साहराविहिन तीन जना बालकको बास गोठमा !

  ०७९ जेठ ३१ गते

रास्कोट नगरपालिका–४ का १३ वर्षीय भरत सार्की, सात वर्षीय भाइ हस्त सार्की र पाँच वर्षीय भाइ डाइमण्ड सार्की बिचल्लीमा परेका छन् ।

बालकहरूका बाबु गुइया सार्कीको ६ वर्षअघि मृत्यु भएको र चार वर्षअघि आमा आइती सार्कीले अर्को विवाह गरेर अन्यत्र गएका कारण साहराविहिन भइ बालकहरू बिचल्लीमा परेका हुन् ।

गुइया र आइतीबाट जन्मेका बालकहरू चार वर्षदेखि संरक्षण अभावमा घुमन्ते जीवन बिताइरहनु परेको भरत सार्की बताउनु हुन्छ ।

बुबाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षको हुनुहुन्थ्यो । चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतले दुई भाइ लिएर सबैको ढोकामा पुगे मागेर जीवन चलाउने गरिरहेका उहाँले बताउनु भयो ।

भरतसँगै हस्त र डाइमन साहाराको खोजीमा हुनुहुन्छ । ‘बुबाको मृत्यु भयो । आमाले अर्को विवाह गरेर जानु भयो ।’–भरतले भन्नु भयो–‘त्यसयता दिनभरी खानेकुरा माग्दै हिँड्ने साँझ कसैको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौँ ।’

अरू साथीभाइ पढ्न हिँडेको बेला उहाँहरूलाई पनि विद्यालय गएर पढ्ने इच्छा जागेर आउँछ । तर, तीन भाइलाई खान–लाउनकै चिन्ता छ ।

‘विद्यालय जानका लागि पोशाक चाहियो । कापी किताव चाहियो । केही छैन । काम पाए काम गरेर खान्छौँ । नपाए मागेर खान्छौँ । यस्तोमा विद्यालय कसरी जानु ?’–भरतले भन्नु भयो । बुबा–आमा नहुँदा तीनै भाइको जन्मदर्ता नै बनाइएको छैन ।

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले टुहुरा बालकहरूको विचल्ली भएको भन्ने जानकारीमा आएको बताउनु भयो ।

उनीहरूको समस्यालाई ध्यानमा राखेर आवासीय विद्यालय खोजेर स्थानीय सरकारले पठनपाठन लालनपालन व्यवस्था मिलाउने प्रमुख शाहीले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा बताउनु भयो ।

उहाँहरूको जन्मदर्ता नहुँदा सरकार तथा अन्य गैरसरकारी निकायबाट पाउने सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालका सदस्य लिलाराज सञ्ज्याल बताउनु हुन्छ् ।

सञ्ज्यालले भन्नु भयो–‘पशु चौपाय बाँध्ने गोठमा बास हुन्छ । लगाउनका लागि उनीहरूको शरीरमा राम्रो कपडा छैन । ओढ्ने र ओछ्याउने पनि उनीहरूसँग कपडा समेत छैन ।’


कालीबहादुर मल्ल