सिटामोल लिनका लागि एक दिन पैदल यात्रा, स्वास्थ्य सेवाको अभावमा धामीझाँक्रीकै भर

नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए पनि जिल्लाको दक्षिणी भेगमा रहेको बुङ्गल नगरपालिका–६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका स्थानीयले सिटामोल लिनकै लागि एक दिनको पैदल यात्रा गर्नु पर्ने बाध्यता छ ।

यहाँका स्थानीयले उपचारका लागि जाने ठाउँ भनेको बुङ्गल नगरपालिका-६ को वडाकार्यालय नजिकै खौलाधारमा रहेको स्वास्थ्य चौकी हो ।

यो गाउँबाट त्यहाँ पुग्न स्वास्थ्य मान्छेले झण्डै पाँच घण्टा पैदल यात्रा गर्नु पर्छ । बिरामी मान्छेलाई बोकेर जाँदा एक दिन लाग्छ । गाउँमा मेडिकलसम्म नहुँदा यस गाउँका स्थानीयलाई  सामान्य ज्वोरो आउँदा पनि एक दिन हिँडेर खौलाधार नै पुग्नु पर्ने बाध्यता छ ।

गाउँमा स्वास्थ्य चौकीको सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामीझाँक्रीकै भरपर्ने गरेको स्थानीय जय धामीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘हिँड्न सक्ने बिरामी दिनभर हिँडेर साँझ पुग्छन् । हिड्न नसक्नेलाई बोकेर लैजानु पर्छ ।’ यस गाउँमा ३० परिवारको बसोबास रहेको छ । यहाँबाट नजिकको अर्को गाउँ पुग्न कम्तीमा चार घण्टा पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

गाउँमा कोही बिरामी भयो र बोकेर लैजानु पर्‍यो भने गाउँ नै खाली हुने गरेको स्थानीय बेलमती बोहराले बताउनु भयो । उहाँले भन्नु भयो–‘टाढाको बाटो छ । एक जना बिरामी भयो भने पालैपालो बोक्नका लागि २०/२५ जनासँगै जानुपर्छ । एक जना बोक्नु पर्ने बिरामी भयो भने गाउँ नै खाली हुन्छ ।’

गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको स्थानीय धना धामीले बताउनु भयो । ‘सुत्केरी व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर दौडाउनु पर्छ । भनेको बेला बोक्ने मान्छे पनि हुँदैनन् ।’-उहाँले भन्नु भयो-‘कतिपयले बाटैमा बच्चा जन्माउँछन् । कतिपयको बाटैमा ज्यान जान्छ ।’

उहाँका अनुसार नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा–लैजाँदा सुत्केरी महिलाले लामो यात्रा गर्नु पर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ ।

खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको स्थानीय जयमती बोहराले बताउनु भयो ।

खोपको समस्यालाई लिएर स्थानीयले पहल गर्दा नगरपालिकाले ०७७ सालमा खोप लगाउने स्वास्थ्यकर्मी नियुक्त गरी गाउँमा नै गएर खोप लगाउने व्यवस्था गरिएको भए पनि दुर्गम भएकै कारण स्वास्थ्यर्मीले हाल खोप लगाउन गाउँमा जान छाडेको स्थानीय डम्मरा बोहराले गुनासो गर्नु भयो । गाउँमै खोप केन्द्र भइदिएको भए कोही पनि बालबालिका खोप लिनबाट बन्चित हुनु नपर्ने उहाँको भनाइ छ ।

बड्डी ज्यावनका मात्रै नभएर बुङ्गल नगरपालिका–७ चिल्ठागाउँ, गल्लकका स्थानीयले पनि यो समस्या झेल्नु परेको गल्लेकका स्थानीय कर्ण बोहराले गुनासो गर्नु भयो ।

स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुने बित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारका लागि लैजाने गरेका कारण कतिपय बिरामीहरुले ज्यानै समेत गुमाउने गरेको उहाँको भनाइ छ ।

यो गाउँमा २ सय परिवारको बसोवास रहेको छ । यहाँको समस्यालाई लिएर स्थानीयहरू नगरपालिका र जिल्लाका विभिन्न निकायमा धाए पनि उनीहरूको कुराको कतैबाट सुनुवाइ नभएको बड्डी ज्यावनवासीको गुनासो छ ।

‘यहाँ मान्छे बस्छन् भन्ने कुरा सरकारलाई थाहै छैन जस्तो लाग्छ ।’-स्थानीय कल्यान धामीले भन्नु भयो-‘सरकारलाई जानकारी भएत हाम्रो समस्याको पनि सुनुवाइ हुँदो हो । न स्कुल छ । न स्वास्थ्य चौकी छ । हिँड्नलाई बाटो छैन ।’

जनप्रतिनिधिले भोट माग्दा सबै समस्या समाधान गर्छौं भनेर आस्वासन दिने गरेको भएपनि दुर्गम गाउँ भएका कारण त्यसपछि फर्केर नआउने गरेको स्थानीयहरुको आरोप छ ।

बुङ्गल नगरपालिका प्रमुख जयबहादुर धामीले आफू ज्यावन गाउँ पुगेको र त्यहाँको समस्याका बारेमा जानकार रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘म चाहिँ दुई/तीन पटक त्यहाँ पुगेको छु । त्यहाँका जनताको समस्या बुझेको छु ।’

उहाँले बड्डी ज्यावन र यो जस्तै टाँढा रहेका गाउँहरूको पायक पर्ने गरी पारिबगर भन्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको बताउनु भयो ।

नगरपालिकाले स्वास्थ्य इकाई स्थापना गर्ने ठाउँ पारिबगर पुग्नका लागि बड्डी ज्यावनबाट चार घण्टा पैदल हिँड्नु पर्छ । स्वास्थ्य इकाई केन्द्र पारिबगरमा पनि औषधि नपाइने गरेका कारण बड्डी ज्यावनका स्थानीयले सामान्य बिरामी हुँदा पनि सिटामोल लिनकै लागि एक दिनभरी हिडेर स्वास्थ्यचौकी पुग्नु पर्ने बाध्यता रहेको छ ।

नगरप्रमुख धामीले आगमी दिनमा टाढाका गाउँहरुमा गाउँघर क्लिनिकको स्थापनाको लागि पहल भइरहेकोले बड्डी व्यावन गाउँका स्थानीयलाई स्वास्थ्य सेवा लिन केही सहज हुने बताउनु भयो ।


सत्यराज सिंह