सिँचाइ नहर भत्काएर सडक निर्माण भएपछि ३० हेक्टर जमिन बाँझो , किसानलाई समस्या

मुसीकोट नगरपालिका– २ को खालीगैरा गाउँको खेतहरुमा धानको ब्याड राख्ने समय हो । वडा नम्बर १ देखि २ सम्म रहेको घट्टखोला खालीगैरा सिँचाइ आयोजनाबाट आएको पानीले सिँचाइ हुने गरेको थियो तर यस वर्ष सिँचाइ नहर भत्काएपछि जमिन बाँझो रहने भएकोले त्यहाँका किसान चिन्तित भएका छन् ।

स्थानीयबासी दिवसा ओलीले भन्नु भयो, ‘न त खेतमा ब्याड राख्न पाइएको छ, न त बारीमा सिँचाइनै गर्न पाइएको छ । मुसीकोट नगरपालिका –१ को घट्टखोला देखि खालीगैरा रातामाटा सम्म पुग्ने नहर भत्काएर सडक निर्माण भइरहेको छ । यो वर्ष खालिगैरामा धान खेती हुने छैन । सडक निर्माणको नाममा नहर नै भत्काएपछि सिँचाइको समस्या भएको हो । ’  जमिन बाँझो भएपछि खाद्यान्नको समस्या हुने उहाँको भनाइ छ ।

आर्थिक वर्ष ०७६/७७ देखि निर्माण सुरु भएको उक्त आयोजनाको काम सकिने बेलामा मुहानतिरबाटै भत्काउन थालिएपछि किसानहरु चिन्तित बनेका छन् । कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले नहरको ९५ प्रतिशत काम सकिएको तर पुरा नहुँदै नहर भत्काएर सडक बनाउन थालिएको जानकारी दिनुभयो । यस कार्यले वडा नम्वर –२ को क्षेत्रमा रहेको करिब ३० हेक्टर खेतीयोग्य जमिन बाँझै हुने उहाँको भनाइ छ । क्रमागत योजना अन्तर्गतको उक्त आयोजनाको नहर बनाउन हालसम्म ६५ लाख रकम खर्च भइसकेको छ ।

२०३२ सालदेखि सिँचाइ नहरबाट खेतीयोग्य जमिन सिँचाइ हुँदै आएको थियाे । पछिल्लो समय नहर व्यवस्थित भएर सिँचाई हुन थालेपछि किसानहरु खुशि भएका थिए । नहर बनेको केहि समयमै भत्काएपछि किसानहरु चिन्तित छन्  ।

अर्का किसान सीता अधिकारीले गहुँ, धान, मकै, तरकारी खेती हुने जमिनको नहर बन्द भएको भन्दै दुखेसो पोख्नुभयो । उहाँले किसानको समस्या समाधान गरिदिने कुनै निकाय नै नभएको अनुभूति सुनाउनुभयो । अहिले उक्त स्थानमा दुईतर्फबाट डोजर लगाएर सडक बनाउन थालिएको छ । नहरको करिब छ सय मिटर मुख्य भूभाग सडकमा परेको छ । ‘पातुखोला–घट्टखोला–खालीगैरा–वडा नम्वर २– पशुपति माध्यामिक विद्यालय’ नामको उक्त सडकमा ठेक्का दिएर काम सुरु गरेका छन् ।

पूर्व तर्फ खोलाको मुहान क्षेत्रमा सङ्घीय आयोजना कार्यान्वय इकाइ सुर्खेत र पश्चिमतर्फ रहेको गाउँतर्फको भागबाट पूर्वाधार विकास कार्यालय चौरजहारीबाट ठेक्का सम्झौता गरेर काम सुरु भएको छ । सङ्घीय कार्यालयसँग ४२ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर डिग्रे साईकुमारी कन्ट्रक्सन प्रालिले काम सुरु गरेको छ भने पूर्वाधार विकास कार्यालयसँग सल्यानी निर्माण सेवाले २३ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर काम सुरु गरेका छन् ।

उक्त सडक निर्माणको लागि आर्थिक वर्ष ०८०/८१ मा टेण्डर आह्वान भएको थियो । उक्त समयमा ०८० माघ ३ गते दुबै कार्यालयलाई कृषि विकास कार्यालयको तर्फबाट नहर क्षेत्रमा असर नगर्न तथा सिँचाइ अवरुद्ध नगर्न पत्राचार गरिएको थियो ।

०८१ वैशाख ३१ गते कार्यालयले प्रदेश कृषि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मुसीकोट नगरपालिका, जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर भर्खरै बनेको नहर क्षति पुग्ने काम भएकोले समन्वय गरिदिन अनुरोध गरेको छ ।

यस बिषयमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले स्थानीयकै माग र र आवश्यकताको आधारमा योजना सिफारिस भएर कार्यान्वयन हुन थालेको बताउनुभयो । किसानहरुलाई सिँचाइ अवरुद्ध नहोस् भनेर चाँडै नै काम सम्पन्न गर्न समन्वय गरिरहेको उहाँको भनाइ छ ।

Photo20240530Ruku Paschim


परिचन्द्र खत्री