सिंचाईको अभावमा खेतीयोग्य ठुला टारहरू बाँझैं

  ०८० चैत २० गते

कालिगण्डकी नदीको किनारमा रहेका देवघाट गाउँपालिका–१ कोटाका ठुला टारहरू सिंचाईको अभावमा त्यसै बाँझो अवस्थामा रहेका छन् । ति टारहरुमा सिंचाई सुविधा पुर्‍याउन सके बाह्रै महिना उब्जनी गराउन सकिने स्थानीयको भनाई छ ।

कोटाको कालिकाटार, आँपटार, गोपीटार, बसेनीटार र कोटाटारमा रहेका सयौं हेक्टर खेतीयोग्य जमिनहरुमा सिंचाईको अभावमा मकै र कोदो मात्र लगाउनुको विकल्प नभएको देवघाट गाउँपालिका– १ का वडा अध्यक्ष मणिराज गुरुङले बताउनु भयो । ति टारहरुमा सिंचाई सुविधा पुर्‍याउन सकेमा मकै र कोदोको विकल्पमा धान, गहुँ, जौं र मसुर, राजमा जस्ता अन्नबाली लगाउन सकिने अध्यक्ष गुरुङले बताउनु भयो ।

खेतीयोग्य जमिनहरुमा मकै र कोदो मात्र लगाउँदा चितवनको भरतपुर र नवलपरासीको गैंडाकोटबाट चामल र अन्य तरकारी खरिद गरेर ल्याई खानु पर्ने बाध्यता रहेको गुरुङले बताउनु भयो ।

कालिगण्डकी नदिको पानीले उक्त टारमा सिंचाई गर्न सकेमा उक्त टारबाट उत्पादित अन्नबालीले सिङ्गो देवघाट गाउँपालिकालाई नै आत्मनिर्भर गराउन सकिने वडा अध्यक्ष गुरुङले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कोटाका ठुला टारहरुमा सिंचाई सुविधा पुर्‍याउनको लागि गाउँपालिकाको बजेटले मात्र नधान्ने हुँदा त्यसको लागि प्रदेश र संघीय सरकारलाई पनि अनुरोध गरिएको बताउनु भयो ।

उक्त टारमा सिंचाईको लागि करोडौं रुपियाँ आवश्यक पर्ने हुँदा प्रदेश सरकारले मात्र रकम उपलब्ध गराउन नसक्ने हुदा संघीय सरकारलाई पनि अनुरोध गरिने अध्यक्ष थापाले बताउनु भयो । वडा नम्बर १ को ठुला टारमा सिंचाई सुविधा पुर्‍याइ कृषिको माध्यमबाट वडा र गाउँपालिकालाई नै समृद्ध बनाउन सकिने गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई