेका छन् तर स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटाएपछि उपचारका लागि आएका विरामीहरू रित्तो हातमा फर्कन बाध्य भएको शाहीको भनाई छ ।

सिमकोट गाउँपालिका भित्रका १२ वटा स्वास्थ्य संस्था मध्ये चारवटा स्वास्थ्यचौकी, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र र पाँचवटा सामुदायीक स्वास्थ्य इकाई रहेका छन् । जसमा डाँडाफया, स्याँडा, बरगाउँ र ठेहे स्वास्थ्यचौकीमा ६/६ जना, पाँचवटा सामुदायीक स्वास्थ्य इकाईमा र आधारभूत स्वास्थ्य केन्द्रमा दुई/दुई जनाको दरबन्दीमा हाल ठेहे स्वास्थ्यचौकीमा एक र हिल्दुम सामुदायीक स्वास्थ्य इकाईमा एक जना स्वास्थ्यकर्मी मात्रै कार्यरत छन । त्यस्तै स्याँडा स्वास्थ्यचौकीमा दुई जना कार्यरत रहेका छन । भने अन्य कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहँदा गैर जिम्मेवारीको कार्य गरिएको गुनासो आएको छ ।

सो विषयमा सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीसंग बुझ्दा उहाँले स्वास्थ्यकर्मीको एक आपसमा आन्तरीक विवाद हुने भएकाले निर्वाचनमा खटिने गरेको बताउनु भयो छ । उहाँले थप्नु भयो गाउँपालिकामा आएको नामवली विवरण छानविन नहुँदै कर्कचारी खटनपटन भएको र आफुसंग कुनै जानकारी नभएकाले स्वास्थ्य संस्थाहरूमा यस्तो समस्या आएको हो ।

गाउँपालिका मतहातका स्वास्थ्यकर्मी भत्ताको लोभले गर्दा स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी अभाव हुनुका साथै सेवाग्राहीले दुख खेप्नु परेको छ । यस विषयमा गाउँपालिकाका जनप्रतिनिधि आफ्नो पार्टिको उम्मेदवारले चुनाव जित्ने होकी हैन भन्ने तनावले स्वास्थ्य संस्थातिर वास्ता नगरेको स्थानीयले आरोप लगाएका छन् ।


नन्द सिंह