सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय नहुदाँ सेवाग्राही मर्कामा

  ०७९ असार ७ गते

संघीय संरचना अनुसार सार्वजनिक सेवा मालपोत र नापी कार्यालय स्थानीय तहमा स्थापना गर्नुपर्ने हो । तर जुम्लामा अन्य सार्वजनिक सेवाका कार्यालय स्थानीय तहमा स्थापना भएपनि मालपोत र नापी कार्यालय स्थापना तथा संघीयताको मर्मनुसार स्थापना नभएपछि सेवाग्राही मर्कामा परेका हुन् ।

संघीय संरचना भएको लामो समय वितिसक्दा पनि नापी र मालपोत कार्यालय जिल्लाको सदरमुकाम खलंगामै रहेकाले स्थानीय तहका दुरदराजमा रहेको सेवाग्राही हप्ता १० दिन लगाएर सेवा लिने गरेका छन् ।

यहाँ एक नगरपालिका र सात गाउँपालिका छन् । सिंजा क्षेत्रमा हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरी तीन ओटा स्थानीय तह रहेको छन् । हिमा गाउँपालिका–१ बड्की गाउँका स्थानीय खाम्बा शाहीका अनुसार मालपोत र नापी कार्यालय सेवाग्राहीले निकै कष्ट भोग्नु परेको छ । उहाँले भन्नुभयो यो क्षेत्रबाट सदरमुकाम खलंगामा गएर नागरिकले हप्ता÷दश दिन लगाएर मालपोत नापी कार्यालयको काम गर्नु परेको छ । त्यहाँ जादा समयमा काम हुँदैन । एउटा जग्गा रजिष्टेशन गर्न पनि महिना दिन कार्यालयमा धाउनु पर्ने नागरिकको बाध्यता रहेको छ ।

मालपोत र नापीको काम बढी जेष्ठ नागरिकले गर्नुपर्ने हुन्छ । जेष्ठ नागरिक बढी जग्गा धनी र उहाँहरूकै नाममा जग्गा जमिन हुने गर्दछ । जग्गा जमीन छोराछोरीलाई नामसारी गर्दा जेष्ठ नागरिक नै सदरमुकाममा रहेको नापी र मालपोत कार्यालय जानुपर्ने हुँदा निकै कष्ठ भोग्नु पर्ने भएको उहाँले बताउनु भयो ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले मालपोत र नापीको बिषय र सवाल पहिलेदेखि माग भएकाले पास गरिदिन बैठकमा अनुरोध गरिएको बताउनु भयो । उहाँले भन्नुभयो यो सिंजा क्षेत्रका नागरिकको माग हो । संघीय सरकार भूमि व्यवस्था विभागले नागरिकका माग सम्बोधन गर्नुको विकल्प छैन ।

जुम्लाका प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले संघीयता अनुसार नापी र मालपोत कार्यालय स्थानीय तहमा स्थापना नभएको विषयमा संसदमा पटक पटक आवाज उठाएको बताउनु भयो । उहाँले भन्नुभयो संसदमा आवाज उठाएपछि भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेको छ । राय मागेपछि एकमतका साथ निर्णय गरि सिंजा क्षेत्रको नराकोटमा मालपोत र नापी कार्यालय आवश्यक रहेको भनि निर्णय गरी पठाएका छौँ ।

जिल्ला समन्वय समिति जुम्लामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नवनिर्वाचित जिल्ला समन्वयका पदाधिकारीको उपस्थिति सर्वदलीय सर्वपक्षीय बैठकबाट सिंजा क्षेत्रको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयूक्त रहेको रायसहितको निर्णय पठाएको उहाँले बताउनु भयो ।

भूमि व्यवस्था तथा अभिलेख विभागले पठाएको २०७९ जेठ १६ गते च.नं २२४१ को पत्रमा भनिएको छ । प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले दिनुभएको निवेदनका साथ प्राप्त सिंजा गाउँपालिका नराकोट जुम्लाको च.नं ४१७ अनुसार २०७८ मङ्सिर १५ को पत्र मार्फत जिल्ला प्रशासन कार्यालय जुम्लालाई सम्वोधन गरी लेखिएको पत्रमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयको च.नं १२१२ मिति ०७८ मंसिर २१ को पत्र जुम्ला जिल्लाका स्थानीय तहहरु मध्ये हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका ३८ हजार जनसंख्याको लागि सेवा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले भन्नुभयो इलाका प्रशासन कार्यालय रहेको सिंजा क्षेत्रको नराकोटमै नापी र मालपोत कार्यालय स्थापना गरी संचालनमा ल्याउनका लागि आवश्यक पहल गरिदिन हुन भनि राय पठाइएको छ ।
Jumlaphoto20220621


मानदत्त रावल