सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

  ०७९ माघ २० गते

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया देवीसरा न्यौपानेलाई तीन / तीन महिना कैद र जनही ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलाशले अपमानजक र अमानवीय व्यवहार गरेको कसुर ठहर गर्दै कैद र क्षतिपुर्तिको फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार शंकरप्रसाद खनालले बताउनु भयो ।

घरयासी विवादमा २०७९ भदौ ८ गते दिउँसो सासुलाई कुटपिट गरिहेकोको भिडियो सामाजिक सञ्जालमा आएपछि जिल्ला प्रहरी कार्यालय, अछामले आरोपित दुवै जनालाई भदौ ८ गते गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत भदौ २० गते अपमान तथा अमानवीय व्यवहार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको भदौ २३ गते बसेको इजलाशले आरोपित दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश थिएको थियो ।


शिवराज ढुंगाना