सासू आमाको हत्या आरोपमा ज्वाँइ गिरफ्तार

  ०८१ पुस ८ गते

मण्डनदेउपुर नपा–१ गैरिगाउँ घिसिङटोल निवासी ५२ वर्षीया तेनमाया तामाङलाई ०८१ मङ्सिर ३० गते घरमा कोही नभएको मौका पारी गहना लुटी हत्या गरेको आरोपमा प्रहरीले मण्डनदेउपुर नपा–२ का २८ वर्षीय ज्वाँइ सुकबहादुर तामाङलाई पुस ५ गते गिरफ्तार गरेको छ ।

मृतककी २५ वर्षीया छोरी सरिता तामाङले पुस ५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कर्तव्य ज्यान शीर्षकमा उजुरी गर्नु भएको छ ।

मृतककी एकमात्र छोरी बाबुको मृत्युपछि आमा पाल्नका लागि भनेर छोरी ज्वाँइ माइतीघरमा नै बस्दै आएका थिए ।

पति पत्नी कामका लागि नगरकोट गएको समयमा भक्तपुर जान्छु भनी झुक्याएर घरमा सासूको हत्या गरी अपरिचित व्यक्तिबाट सासू आमाको हत्या भएको भनी उनैले पत्नीलाई खबर गरेको सरिताले जानकारी दिनु भएको छ ।

शवको पोष्टमार्टम पुस १ गते धुलिखेल अस्पतालमा गरिएको छ । आरोपितलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।


सुमित्रा आचार्य